सिद्धार्थनगरमा टेम्पो र इरिक्सा दर्ता गर्दा रकम गायब, संघर्षका कार्यक्रम घोषणा


भैरहवा– सिद्धार्थनगर नगरपालिकाले विभिन्न पेसा–व्यवसाय गर्नेमाथि अन्याय गरेको भन्दै यहाँ क्रियाशील राजनीतिक दलहरु, संघसंस्था, मिटरब्याज पीडित र मजदुरहरु एकजुट भएका छन् । उनीहरुले नगरपालिकाविरुद्ध आवाज उठाउने र आफ्नो माग सम्बोधन गर्न पहल गर्ने भन्दै संघर्ष समिति समेत बनाएका छन् । भैरहवामा बुधबार पत्रकार सम्मेलन गरी दर्जन राजनीतिक दलहरु, संघसंस्था, मिटरब्याज पीडित र मजदुरहरुले आफूहरु एकढिक्का भएर नगरपालिकालाई माग सम्बोधनका लागि दवाव दिने जानकारी गराए ।
संघर्ष समितिको ब्यानर राखेर आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरिएको छ । यस्तै, टेम्पो, इरिक्सा, ठेला लगायतका व्यवसाय र मजदुरलाई व्यवस्थापन गर्न माग गरिएको छ । पत्रकार सम्मेलनमा नगरपालिकामा इरिक्सा र टेम्पो दर्ता गर्दा अतिरिक्त १ हजार ५ सय रुपैयाँ उठाएर रसिद पनि नदिई गायव पारिएको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिका अनुसार दर्ता गर्दा प्रति टेम्पो र इरिक्सा वापत नगरपालिकाले ३ हजार ६ सय रुपैयाँ लिएको थियो । चालक र व्यवसायीलाई २ हजार १ सयको रसिद दिए पनि १ हजार ५ सयको भने रसिद दिइएन । यो अतिरिक्त पैसा उठाएर नगरपालिकाले निम्नवर्गीय नागरिकमाथि भ्रष्टाचार गरेको आरोप संघर्ष समितिको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रामदयाल गुप्ताले साना तथा मझौला व्यवसायी, मजदुर र निमुखाको पक्षमा नगरपालिकाले काम गर्न नसकेको बताए । ‘अहिले ठेला व्यवसायीको ठेला धमाधम नगरपालिकाले नियन्त्रणमा लिइरहेको छ । साना व्यवसायीलाई धरपकड गरिरहेको छ’, उनले भने, ‘कर लिन्छ तर व्यवस्थापन गर्दैन, छाक टार्न धौं–धौं भएका निमुखा व्यवसायीमाथि अत्यचार गरिरहेको छ । यो तुरुन्त रोकेर सहजरुपमा व्यवसाय गर्ने वातावरण बनाउनुपर्छ ।’
उनले नियन्त्रणमा लिएका ठेला तत्काल छाड्नुपर्ने र व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्ने बताए । ‘नियम–कानून नबनाई गरिबको पेटमा लात्ता हान्ने काम नगरपालिकाबाट भएको छ’, उनले भने, ‘व्यवस्थित हुनुपर्छ, तर गरिबको चुल्हो निभाउने गरी नगरपालिकाबाट भएका गतिविधि हामीलाई सैह्य छैन ।’ नगरपालिकामा १ सय ५० बढी ठेला व्यवसायी छन् । अहिले नगरलाई व्यवस्थित गर्ने भन्दै नगरपालिकाले ठेला व्यवसायीलाई हटाउने काम गरिरहेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता एवं संघर्ष समितिका अगुवा विनोद उपाध्ययले नगरपालिकाद्वारा पीडित भइरहेकाले यसको विरोधमा आउन बाध्यता बनेको बताए । नगरले गरेको बलमिच्याई अबिलम्ब रोक्न आफूहरुको माग रहेको जनाए । ठेला व्यवसायी, इरिक्सा, टेम्पो चालकमाथि कहिले नगर प्रहरी त कहिले ट्राफिक प्रहरी मार्फत निरंकुशता लाद्ने काम भएको उनले सुनाए । ‘नगरपालिकाले बल प्रयोग गर्दै ठेला कब्जा गरि महिनौंदेखि ठेला राखिराखेको छ । व्यवसायीहरुको परिवारलाई मुखमा माड समेत जुटाउन धौं–धौं परेको छ । तुरुन्त ठेला फिर्ता गर्नु पर्दछ र कर्मचारीतन्त्र सुध्रिनु पर्दछ । होइन भने संघर्ष समितिको आन्दोलन नगरपालिकोबिरुद्ध उत्रिन बाध्य हुनेछ’, उनले भने ।
नेपाल टेम्पो तथा इरिक्सा चालक संघ, सिद्धार्थनगरका बरिष्ठ उपाध्यक्ष लोकबहादुर केसीले नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी, ट्राफिक प्रहरीले आफूहरुलाई मानवीय व्यवहारसमेत नगरेको जनाए । रुखो बोल्ने, जवरजस्ती सवारी र ठेला जफत गर्ने, कालीगलौज गर्ने जस्ता कार्य हुँदै आएको उनको गुनासो छ । तत्काल यस्ता कार्य रोकेर सहज वातावरण गराउन उनले माग गरे । उनका अनुसार नगरपालिकाभित्र २ हजार ५ सय टेम्पो तथा इरिक्सा संचालनमा छन् । त्यसमध्ये टेम्पो पाँच सय छन् भने दुई हजार इरिक्सा छन् । यी सवारीमा आफूहरुको करिब ५२ करोड लगानी रहेको केसीले जानकारी दिए । नगरपालिकामा भने १ सय ८३ वटा इरिक्सा र टेम्पो दर्ता छन् । उनले इरिक्सा र टेम्पो दर्ता गर्दा नै १ हजार ५ सय अतिरिक्त पैसा लिएको तर रसिद नदिएर आफूहरुलाई ठगेको आरोप लगाए । यसको छानविन गरी संलग्नलाई कारबाही गर्नुपर्ने उनले माग गरे ।
नेकपा राष्ट्रिय एकता अभियानका नेता राधेश्याम गुप्ताले तल्लो वर्गका नागरिकमाथि नगरपालिकाको निरन्तर हेपहा प्रवृत्तिपछि आफूहरुले साथ र सहयोग गरेको जनाए । उनले नगरपालिकाले बेवास्ता गरे चरणबद्ध आन्दोलन गर्ने र पीडितलाई न्याय दिलाउने जनाए । नगरपालिकाविरुद्ध नेकपा, नेकपा (एमाले), नेकपा राष्ट्रिय एकता अभियान, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, स्वतन्त्र नागरिक समाज, रुपन्देही, अखिल नेपाल ठेला मजदुर व्यवसायी संघ, कबाड पुनः निमार्ण योग संघ, मिटर ब्याज र किसान मजदुर संघर्ष समिति तथा नेपाल टेम्पो तथा इरिक्सा चालक संघ एकजुट भएका छन् ।
संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गर्ने, नगर व्यवस्थापनका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने, प्लेकार्ड बोकेर शान्तिपूर्ण जुलुससहित कोण सभा गर्ने, जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने, सिटी जुलुस, ८ घण्टा नगरपालिकामा धर्ना दिने र अन्तिममा आमसभा गर्ने घोषणा गरेको छ । यी कार्यक्रमको मिति तत्काल तोकिने समितिले जनाएको छ । ‘यति गर्दा पनि माग सम्बोधन नभए छलफल गरि अन्य कार्यक्रम घोषणा गर्नेछौं’, उपाध्यायले भने ।
प्रतिकृया दिनुहोस्