June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

सीमानाकामा कडाइ

भैरहवा– सामान्य अवस्थामा दैनिक कतिजना नेपाली उपभोक्ता सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार सुनौली र नौतनवा पुग्छन् ? भन्ने वारेमा आधिकारिक तथ्यांक कतै पनि छैन । बालबालिकादेखि बृद्ध उमेर समूहसम्म नेपाली उपभोक्ता सबैको भीड सीमावर्ती भारतीय बजारका गल्ली–गल्लीमा लाग्ने गर्छ । बिबाह, ब्रतबन्ध जस्ता ठूला कार्यका लागि कार्ड छपाएर नाकामा रहेका भन्सार कर्मचारीलाई देखाउँदै एउटै परिवारले लाखौंका सामान किनमेल गर्ने गर्छन् ।

Advertisement

भैरहवा, बुटवल, मणिग्राम, मंगलापुर, शंकरनगर लगायत रुपन्देहीबासी र पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासीको सुनवल, परासी, बर्दघाट, चितवन, गोरखा, कास्की, बाग्लुङ लगायतका जिल्लाबाट सामान किनमेलका लागि जाने हजारौंको संख्यामा भेटिन्छन् । भारतीय सुनौली बजार ९५ प्रतिशत भन्दा धेरै कारोबार नेपाली उपभोक्तामाथि निर्भर छ ।

Advertisement

नेपाली उपभोक्ताको चापले दिनप्रतिदिन सीमावर्ती सुनौली बजार गुल्जार बन्दै गर्दा स्वदेशी स्थानीय बजार भने धरासायी बन्दै जान थालेका छन् । स्थानीय बजारमा उपभोक्ताको संख्या घट्र्दै जान थालेपछि कारोबार सुक्दै जानथालेको छ । व्यवसाय बिस्थापित हुन थालेको स्थानीय व्यवसायीले भन्दै आएका छन् ।

स्थानीय व्यवसायीको भनाइ छ, घरायसी प्रयोजनका नाममा नेपाली उपभोक्ताले सीमावर्ती भारतीय बजार गइ किनमेल गरेर ल्याएको सामान बिना भन्सार भित्रिँदा स्वदेशी व्यवसाय संकटमा पर्न थालेको हो । घरायसी प्रयोजनका नाममा भित्र्याइएका त्यस्ता सामान व्यापारिक प्रयोजनमा आउन थालेका छन् । पेसेवर क्यारिअरले सामान ओसार्न थाले । भन्सार लगायतका सवैखाले कर तिरेर बैध कारोबार गर्ने व्यवसायीले कर छलेको सामानसँग प्रतिष्पर्धा गर्न सकेनन् ।

घरायसी प्रयोजनका नाममा ल्यायएका सामानमाथि सीमामा खटिएका सुरक्षाकर्मी र भन्सार कर्मचारीले कडाइकासाथ चेकजाँच नगरिँदा यस खालको समस्या आएको दावी उनीहरुले गर्दै आएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ लगायत लुम्बिनी प्रदेशका विभिन्न व्यवसायिक तथा औद्योगिक संस्थाले स्थानीय प्रहरी, प्रशासन र भन्सार प्रशासन समक्ष यस वारेमा पटक–पटक डेलिगेशन, अन्तरक्रिया र छलफल गरेपछि भारतीय बजारमा किनमेल गरेको मालसामान बिना भन्सार नेपाल भित्रिन नदिनका लागि भैरहवा भन्सार नाकामा कडाइ गर्न थालिएको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले सीमावर्ती भारतीय बजारमा गइ किनमेल गरि नेपाल ल्याइएका सम्पूर्ण मालसामानलाई भन्सारको यात्रु शाखाबाट भन्सार तिराएरमात्रै छाड्न थालिएको बताए । ‘नाकामा कडाइ गरेर बढी राजश्व संकलन गर्ने भन्दा त्यस खालको प्रबृत्तिलाई निरुत्साहित गराउने मुख्य उद्देश्य हो’, उनले भने ।

बिना भन्सार मालसामान भित्रिन नदिन भन्सार नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारी परिचालित छन् । उनीहरुले पारिबाट किनमेल गरि फर्केकालाई भन्सार प्रज्ञापनपत्र कटाएर भन्सार तिराउने गरेका छन् । भन्सार शुल्क तिर्नका लागि लाइनमा लगाएर भन्सार कार्यालयको यात्रु शाखासम्म पठाउने गरिएको छ ।

एक सय रुपैयाँ भन्दा धेरै मूल्यको कुनै पनि समान ल्याउँदा भन्सार तिर्नुपर्ने कानुनी प्रावधान छ । तर, व्यवहारिक पक्ष भन्दै यो नियमको कडाइकासाथ कार्यान्वयन नहुँदा सीमावर्ती भारतीय बजारमा गएर किनमेल गर्ने नेपाली उपभोक्ताको प्रबृत्ति दिनप्रतिदिन मौलाउँदै गएको थियो ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले सीमावर्ती भारतीय बजारबाट किनमेल गरि सामान लिएर फर्केका सवै उपभोक्तालाई लाइन लगाएर भन्सार कार्यालयमा ल्याइ भन्सार तिर्ने बातावरण तयार गरिएको बताए । घरायसी प्रयोजनका नाममा दैनिक हजारौं नेपाली उपभोक्ता सीमापारी पुग्न थालेपछि स्थानीय स्वदेशी बजार ग्राहकको अभावले सुनसान हुँदै जान थालेको र घरायसी प्रयोजनका नाममा बिना भन्सार भित्रिएका कतिपय सामानको व्यवसायिक कारोवार हुन थालेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । ‘भन्सार र सुरक्षा प्रशासनले अहिले गरेको कडाई ठीक छ, यसलाई निरन्तरता दिन जरुरी छ’, उनले भने ।