June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

राजा महेन्द्रले शिलान्यास गरेको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक ६० वर्षपछि फराकिलो बनाइँदै

भैरहवा– २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेर निर्माण सम्पन्न भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड फराकिलो बनाइने भएको छ । राजा महेन्द्र शिलन्यास गरेपछि यता सडक दुई लेनको बनेको छ । यो सडक अहिले ६ दशकपछि स्तरोन्नति हुन थालेको हो ।

Advertisement

बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेदेखि चन्द्रौटासम्म १९ किलोमिटर गरी दुई खण्डमा विभाजित गरी स्तरोन्नति गर्न लागिएको हो । बुटवलदेखि गोरुसिङ्गेसम्मका लागि केही वर्षअघि एसियाली विकास बैंकको सहयोगमा डिजाइन सम्पन्न भएको थियो । सो खण्डका लागि एक महिनाभित्र टेन्डर प्रक्रियामा जाने सडक विभागले जनाएको छ ।

Advertisement

विश्व बैंकले ६९ किलोमिटर सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि आवश्यक प्रक्रिया सुरु भएको सडक विभागले जनाएको छ । विभागका सहसचिव तथा उपमहानिर्देशक डा विजय जैसीले ठेक्का प्रक्रियामा जाने तयारी भइरहेको बताए । उनले दुई खण्डमा विभाजित गरी स्तरोन्नतिको काम अघि बढाइने जानकारीसमेत दिए ।

गोरुसिङ्गेदेखि चन्द्रौटासम्म १९ किलोमिटरको डिजाइन गर्ने तयारी भइरहेको विभागले जनाएको छ । ‘पहिला बुटवलदेखि गोरुसिङ्गेसम्मको लागि टेन्डर हुन्छ, अनि अर्को खण्डको डिजाइनको काम थाल्छौँ’, उनले भने ।

यो सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने ठुला गाडीहरू चलाउनको पनि सहज हुने अपेक्षा गरिएको छ । पछिल्ला दिनमा राजमार्गहरू सवारी साधनको चाप वृद्धि हुन थालेपछि सडकहरू विस्तार गर्न थालिएको जैसीले बताए ।

उनले बुटवल–गोरुसिङ्गे खण्डमा भदौदेखि फिल्डमै काम हुने गरी तयारी गरिएको जानकारी दिए । यो सडक तीन वर्षभित्र काम सम्पन्न हुने गरी गरी ठेक्का लगाउने तयारी भइरहेको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको स्तरोन्नतिको काम चलिरहेको छ । चाइना स्टेट कम्पनीले विगत तीन वर्षदेखि उक्त खण्डमा सडक विस्तारको काम जारी राखेको छ ।

बुटवल–चन्द्रौटा सडक विस्तार भएपछि बुटवलमा पुरानो तिनाउ पुलले सवारीसाधनको चाप नथाम्ने आकलन गर्दै सो स्थानमा सिग्नेचर ब्रिज निर्माणको काम पनि अगाडि बढाइने भएको छ । पुलको लागत एक अर्ब रुपैयाँभन्दा माथि हुने अनुमान गरिएको छ ।