June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

पुँजीगत खर्च गर्नेमा सियारी गाउँपालिका रूपन्देहीमै पहिलो

भैरहवा– रुपन्देहीको सियारी गाउँपालिकाले जिल्लामै सबैभन्दा धेरै पुँजीगत खर्च गरेको छ । सियारीले जिल्लामै १६ वटा पालिकामध्ये सबैभन्दा बढी पुँजीगत खर्च गरेर जिल्लामै पहिलो पालिका भएको हो । सियारीले आर्थिक बर्ष २०७९–०८० मा ८७ दशमलव १५ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार रुपन्देहीका १६ वटा पालिकाहरुले समग्रमा ७७ प्रतिशत पुँजीगत खर्च गरेका छन् ।

Advertisement

सियारीले गत आवमा ३१ करोड ७६ लाख ७३ हजार बजेट बिनियोजन गरेकोमा २७ करोड ७२ लाख ८४ हजार अर्थात् ८७.१५ प्रतिशत खर्च गर्न सफल भएको प्रमुख कोष नियन्त्रक बिष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । रुपन्देहीमा सबैभन्दा कम पुँजीगत खर्च गर्नेमा मर्चवारी गाउँपालिका छ । मर्चवारीले ६४ प्रतिशत मात्र खर्च गरेको छ । त्यसपछि पुँजीगत खर्च गर्न नसक्नेमा सुद्धोधन गाउँपालिका रहेको छ । सुद्धोधनले ६८ दशमलव ९७ प्रतिशत मात्र खर्च गरेको छ ।

Advertisement

पुँजीगत खर्च गर्नेमा सियारी पछि कोटहीमाई गाउँपालिका रहेको छ । कोटहीमाईले ८४ दशमलव ४१ प्रतिशत खर्च गरेको छ । त्यसपछि पुँजीगत खर्च गर्नेमा मायादेवी गाउँपालिका रहेको छ । मायादेवीले ८२ दशमलव २४ प्रतिशत खर्च गरेको छ । यता बुटवल उपमहानगरपालिकाले भने ६९ दशमलव ४८ प्रतिशत, तिलोत्तमा नगरपालिकाले ७३ दशमलव ३८, देवदह नगरपालिकाले ७३ दशमलव ८१ प्रतिशत, लुम्बिनी सांस्कृतिक नगरपालिकाले ७६ दशमलव ४० प्रतिशत, सिद्धार्थनगर नगरपालिकाले ७२ दशमलव ४९ प्रतिशत खर्च गरेका छन् ।

त्यसैगरी सैनामैना नगरपालिकाले ७९ दशमलब ३४ प्रतिशत, ओमसतिया गाउँपालिकाले ७९ दशमलव २६ प्रतिशत, कञ्चन गाउँपालिकाले ८१ दशमलब १२ प्रतिशत खर्च गरेको कोलेनिकाले जनाएको छ । त्यस्तै गरी गैडहवा गाउँपालिकाले ८२ दशमलव २ प्रतिशत, रोहिणी गाउँपालिकाले ७९ दशमलब ६३ प्रतिशत र सम्मरीमाई गाउँपालिकाले ७८ दशमलब ५४ प्रतिशत खर्च गरेको छ ।