तराई–पहाडसम्म चोरीको मल


भैरहवा– खेतीपातीको याममा सरकारले पर्याप्त राससायनिक मल उपलब्ध गराउन नसकेपछि वर्षौदेखि सर्वसाधरण चोरीको मलमा निर्भर छन् । धान खेतीका बेला मल अभाव चर्किदैं आएको छ । यस्तो बेला स्थानीय सिमावर्ती भारतीय बजारबाट अवैध तरिकाबाट मल आपूर्ति गरेर गुजारा चलाउँदैं आएका छन् । वर्षा लागेपछि मल लिन सीमा क्षेत्रमा ओइरो लाग्छ ।
यसअघि चोरीको मल तराई क्षेत्रमा सिमित थियो । यसपटक भारतीय बजारबाट अबैध तरिकाबाट भित्र्याइएको मल लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पुग्न थालेको पाइएको छ । प्रदेशका आधा दर्जन जिल्ला भारतीय सीमासित जोडिएका छन् । ती भारतसित जोडिएका स्थानबाट मल भित्रिने गरेको छ ।
यसरी अवैध रूपमा भित्र्याइएको युरिया मल पाल्पाको रम्भा–१, हुँगीबाट बरामद भएपछि तस्करीको नयाँ धन्दाको खुलासा भएको हो । गत शनिबार यसरी ओसारिएको ३ सय ७२ बोरा अवैध भारतीय कम्पनीको रासायनिक मल बरामद गरिएको थियो । अवैध मलसहित लु२ख ३८१ नम्बरको ट्रकसमेत नियन्त्रणमा लिइएको पाल्पाका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।
प्रहरीका अनुसार पश्चिम नवलपरासीको रामग्राम–१२, शान्तिचौर कसियाबाट पाल्पाको रामपुर नगरपालिका बेझाडतर्फ मल लिएर जाँदै गरेको ट्रकसहित मल प्रहरीले नियन्त्रणमा लिएको हो । अकलेस ट्रेडर्स एण्ड सप्लायर्सले ४ सय ५० बोरा चामलको बिल काटेर युरिया मल ल्याएको प्रहरीको दाबी छ । उक्त सप्लायर्सले एउटै मितिमा ४ सय ५० बोरा चामलको बिलसमेत काटेर पठाएको छ ।
प्रहरी जाँचमा चामलको बिल देखाउँदै युरिया मल लिएर हिंडेको पाइएपछि प्रहरीले युरिया मल बरामद गरेको जनाएको छ । पाल्पाको हँुगी प्रहरी चौकीको टोलीले जाँच गर्दा सुरुमा चामलकै बिल देखाइएको थियो । पछि पक्राउ परेपछि पुनः अर्को सोही मितिमा काटेको युरिया मलको बिल भेटिएको थियो । गत शनिबार नै प्रहरीले रामपुर बेझाडमा गोदाममा राखिएको ७ सय बोरा युरिया मल पनि नियन्त्रणमा लिएको छ ।
यतिमात्रै होइन्, अहिले गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्यूठान लगायतका जिल्लाहरुमा पनि तराईबाट चोरीतस्करीको अवैध मल पुग्ने गरेको छ । कम पोषकतत्व भएको भारतीय मल गाउँगाउँ पुग्दा उत्पादनमा ह्रास आउने चिन्ता कृषिविज्ञको छ । तराईका जिल्लाबाट भारतसँगको खुल्ला सीमाको फाइदा उठाउँदै मल तस्करी हुने गरेको छ । यस्तो मल तराईसँगै पहाडी जिल्लामा तस्करहरुले पुर्याउने गरेका छन् । तस्करी रोक्न प्रहरी–प्रशासन निरीह छ । मिलेमतोमा ब्यापक मल तस्करी भइरहेको रुपन्देहीका सीमा क्षेत्रका स्थानीय बासिन्दा बताउँछन् ।








प्रतिकृया दिनुहोस्