एमालेको विरोधबीच लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो


दाङ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको विरोधका बीच लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ। छलफलमा एमाले सांसदहरुल भाग लिएनन्।
प्रमुख प्रतिपक्ष दलका सांसदलाई बोल्न सयम दिए पनि विरोधमा उत्रिए। बैठकमा सत्तारुढ दलका बैजनाथ कलवार, वसीउद्दीन खाँ, खड्गबहादुर बस्नेत, तारा थापाले छलफलमा भाग लिँदै बजेट राम्रो आएको भन्दै सरकारको बचाउ गरे। आजै बसेको बैठकमा एमाले सांसदको विरोधपछि प्रदेशसभा बैठक एक घण्टा स्थगित गरिएको थियो । एमालेको विरोधबीच पुनः बसेको बैठकमा बजेटमाथिको संद्धान्तिक छलफल सकिएको हो ।
असार १ गते सरकारले ४० अर्ब ४७ करोड ८९ लाखको बजेट ल्याएको थियो। बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक तीन पटकसम्म स्थगित गरिएको थियो।
बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै निर्देशनालय खारेज गर्ने निर्णयको बारेमा अध्ययन गर्न समिति बनेको र सो आधारमा कार्यान्वयन गरिने बताए।
यस्तै, मन्त्री मास्कीले सदनमा आर्थिक वर्ष २०८०–०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा बनेको विधेक पेश गरे।
अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने छ। अब बस्ने बैठकमा विनियोजन विधेयकमाथिको सैद्धान्तिक र दफावार छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।








प्रतिकृया दिनुहोस्