शुक्रबार लुम्बिनी सरकारको बजेट, आकार घटाइने


भैरहवा– लुम्बिनी प्रदेश सरकारले भोलि (शुक्रबार) नयाँ बजेट ल्याउँदै छ । आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि सरकारले बजेट ल्याउन लागेको हो । सरकारले जेठ २६ प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्बजनिक गरेको थियो । प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन, खेलकुद लगायत प्राथमिकतामा राखेको जनाएका थिए ।
सरकारको नीति, कार्यक्रम बहुमतले पारित भएको छ । नीति, कार्यक्रम पारित भएसँगै शुक्रबार (असार १ गते) सरकारले बजेट ल्याउने लागेको हो । असार १ गते (भोलि) दिउँसो ३ बजे बजेट ल्याउने गरी दोस्रो अधिवेशनको ११ औँ बैठक आह्वान गरिएको छ । बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्की आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्ने कार्यतालिका छन् ।
नीति तथा कार्यक्रममा समावेस गरिएका योजनालाई प्राथमिकीकरण गरेर सरकारले बजेट ल्याउने मन्त्री मास्कीले बताए । ‘प्रदेश र प्रदेशबासीको जनजीविकामा प्रभाव पार्ने गरी हामीले बजेटको खाका तयार पारेका छौं’, उनले भने, ‘धेरै कुरा बजेट प्रस्तुत भएपछि छर्लङ्ग हुन्छ ।’ आर्थिक क्षेत्र सिथिल छ । विकास निर्माण सुस्त छ । जसले गर्दा सरकारको राजश्व असुली लक्ष्यमा पुग्न सकेको छैन । सबैतिरबाट आर्थिक गतिविधि सुस्ताइरहेका बेलासरकारले आगामी आर्थिक वर्षको बजेट घटाएर ल्याउने तयारी गरेको छ ।
प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०८०–०८१ मा चालु आव भन्दा ५–१० प्रतिशत बजेट घटाइने छ । चालु आर्थिक वर्ष २०७९–०८० का लागि लुम्बिनी सरकारले ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, यस वर्ष सोही बजेटको १० हाराहारी प्रतिशत कटौती गर्ने तयारी छ । कटौती भएमा करिब ४ अर्ब बजेट घट्ने छ ।
चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेशले संघ सरकारबाट १८ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो । संघले आगामी आर्थिक वर्षका लागि प्रदेशलाई १५ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ मात्र अनुदान पठाउने भएको छ । जसले गर्दा प्रदेश सरकारले बजेटको आकार घटाउन लागेको मन्त्रालयले जनाएको छ । यस्तै, बजेट आकार घट्ने भएपछि प्रदेश सरकारले स्थानीय तहलाई दिने विभिन्न अनुदानको रकम पनि कटौती गर्ने तयारी गरेको आर्थिक मामिला मन्त्रालयका एक अधिकृतले बताए ।
प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट खर्चको अवस्था समेत निराशाजनक छ । ४२ अर्ब ६३ करोड ५७ लाख बजेट रहेकोमा अहिलेसम्म १८ अर्ब १ करोड ३५ लाख मात्रै खर्च भएको छ । वैशाख महिनासम्मको खर्चको अवस्था ४२ दशमलव २५ प्रतिशत मात्रै रहेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
पुँजीगत खर्च अझै दयनीय छ । २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार पुँजीगत बजेटमध्ये नौ अर्ब ७३ करोड ८९ लाख २० हजार मात्रै खर्च भएको छ । वैशाख अन्तिमसम्म पुँजीगत खर्च ३९ दशमलव ७९ प्रतिशत मात्रै छ ।








प्रतिकृया दिनुहोस्