June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

नाकामा कडाई गर्दा स्वदेशी बजार चलायमान बन्योः उद्योग बाणिज्य संघ

भैरहवा– रुपन्देहीको बेलहिया नाकामा कडाई गरिएको छ । विना भन्सार दैनिक भारतीय बजार सुनौली, नौतनवा लगायतकाबाट अवैध सामान आयात बढ्दै गएपछि सिद्धार्थ उद्योग बाणिज्य संघ र उद्योग ब्यापार संगठन लगायत निजी क्षेत्रका संघसंस्थाले विरोध गर्दै आएका थिए । पछिल्लो समय एक सय रुपैयाँ भन्दा बढीको सामान खरिद गरी नेपाल भित्र्याउँदा भन्सार नाकामा प्रज्ञापनपत्र भरी राजश्व अनिवार्य गरिएपछि भारतीय बजारमा खरिदारीका लागि जाने नेपालीहरु पनि घटेका छन् । जसले गर्दा भन्सार राजस्व बृद्धि भइरहेको छ भने रुपन्देहीका बजार विगत भन्दा तुलनात्मकरुपमा चलायमान बनेका छन् ।

Advertisement

विना भन्सार सहजै लाखौं रुपैयाँको सामान भित्र्याउन पाउने भएपछि विगतमा रुपन्देहीको बेलहिया नाका हुँदै भारतीय बजार सुनौली, नौतनवा लगायतका ठाउँमा दैनिक उपभोग्य वस्तु खरिद गर्न जानेको सीमानाकामा लर्को लाग्थ्यो । सर्वसाधरणको भीडले नाकामा आउजाउमै समस्या हुन्थ्यो । दैनिक हजारौंको संख्यामा नेपालीहरु सामान खरिदका लागि भारतीय बजार पुग्थे । यसरी भारतबाट खरिद गरेर आउनेहरुले विना भन्सार रुपन्देहीसहित मुलुकका विभिन्न ठाउँमा सामान पुर्याउँथे । यसबाट स्वदेशी व्यवसायी आजीत थिए भने मुलुकको करोडौं राजश्व गुमिरहेको थियो ।

Advertisement

पछिल्लो पटक भन्सार नाकामा निकै कडाई गरिएको छ । भन्सार कर्मचारीसँगै सशस्त्र र नेपाल प्रहरी खटिएका छन् । उनीहरुले भारतीय बजारमा सामान खरिद गरेर फर्कनेलाई प्रज्ञापन पत्र भर्न र राजश्व तिर्न लगाउने गरेका छन् । यसबाट स्वेदशी व्यवसायी खुशी भएका छन् भने अन्य नाकामा पनि कडाई गर्न माग गरिरहेका छन् ।

बिना भन्सार भारतबाट नेपाल भित्रिने गरेका मालसामानलाई भन्सार नाकामा कडाइ गरि अनिवार्य भन्सार गराउन थालिएपछि सीमावर्ती भारतीय व्यवसायीले बिरोध गर्न थालेको भैरहवाका स्थानीय व्यवसायीले बताएका छन् । बिना भन्सार भित्रिने गरेका सामानलाई भन्सार तिराउन सिमानाकामा थालिएको कडाइ कार्यक्रम प्रभावकारी बन्दै गएपछि त्यसलाई बिथोल्न सिमावर्ती भारतको सुनौलीका केही व्यवसायी लागेको दावी बुधवार सिद्धार्थ उद्योग वाणिज्य संघमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय व्यवसायीले गरे ।

भन्सारमा कडाई हुँदा नेपाली उपभोक्ताममा निर्भर सीमा क्षेत्रका भारतीय ब्यापारी भने आक्रोसित छन् । उनीहरुले दूताबासमा गुहार गर्नेदेखि नाका बन्द गर्नेसम्मको चेतावनी दिइरहेका छन् । नेपाली उपभोक्ताको चापले दिनप्रतिदिन सीमावर्ती भारतीय बजार गुल्जार बन्दै गर्दा स्वदेशी स्थानीय बजार भने धरासायी थियाे । त्यसैले अहिले रुपन्देहीका सीमा क्षेत्रमा गरिएको कडाईलाई निरन्तरता दिनुपर्ने माग छ । ‘यसले व्यवसायी र मुलुक सबैलाई फाइदा पुग्छ । बिना भन्सार भित्रिने सामानलाई भन्सार तिराउने कार्यक्रम निकै प्रभावकारी बनेपछि त्यसलाई बिथोल्न विभिन्न गलत आरोप हामी नेपाली व्यवसायीमाथि लगाउन थालिएको छ’, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘यस कार्यक्रमलाई बिथोल्न उनीहरुले नेपाल भारतमा आवत जावत गर्नमै बाधा हुन थालेको भनेर राजदुतावासमा गलत पत्राचार गरिएको छ ।’

