पश्चिम नवलपरासीमा खुलेयाम तस्करी


परासी– सुरक्षा निकायको मिलेमतोमा पश्चिम नवलपरासीमा तस्करी बढेको छ । नेपाल प्रहरी र सशस्त्रले यहाँ सादा पोसाक (घुमुवा) प्रहरी परिचालन गरेर असुली धन्दा मच्याइरहेका छन् । जिल्लाका मुख्य सीमानाका महेशपुर, भुजहवा, झुलनिपुर, विष्णुपुरा, बलिनगर, बसहिया, रगरगंज, गेरमा, पडरी, हरकपुरालगायतका नाकाबाट अबैध रुपमा दाल, चिनी, कपडा, हार्डवेयर, मोटरपार्टस्, काजु, बदाव, किसमिस, दैनिक उपभोग्य सामान भित्रिने गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा नै तस्करी मौलाएको स्थानीय बासिन्दा र ब्यापारीको आरोप छ । प्रहरीकै मिलेमतोमा तस्करी गरेर लैजाँदै गरेको एक ट्रक चिनी अघिल्लो महिना जिल्लामा पक्राउ परेको थियो । जिल्लामा ट्रकका ट्रक अवैध सामान भारतबाट तस्करी भएर भित्रिने गरेको छ । मिलेमतोका कारण रोकथाममा दुबै सुरक्षा निकायको ध्यान छैन । पछिल्लो ५ महिनामा मात्रै जिल्लामा पटक–पटक तस्करीको सामानसहित ट्रक समातिएका छन् । जिल्लामा सुरक्षा निकायको आर्थिक लाभ लिएर मौन समर्थन हुँदा खुल्ला सीमाको तस्करहरुले भरपूर फाइदा लिइरहेका छन् ।
नवलपरासीका अधिकांश सानाठूला पसलहरुमा भारतीय अवैध बाटोबाट भित्रिएको सामान छ्यापछ्याप्ती पाइन्छ । अवैध बाटोबाट भन्सार छलीको सामान भित्रिएर बजार भरिँदा समेत रोकवटमा सुरक्षा निकायको ध्यानै छैन । जिल्लामा सशस्त्रले तीनजना र नेपाल प्रहरीले ४ जना घुमुवा परिचालन गरेका छन् । प्रत्येक इलाका प्रहरीदेखि चौकी र सशस्त्रका बीओपीहरुले पनि घुमुवा परिचालन गरेका छन् । एक सुरक्षा अधिकारीका अनुसार नेपाल प्रहरी र सशस्त्रका सबै कार्यालय, इप्रका, चौकी र बीओपी गरेर ५० बढी घुमुवा परिचालित छन् । उनीहरुले अवैध सामान भित्रिन रोक्ने भन्दा आफ्ना हाकिमलाई उठाएर रकम बुझाउनै मस्त छन् ।
जिल्लामा कुखुरा र तयारी मासु, माछा, खसीबोका, भैँसी तस्करी पनि उस्तै छ । यहाँबाट तस्करी हुने मासुजन्यपदार्थ बुटवल, चितवन, काठमाडौं लगायतका सहरमा पुग्ने गरेको छ । यस्तै, कपडा, हार्डवेयर, मोटरपार्टस् पोखरा, जिल्लाका विभिन्न पसल, बुटवल, पाल्पा, स्याङ्जा, गुल्मी, काठमाडौं, चितवन लगायतका मुलुकका धेरै जिल्लामा पुग्ने गरेको छ ।
तस्करी रोक्न व्यवसायीले पटकपटक माग गर्दै आएका छन् । तर, मिलेमतोले रोकिएको छैन । जिल्लाका सीमा क्षेत्रमा रहेका व्यवसायीले नै तस्करी गर्ने गरेकाले निजी क्षेत्रलाई तस्करी रोक्ने अभियान सफल पार्न धौधौ छ । ‘दिनभरी तस्करी भयो रोक्नुपर्छ भन्ने, साँझ भयो भने प्रहरीका अधिकारीसँग उठबस गर्ने र रातभरी तस्करी गर्ने व्यवसायीले गर्दा हामीलाई समस्या भइरहेको छ’, परासीका एक कपडा व्यवसायीले भने, ‘हामी दिनभर ग्राहक नआउँदा रन्थनिएर बस्छौं, तस्करी गर्नेहरु मालामाल छन् ।’
