June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

लम्की स्किनले धमाधम मर्दै चौपाया, किसान चिन्तित

भैरहवा– प्यूठानको गौमुखी गाउँपालिकाका केशरबहादुर विकले खेतीकिसानीका लागि जोतभोग गर्न एउटा गोरु पालेका थिए । उनका कान्छा भाइले पनि एउटा गोरु पालेका थिए । दुईभाइले पालेका गोरुले खेतबारी जोतभोग गर्थे । तर गत हप्ता लम्की स्किन रोगका कारण दुबै भाइले पालेका गोरु मरे । ‘धान रोपाइँ गर्नेबेला गोरु मरेपछि निकै समस्या छ’, उनले भने, ‘गाउँमा अधिकांश किसानका गाईगोरु मरेका छन्, धेरैका विरामी परेका छन् । यसले धान रोपाइँमा समस्या हुने भयो ।’

Advertisement

उनीहरु जस्तै लुम्बिनी प्रदेशका धेरै किसान अहिले चौपाया मर्दा समस्या छन् । दैनिक नयाँ चौपायामा भेटिने रोगले हैरानी भएको किसान बताउँछन् । ‘धमाधम चौपाया मर्न थालेपछि समस्या छौं, अझ धान रोपाइँबेला गोरु मर्दा निकै समस्या भएको छ’, गौमुखी–४ का किसान चन्द्रप्रसाद शर्माले भने । पछिल्लो केही महिनायता पशुमा लाग्ने लम्की स्किनको प्रकोपले चौपाया मरिरहेका हुन् ।

Advertisement

लुम्बिनी प्रदेशको पशुपन्छी निर्देशनालयले प िलम्की स्किनका कारण प्रदेशमा ठूलो क्षति भएको जनाएको छ । यसबाट किसानले पालेका गाईगोरु, भैंसी धमाधम मरेको निर्देशनालयको भनाई छ । अहिलेसम्म लुम्बिनी प्रदेशमा ७७ हजार ९ सय १३ गाई–गोरु र भैँसीमा सङ्क्रमण देखिएको छ । २८ सय ३१ गाइगोरु र भैँसीको मरिसकेका छन् । ‘रोगको प्रकोप सबै जिल्लामा फैलिएको छ । किसान आत्तिएका छन् । तर, हामीले धैर्य गर्न भनेका छौं’, निर्देशनालयका निर्देशक डा.परबेज आलमले भने, ‘खोप लगाउने कार्यक्रम पनि निरन्तर चलिरहेका छन् ।’

लुम्बिनीका १२ वटा जिल्लामध्ये अहिले सबैभन्दा रोगको असर रोल्पामामा देखिएको छ । रोल्पामा अहिलेसम्म २७ हजार पशु सङ्क्रमित भएका छन् भने ११ सय ३९ पशुको मृत्यु भएको छ । प्रदेश निर्देशनालयको अनुसार अहिलेसम्मको अवस्था हेर्दा सबै कम सङ्क्रमण भएको जिल्ला नवलपरासी पश्चिम हो । यहाँँ १०४ पशु सङ्क्रमित छन् भने ५ को मरेका छन् ।

यस्तै, ७६१४ मा संक्रमण देखिँदा २०१ मरेका छन् । पाल्पामा ३७०९ चौपाया संक्रमित हुँदा १०९ जटा मरेका छन् । यसैगरी रुपन्देही ७ हजार संक्रमितमध्ये मर्ने चौयापा २९ छन् । कपिलवस्तुमा १२ हजारमा संक्रमण देखिँदा ३ सय मरेका छन् भने ७२८० मध्ये १२७ मरेका छन् । अर्घाखाँचीमा ७५० चौपायालाई भ्याक्सिन पनि लगाइएको छ । यस्तै, प्यूठानमा २२३० चौयापा संक्रमित भएका छन् भने १५० वटा मरेका छन् । रुकुमपूर्वमा ८ सय संक्रमित चौपायामा २० वटा मरेको निर्देशनालयले जनाएको छ । यस्तै, दाङमा ५१८५ मा संक्रमण देखिएकामा ५४७ मरेका छन् । बाँकेमा ४ हजारमा संक्रमण देखिँदा २ सयको मृत्यु भएको छ भने बर्दियामा संक्रमित ३५० मध्ये ४ वटा चौपाया मरेका छन् ।

प्रदेशका रोल्पा, बाँके, बर्दिया, गुल्मी, अर्घाखाँची, प्यूठानलगायतका सबै जिल्लाका चौपायाहरूमा यो रोग व्यापक रूपमा फैलिएको छ । यो रोगले गाइगोरु र भैंसीको सुरुमा घाँटी र पुच्छरमा गिर्खा देखिने र पछि ज्वरो आउने, फिँज काड्ने र मृत्यु हुने गरेको छ । लुम्बिनी प्रदेशका रुपन्देहीमा केही वर्ष अगाडि देखिएको रोग अहिले प्रदेशका सबै जिल्लामा पुगेको छ । केही ठाउँमा नियन्त्रणमा आए पनि धेरैमा ठाउँमा विस्तारको अवस्थामा रहेको पशु चित्किसकहरु बताउँछन् ।

पाल्पामा माथागढी लगायतका केही ठाउँमा अहिले रोग नियन्त्रणमा आएको छ । लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालयका अनुसार रोग नियन्त्रणको लागि जनशक्ति खटाउनेदेखि पशुमा सङ्क्रमण रोक्न लम्की स्किन खोप लगाउन थालिएको छ । सुरुमा गुल्मी र अर्घाखाँची जिल्लामा भ्याक्सीन लगाउन सुरु गरिएको प्रदेश निर्देशक डा.परबेज आलमले जनाए । निर्देशनालयका अनुसार गुल्मीमा ७७७५ र अर्घाखाँचीमा ७५० खोप लगाइएको छ ।