सामान्य अवस्थामा दैनिक कतिजना नेपाली उपभोक्ता सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार सुनौली र नौतनवा पुग्छन् भन्ने एकीन तथ्यांक कतै छैन । तर सबै उमेर समूहका नेपाली उपभोक्ताको भीड सीमावर्ती भारतीय बजारका गल्ली–गल्लीमा हुन्छ । ‘बिबाह, ब्रतबन्ध जस्ता ठूला कार्यका लागि कार्ड छपाएर नाकामा रहेका भन्सार कर्मचारीलाई देखाउँदै एउटै परिवारले लाखौंका सामान किनमेल गर्छन् । रुपन्देहीका सहर र गाउँबस्तीदेखि पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी चितवन, गोरखा, कास्की, बाग्लुङ लगायतका जिल्लाबाट पनि सामान किनमेलका लागि सुनौली जाने हजारौंको संख्यामा भेटिन्छन्’, अध्यक्ष श्रेष्ठले भने, ‘यसरी जानेले विना भन्सार सामान भित्र्याउँदा दैनिक करोड बढी राजश्व गुम्ने गरेको थियो । अहिले रोकिएको छ । त्यसैले भारतीय व्यवसायीले हामीलाई नहुने लान्छाना लगाइरहेका छन् ।’

संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले नेपाली उपभोक्ता आफ्नो पसलमा आउन कम भएपछि र पहिलो जस्तो व्यापार हुन छाडेपछि भारतीय व्यवसायीले विभिन्न मित्थ्या र भ्रामक कुरा गरेर बिथोल्न लागेको जनाए । ‘किनेमेल गर्न भारततर्फ जाने नेपाली उपभोक्तालाई कुनै अवरोध छैन’, उनले भने, ‘यसरी किनमेल गरिएको सामान भन्सार नियम अनुसार १ सय रुपैयाँ भन्दा धेरैको सामान भएमा अनिबार्य भन्सार तिराउनु पर्ने माग हामीले गरेर नियमको कार्यान्वयन गराएका हौं ।’

पत्रकार सम्मेलनमा, भारतीय व्यवसायीबाट सिद्धार्थ उद्योग वाणिज्य संघका व्यवसायीले तस्करीको सामान आफूले जम्मा गरेर नाकामा कडाई गर्न लगाएको, नाकामा सर्वसाधारण आवतजावतमा सास्ती दिन थालिएको लगायतका गलत आरोप लगाउँदै सार्वजनिक रुपमैं लान्छना लगाइको र भिडोयो रेकर्ड समेत उपलब्ध भएको नेपाली व्यवसायीले जनाए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले स्थानीय बजार प्रबद्र्धनका लागि भैरहवा भन्सार, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय व्यवसायीको थालेको भन्सार तिराउने कार्यक्रम धेरै प्रभावकारी बन्दै गएको र अन्य सिमावर्ती नाकामा पनि लागु गर्न थालिएको बताए ।

‘यो क्रार्यक्रम सफल हुन थालेपछि गलत प्रचार गरेर बिथोल्न धेरै प्रयास गर्न थालिएको छ’, शर्माले भने, ‘तर यसलाई निरन्तरता दिनुपर्छ ।’ उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा उद्योग समितिका अध्यक्ष राजेशकुमार अग्रवालले स्वदेशी सवै उद्योग अहिले ३० देखि ५० प्रतिशत क्षमतामामात्र चल्नूमा स्वदेशी उपभोक्ता सिमापारी गएर किनमेल गरि बिना भन्सार सामान भित्र्याउनु पनि प्रमुख कारणमध्येको एक भएको बताए ।

घरायशी प्रयोजनका नाममा भारतीय बजारमा किनमेल गरेको मालसामान बिना भन्सार नेपाल भित्रिएर व्यापारिक कारोवार हुन थालेपछि गत बैशाख १३ गतेदेखि भैरहवा नाकामा १ सय रुपैयाँ भन्दा धेरैको सामान किनेर ल्याउँदा अनिबार्य भन्सार लगाउने गरि नाकामा कडाइ गरिएको हो । घरायशी प्रयोजनका नाममा किनमेलका लागि दैनिक हजारौं नेपाली उपभोक्ता सिमापारीको सुनौली, नौतनवा बजारमा पुग्ने गर्थे ।

भारतीय सुनौली बजारको ९५ प्रतिशत भन्दा धेरै कारोबार नेपाली उपभोक्तामाथि निर्भर छ । ‘एक सय रुपैयाँ भन्दा धेरै मूल्यको कुनै पनि समान ल्याउँदा भन्सार तिर्नुपर्ने कानुनी प्रावधान छ । तर, व्यवहारिक पक्ष भन्दै यो नियमको कडाइकासाथ कार्यान्वयन नहुँदा सीमावर्ती भारतीय बजारमा गएर किनमेल गर्ने नेपाली उपभोक्ताको प्रबृत्ति दिनप्रतिदिन मौलाउँदै गएको थियो । अहिले कानून कार्यान्वयन पछि गरिएको कडाईले भारतीय बजार जाने उपभोक्ता आधाले घटेका छन्’, संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठले भने । नाकामा कडाई गरिएपछि विगतका दिनहरुमा भन्दा अहिले भैरहवा भन्सार कार्यालयको राजश्व बृद्धि भएको र भैरहवा तथा यस आसपासमा सानाठूला व्यवसायमा खरिदविक्री निकै बढेको संघका महासचिव कृष्णप्रसाद घिमिरेले जनाए ।