June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

रूपन्देहीमा विकास खर्च ७१ प्रतिशत

भैरहवा– रुपन्देहीमा पूँजीगत (विकास) खर्च विगतको भन्दा सुधार भएको छ । आर्थिक वर्षको सुरुमा टेण्डर आह्वानमै ढिलाई हुँदा वर्सेनि विकास खर्च न्यून भइरहेको थियो । आर्थिक वर्ष २०७९–०८० मा भने विगतका वर्षहरुमा भन्दा विकास खर्च सुधार भएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका), रुपन्देहीले जनाएको छ ।

Advertisement

कार्यालयका अनुसार यो आवमा ४२ अर्ब २ करोड ६९ लाख ६३ हजार ४५१ रुपैयाँ अख्तियारी पाएको कोलनिकाले पूँजीगततर्फ ७ अर्ब १७ करोड ३५ लाख ९३ हजार ४४० र चालुतर्फ ३४ अर्ब ८५ करोड ३३ लाख ७० अख्तियारी पाएको थियो । जिल्लामा कुल बजेटको ३७ अर्ब १ करोड ८१ लाख ५७ हजार ८६५ रुपैयाँ अर्थात् ८८ प्रतिशत खर्च भएको छ । ‘यो खर्च सन्तोषजनक हो’, प्रमुख कोष नियन्त्रक बिष्णुप्रसाद ज्ञवालीले भने ।

Advertisement

पूँजीगत खर्चतर्फ कुल रकमको ५ अर्ब ८ करोड ६० लाख ९९ हजार रुपैयाँ अर्थात् ७१ प्रतिशत खर्च भएको छ । असार महिनामा मात्रै पुँजीगततर्फ २ अर्ब २० करोड ७० लाख ८० हजार रुपैयाँ खर्च भएको छ । अघिल्लो आव २०७८–०७९ मा जिल्लामा पूँजीगत तर्फको खर्च ४६ प्रतिशत मात्रै थियो । ‘समग्रमा जिल्लाको पुँजीगत खर्चलाई राम्रो मान्नु पर्छ, यस वर्ष भएको खर्च राष्ट्रियरुपमा पनि राम्रो मानिएको छ’, प्रमुख कोष नियन्त्रक बिष्णुप्रसाद ज्ञवालीले भने ।

चालुतर्फ कुल बजेटमध्ये ३१ अर्ब ९३ करोड २० लाख ५८ हजार अर्थात् ९२ प्रतिशत खर्च भएको छ भने अघिल्लो आव २०७८–०७९ मा पनि ९२ प्रतिशत नै बजेट खर्च भएको थियो । राजश्व संकलन भने गत वर्ष भन्दा घटेको छ । आर्थिक वर्ष २०७८–०७९ मा १ खर्ब ४३ अर्ब ६४ करोड ५६ लाख ६० हजार २५१ रुपैयाँ राजश्व संकलन भएकोमा आर्थिक वर्ष २०७९–०८० मा १ खर्ब २ अर्ब २२ करोड ३० लाख ३७ हजार ८९० रुपैयाँ मात्रै भएको छ । जुन गत आव भन्दा ४१ अर्ब ४२ करोड २६ लाख २२ हजार ३६१ अर्थात् २९ प्रतिशतले कमी हो । मुख्य कार्यालय भैरहवा भन्सार र आन्तरिक राजश्वले नै राजश्व असुली कम गर्दा राजश्व संकलनमा कमी आएको ज्ञवालीले जनाए ।

जिल्लामा सबैभन्दा बढी सडक डिभिजन कार्यालयले बजेट खर्च गर्दा सबैभन्दा कम स्थानीय पूर्वाधार विकास कार्यक्रमले गरेको छ । जिल्लाका १६ स्थानीय तहको विकास खर्च सन्तोषजनक रहेको कोलेनिकाले जनाएको छ ।