प्रमुख जिल्ला अधिकारी, सशस्त्र र नेपाल प्रहरीले जिल्लामा तस्करी नभएको दावी गर्दै आएका छन् । तर, वास्तविकता फरक छ । बजारभरी अबैध बाटोबाट भित्रिएका सामान हुँदा समेत अनुगमन र रोकतोक नहुनुले सुरक्षा निकायको दावी फेल खान्छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा राजश्व चुहावट नियन्त्रण समिति हुन्छ । उक्त समिति निष्क्रिय छ । समितिका प्रमुख, नेपाल प्रहरी र सशस्त्र प्रमुखले नै तस्करबाट मासिक रकम बुझेर तस्करी खुकुलो गराउँदा इमान्दार व्यवसायी मारमा परेका छन् नै दैनिक करोडौं राजश्व समेत गुमिरहेको छ ।
कडाका एउटा तस्करले नै सुरक्षा अधिकारीका प्रमुखलाई मासिक ३ लाखसम्म बुझाउने गरेको जिल्ला प्रहरी र सशस्त्र प्रहरीका तल्लो तहका अधिकृत बताउँछन् । यस्तै, हार्डवेयर र मोटरपार्टस् तस्करले मासिक २ लाख, माछा, कुखुरा र तयारी मासु तस्करले मासिक ५० हजारदेखि एक लाखसम्म बुझाउँछन् । दैनिक ३ सय बढी तस्करले जिल्लाका नाकाहरुबाट तस्करी गर्दै आएको छन् । बसै तस्करले रकम बुझाउँदा सुरक्षा प्रमुखको मासिक अवैधानिक आम्दानी नै करोड पुग्न जान्छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा परिचालन नगर्ने नीति छ । सादा पोसाकका प्रहरी खटाएर सूचना संकलन गर्ने भनिन्छ । तर, उनीहरुको धन्दा हाकिमका लागि रकम असुल्ने भएको छ । जिल्लाको परासी, बर्दघाट, भूमही लगायतका बजार तस्करीले ल्याएको अवैध सामानबाट भरिभराउ छन् । कुनै रोकावट छैन । खुलेयाम तस्करी मौलाउँदा सुरक्षा निकाय आँखा चिम्लिएर बसेको भूमहीका एक ब्यापारीले बताए । विगतमा रातिमा मात्रै तस्करी गर्नेहरुले अहिले दिनमा पनि खुलेयाम तस्करी गरिरहेका छन् ।
तस्करीका लागि मालामाल भए पछि अहिले रुपन्देही लगायतका तराईका जिल्लाबाट तस्करी गर्दै आएका तस्करहरु पनि पश्चिम नवलपरासीतिर लागेका छन् । ‘रातदिन खाली छैन, जतिबेला पनि तस्करी हुने गरेको छ, सीमामा सुरक्षाकर्मी तैनाथ छन्, ठाउँठाउँमा बीओपी, इप्रका, चौकी छन् । तर तस्करबाट रकम लिएर सबै चुपचाप छन्’, स्थानीय पंकज चौधरीले भने, ‘अहिले जस्तो तस्करी भएको मैले कहिल्यै देखेको थिएन ।’ तस्करहरुले सीमा क्षेत्रबाटै ट्रकमा अवैध सामान लोड गरेर ठाउँठाउँ पुर्याउने गरेका छन् । साइकलदेखि मोटरसाइकल, इरिक्सा, टेम्पो, भ्यान, पिकअप, मिनीट्रक र ठूलाठूला ट्रकबाटै तस्करी हुँदै आएको छ ।








प्रतिकृया दिनुहोस्