March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

नीति कार्यक्रममा युवाका सवाल समेट्न दबाब

भैरहवा– आगामी आर्थिक वर्षको नीति कार्यक्रममा किशोर–किशोरी र युवाका सवाल समेट्न दबाब दिइएको छ । प्रदेशका विभिन्न जिल्लामा गठन भएका युवा संजालका प्रतिनिधिले मुलुकको भविष्य निर्माणसँग जोडिएका युवा लक्षित कार्यक्रम समेटेर बजेट विनियोजन गर्न माग गरेका छन् । यस्तो दबाब र सुझाव दिन रुपन्देहीको तिलोत्तममा बिहीबारदेखि तीन दिने युवा सम्मेलन भइरहेको छ ।

Advertisement

किशोर–किशोरीको क्षमता अभिबृद्धि र नेतृत्व बिकास गर्ने सम्मेलनको उद्देश्य छ । प्रदेश स्तरीय किशोर–किशोरी तथा युवा सन्जालले आयोजना गरेको सम्मेलनमा एक सय भन्दा बढी युवा सहभागी छन् । स्थानीय, प्रदेश र संघ सरकारले आगामी आर्थिक वर्षका लागि बजेट तथा नीति कार्यक्रमको तयारी गरिरहेकाबेला आफ्ना मुद्दा समेट्न दबाब र सुझाव दिन सम्मेलन आयोजना गरिएको हो । सम्मेलन आयोजनाका लागि लुम्बिनी प्रदेश युवा परिषद, स्ट्रोम फाउण्डेशन, कर्णाली एकीकृत ग्रामीण बिकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल कपिलवस्तु, सुनगाभा सामुदायिक विकास केन्द्र रुपन्देही, सिद्धार्थ सामाजिक बिकास केन्द्र कपलिवस्तु, एवीसी नेपाल पश्चिम नवलपरासी, कालिका बिकास केन्द्र नेपाल, प्यूठान, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङ, मानव अधिकार सचेतना केन्द्र रोल्पा र सहयोगी हातहरुको समूह रोल्पाले सहयोग गरेका छन् ।

Advertisement

संजालका प्रदेश अध्यक्ष आरिफ खानले बालबालिका, किशोर र युवाका मुद्दा समाधानका लागि दबाब सिर्जना गर्न यस्ता संजाल जरुरी रहेको बताए । स्थानीय र प्रदेश सरकारले यस्ता संजालको स्वामित्व ग्रहण गरुन भन्ने मुख्य उद्देश्य रहेको उनले बताए । विभिन्न जिल्लामा आधा दर्जन भन्दाबढी सरकारी–गैरसरकारी संघसंस्थाको सहयोगमा संजाल गठन गरिएका छन् । ‘बालबालिका, किशोर किशोरी र युवाका सवाल न्युनिकरणका लागि यस्ता सन्जाल आवश्यक छन्,’ सहयोगी संस्था कर्णाली एकीकृत ग्रामीण बिकास तथा अनुसन्धान केन्द्र (किर्डाक) का कार्यक्रम निर्देशक गौतमराज अधिकारीले भने, ‘पाँच वर्षदेखि सन्जाल गठन र परिचालन भइरहेका छन् । सधै दातृ संस्था क्रियाशील नरहने भएकाले प्रदेश र स्थानीय सरकारले सन्जालको अपनत्व लिनुपर्छ ।’

युवा परिषद लुम्बिनीका अध्यक्ष गोबिन्द केसीले अहिले युवाको युग भएकाले उनीहरुलाई आफ्नो क्षेत्रमा सफलता दिलाउन प्रोत्साहन गर्नुपर्ने बताए । ‘युवाको काँधमा धेरै जिम्मेवारी छन्,’ उनले भने, ‘समाजका रहेका थुप्रै बिकृति अन्त्य गर्न पनि यस्ता सन्जाल जरुरी रहेका छन् ।’ प्रदेशमा यस्ता सन्जालले युवाको आचरण सुधारदेखि सीप बिकासमा भूमिका खेलेकाले युवा परिषदले आगामी दिनमा सन्जाल लक्षित कार्यक्रम लागू गर्ने बताए । त्यसका लागि सन्जालसित सहकार्य गर्ने उनको भनाई थियो ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले सन्जालमा आवद्ध युवाको नेतृत्व क्षमता देखेर आफू प्रभावित भएको बताए । ‘हाम्रो जमानामा यसरी खुलेर आफ्ना समस्या राख्ने कुरा कल्पना बाहिरको थियो,’ उनले भने, ‘सन्जालमा आवद्ध युवाले आफ्ना समस्या खुलस्त राखेको देख्दा खुसी लाग्यो ।’ उनले नयाँ नीति कार्यक्रम र बजेटको तयारी भइरहेका बेला सम्मेलन आयोजना भएकोमा खुसी व्यक्त गरे । ‘तपाईंहरुका समस्या सम्बोधन गर्न प्रदेश सरकारलाई सुझाव दिन्छु,’ उनले भने, ‘प्रदेश राजधानीमा गतिविधि सञ्चालन गर्ने गरि युवा सन्जालको कार्यालय खोल्न सघाउनेछु ।’