June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

‘गौतमबुद्ध विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्न पहल गरौं’

भैरहवा– यस क्षेत्रका उद्योगी–व्यवसायीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालनका लागि पहल गर्न आग्रह गरेका छन् । उनीहरुले प्रदेश सरकारकातर्फबाट पनि निरन्तर पहल भए विमानस्थल संचालनमा ल्याउन संघ सरकारलाई थप दवाव पुग्ने जनाए । उनीहरुले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा निजी क्षेत्रसँगै समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको गुनासो गरे ।

Advertisement

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले शनिबार भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेय र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के.)लाई स्वागत, बधाई तथा शुभकामना कार्यक्रममा उद्योगी–व्यवसायीहरुले विगतमा पनि विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालनका लागि विभिन्न दबाबमूलक कार्यक्रम गरेको तर सुनुवाई नभएको जनाउँदै प्रदेशकातर्फबाट पहल गर्न आग्रह गरे ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमण अघि नै विमानस्थलबारे भारत सरकारसँग छलफल गर्न प्रदेश सरकारले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको माग छ । संगठनका अध्यक्ष अनिलकुमार ज्ञवालीले नागरिकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्माणका लागि जग्गा तथा घर नै दिए पनि विमानस्थलमा अन्तर्राष्ट्रिय हुन नसक्दा नागरिक निराश भएको बताए । उनले मन्त्रीद्वय पाण्डेय र गुप्तालाई विमानस्थल नियमित सञ्चालनका लागि प्रदेश सरकारमार्फत पहल गर्न आग्रह गरे । अध्यक्ष ज्ञवालीले खुल्ला सीमाका कारण स्वदेशी व्यवसायी मर्कामा परेको समेत बताए ।

उनले भने, ‘व्यवसायी पीडित छन् । ४० प्रतिशत सटर खाली भएका छन् । यस्तोबेला विमानस्थल संचालन भए केही राहत हुन्थ्यो, यसका लागि तपाईंहरुले पहल गर्नुस् ।’ उनले बेलहिया–बुटवल ६ लेन सडक हालसम्म पनि निर्माणसम्पन्न नभएकाले यसलाई पूर्णता दिनका लागि आवश्यक पहल गरिदिन पनि मन्त्रीहरुसँग आग्रह गरे । उनले पर्यटकको बसाइँ लम्ब्याउने खालका कार्यक्रम ल्याउनुपर्ने र यसतर्फ प्रदेश सरकारले चासो दिनुपर्ने बताए । यस क्षेत्रको विकासका लागि रात्रीकालीन बजार सञ्चालन आवश्यक रहेको उनले बताए ।

चेम्बर अफ कमर्स, रुपन्देहीले सरकारी निकाय तथा निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढिरहेको उनको भनाइ छ । पर्यटन प्रवद्र्धनका लागि संस्थाले मेला, महोत्सव, दशैं सस्तो बजार, सडक खाना महोत्सव, अन्तरक्रिया, गोष्ठीलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको ज्ञवालीले बताए । निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले समग्र रुपन्देही र लुम्बिनीको विकास आवश्यक रहेको बताए । उनले लुम्बिनीमा सञ्चालित गुम्बा तथा मोनाष्ट्रीमा पर्यटकहरु राख्दा त्यहाँ सञ्चालित होटल धरासायी भएको बताए । भण्डारीले चेम्बर अफ कमर्स, रुपन्देहीले प्रदेश सरकारसँग समन्वय गर्दै अघि बढ्ने बताए । समग्र रुपन्देही र लुम्बिनीको विकास मुलुकको विकासको आधार भएको उनको भनाइ छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्ण रुपमा सञ्चालनका लागि आन्दोलनका कार्यक्रम समेत गरिएको उनले बताए । लुम्बिनी र लुम्बिनीको प्रवेशद्वार भैरहवा क्षेत्रमा रहेका समस्याका समाधानका लागि अग्रसर हुन उनले मन्त्रीहरुसँग आग्रह गरे । लुम्बिनी विकास कोषमा भएको बेथितिबारे वर्तमान पर्यटनमन्त्रीले स्पष्टीकरण सोध्नु सकारात्मक भएको उनको भनाइ छ ।

भण्डारीले भीम अस्पतालमा जनशक्ति र बजेटको अभाव रहेकाले अस्पतालको स्तरोन्नतिमा जोड दिन उनले आग्रह गरे । ‘कोभिड–१९ ले सरकारी अस्पतालको महत्व अझै बढाएको छ, त्यसैले भीमलाई मजबुत बनाऔं, प्रदेश सरकारको विशेष ध्यान जान जरुरी छ’, उनले भने । सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्योग, पर्यटन र व्यवसायको विकासका लागि सरकारको ठूलो हात रहने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन नभए दबाबका लागि पुनः आन्दोलनमा उत्रिन बाध्य हुने बताए । श्रेष्ठले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताए । विमानस्थल नियमित रुपमा सञ्चालनका लागि विभिन्न चरणका आन्दोलन र छलफल भए पनि मन्त्री र सचिवबाट आश्वासन मात्रै पाएको उनले बताए । उनले कोभिड–१९ ले पर्यटन क्षेत्र प्रभावित भएको बताए ।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री पाण्डेयले विमानस्थल पूर्ण सञ्चालनका लागि संघीय सरकारसँग निरन्तर पहल भइरहेको बताए । उनले विमानस्थल सञ्चालन नगरीकन पर्यटनको विकासको परिकल्पना गर्न नसकिने बताए । उनले भने, ‘निश्चित रुपमा प्रदेश सरकारले विमानस्थल सञ्चालनका लागि पहल गर्छ । लुम्बिनीलाई प्रमुख केन्द्र बनाएर पर्यटन क्षेत्रमा काम गर्छ । लुम्बिनीलाई पर्यटनको प्रमुख केन्द्र बनाउँछौं । सबैको साथ र सहयोगले विमानस्थल यथाशिघ्र सञ्चालनमा आउनेछ ।’ लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले बेथरी पुल निर्माण कार्यलाई फास्ट ट्रयाकमा अगाडि बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताए । उनले लुम्बिनीको माध्यमले लुम्बिनी प्रदेश समृद्ध हुने बताए । उनले भने, ‘लुम्बिनी प्रदेशलाई पर्यटनको प्रदेश भनेर चिनाउनुपर्छ ।’

लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री गुप्ताले उद्योगी व्यवसायीसँग हातेमालो गर्दै अघि बढ्ने बताए । उनले मन्त्री बनाएर मात्र नहुने भएकाले मन्त्रीलाई अधिकार पनि दिनुपर्ने बताए । उनले भने, ‘यहाँहरुको साथ, सहयोग, सल्लाह र सुझाव आवश्यक छ ।’ मन्त्री गुप्ताले भ्रष्टाचारविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मन्त्री सन्तोष कुमार पाण्डेयको ठूलो योगदान रहेको बताए । उनले विमानस्थल पूर्ण र नियमित सञ्चालनका लागि प्रदेश सरकारबाट सक्दो पहल गरिने बताए ।

सदस्य मनोनित
यसैबीच चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)ले तीन जनालाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संगठनको शनिबार बसेको कार्यसमिति बैठकले तीन जनालाई कार्यसमिति सदस्यमा मनोनित गरेको अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । मनोनित हुनेमा अल्फा टे«डिङका मधु रायमाझी, विपिन टेलर्सका प्रिन्स विक र श्री गणेश टे«डिङका संजय पाण्डे रहेको संगठनले जनाएको छ ।