अघोषित लोडसेडिङले भैरहवाबासी प्रताण्डित, प्राधिकरणप्रति आक्रोस


भैरहवा– छिनछिनमा हुने अघोषित लोडसेडिङबाट भैरहवाबासी प्रताण्डित भएका छन् । भैरहवाका स्थानीयवासीको समूह आइतवार नेपाल बिद्युत प्राधिकरणको भैरहवा बितरण केन्द्रमा डेलिगेशन गइ नियमित बिद्युत लाइनको माग समेत गरेको छ ।
बैदिक सनातन धर्म सेवा समिति, सिद्धार्थनगरसहित स्थानीयको टोलीले बितरण केन्द्रका प्रमुख संजयकुमार मिश्र समक्ष वारम्बार हुने आघोषित लोडसेडिङले पारेको समस्याका वारेमा जानकारी गराउँदै नियमित बिद्युत लाइनको माग राखेको हो । डेलिगेशनमा सहभागी अधिकांश प्राधिकरणको शैलीप्रति आक्रोशित थिए ।
अघोषित लोडसेडिङबाट दिक्दार बनेपछि स्थानीय नगरवासीको डेलिगेशन उक्त कार्याललयमा जाने क्रम विगत केही सातादेखि निरन्तर नै चल्न थालेको छ । भैरहवा क्षेत्रमा बिद्युत आपूर्ती अनियमित हुनुको कारणका वारेमा भने उक्त केन्द्रले प्रष्ट्याउन सकेको छैन । न त सर्वसाधारणलाई जानकारी नै गराएको छ ।
भैरहवा मर्निङ वाक ग्रुपका संस्थापक अध्यक्ष तथा साहित्यकार विजयगोविन्द श्रेष्ठले रातको समयमा विद्युत आपूर्ति नहुँदा गर्मीले बालबालिका रोइरहेको र सुत्न नसकेको बताए । उनले अनियमित विद्युत आपूर्तिका कारण विद्युतीय उपकरण बिग्रिएको बताए । ‘जनतालाई दुःख दिन पाइँदैन । लोडसेडिङमुक्त देश घोषणा गरिएको छ तर एक दिनमा ४० पटकसम्म लाइन काटिन्छ’, उनले भने, ‘कि त लोडसेडिङको तालिका दिनु पर्यो, होइन भने नियमित विद्युत आपूर्ति हुनुपर्छ ।’

व्यवसायी अरुण लामिछानेले विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रमा विद्युत सम्बन्धी जानकारी लिन खोज्ने प्रयासका लागि पटकपटक फोन गर्दा फोन कहिल्यै नलागेको बताए । स्थानीय मीना श्रेष्ठले दुःख जनतालाई मात्र दिइएको बताइन् । उनले महंगीबाट पीडित नागरिक अहिले अनियमित विद्युत कटौतीबाट पीडित भएको बताइन् । उनले भनिन्, ‘झ्याप्पझुयाप्प जाने लाइनकै कारण घरका विद्युतीय उपकरण बिग्रिएका छन्, महंगी बढेको छ । कसरी मर्मत गराउने ?
भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष तथा व्यवसायी ओमकार गौचनले रहरले नभइ बाध्यताले विद्युत कार्यालयलाई ध्यानाकर्षण गराउन आएको बताए । उनले भने, ‘रहरले यहाँ आएको होइनौं, समस्या समाधान नभए अब चुप लागेर बस्दैनौं ।’ डेलिगेशनका क्रममा यसरी आक्रोस पोख्ने दर्जनौं सर्वसाधारण थिए ।
बिगत तीन सातादेखि टन्टलापुरे घाम र गर्मीले आकुलव्याकुल पारिरहेको भैरहवामा बिद्युत आपूर्ती नियमित नहुँदा भैरहवावासी पीडित छन् । बिद्युत छिनछिनमा अवरुद्ध हुने गर्छ । बिद्युत आएको वेलामा पनि एकैनासको नभएर गुणस्तरहीन हुन्छ । भोल्टेजमा एकरुपता छैन । कम भोल्टेज हुँदा न मोटरले पानी तान्छ । नत पंखा, टिभी, फ्रिज लगायतका बिद्युतीय उपकरण नै चल्छ । जनजीवन उकुसमुकुस भएर निकै कष्टकर बनेको छ ।
घरिघरि एक्कासी हाइ भोल्टेजसहितको बिद्युत आएपछि पंखा, पानी तान्ने मोटर लगायतका सवै बिद्युतीय उपरकण जल्ने गरेका छन् । यसबाट सर्वसाधरणको करोडौंको क्षति पुगेको छ । भैरहवा वितरण केन्द्रका प्रमुख संजयकुमार मिश्रले समस्या समाधानका लागि लागिपरेको आश्वासन दिए । उनले विद्युत कटौती भैरहवाको मात्र नभइ राष्ट्रव्यापी समस्या भएको बताए । उनले भने, ‘पानी परे समस्या स्वतः समाधान हुन्छ ।’









प्रतिकृया दिनुहोस्