May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

सिद्धार्थनगरमा गुट्खा प्रतिबन्ध खुकुलो, आर्थिक लाभको आशंका

भैरहवा– गत पुसमा ३५ दिने सार्वजनिक सूचा निकाल्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सूर्ति तथा गुट्खाजन्य पदार्थ विक्रीवितरण नगर्न अनुरोध गर्यो । सूचना जारी भएको ३५ दिनपछि माघबाट नगरपालिकाले धमाधम सूर्ति तथा गुट्खाजन्य पदार्थ बरामद गर्न थाल्यो । व्यवसायीले अटेरी गरेको भनेर अनुगमन गरी नगरपालिकाले कयौं पसलबाट गुट्खा बरामद गरेको थियो ।

Advertisement

सुरुमा निकै सक्रिय देखिएको नगरपालिका भने अहिले चुपचाप छ । खुलेयाम नगर क्षेत्रभित्र गुट्खा विक्रीवितरण भइरहेको अनुगमन छैन । ‘सुरुमा हाइलाइट हुनलाई जफत गरियो, अहिले गुट्खा व्यवसायीसँगको मिलेमतोमा अनुगमन गर्नै छाडियो’, सिद्धार्थनगर ७ का एक स्थानीय व्यवसायीले भने । नगरपालिकाको निर्णय राम्रो भए पनि प्रभावकारी नभएको उनले बताए ।

गुट्खा विक्रीमा प्रतिबन्ध लगाएपछि केही उद्योगीले नगरपालिकाको आलोचना पनि गरेका थिए । सरकारले नै अनुमती दिएको र सबै किसिमका कर तिर्दासमेत प्रतिबन्ध लगाइएको भन्दै उद्योगीले दुखेसो पोखेका थिए । स्वदेशी उत्पादनको गुट्खा प्रतिबन्धपछि भारतीय बजारबाट भैरहवामा दैनिक लाखौं राजश्व छलीमा गुट्खा भित्रिए । तर, नगरपालिकाले भारतीय अवैध गुट्खा करामद गरेन । बरु, स्वेदशी उत्पादनलाई कडाई गरेर जफत गर्यो ।

अहिले त न स्वदेशी गुट्खा जफत हुन्छ न त अवैध बाटोबाट भित्रिएको भारतीय गुट्खा नै । नगरपालिका आफ्नै निर्णयमा डगमगाएको छ । केही गुट्खा उद्योगीले आएर नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगायतलाई भेट गरे पछि सिद्धार्थनगरमा प्रतिबन्धित गुट्खा खुलेयाम विक्री हुन थालेको हो । ‘सुरुमा हामीलाई गुट्खा जफत गर्न दिनदिनै बजार पठाइन्थ्यो, अहिले केही आदेश छैन’, नगरपालिकाका एक कर्मचारीले भने, ‘गुट्खा व्यवसायीबाट जनप्रतिनिधि र माथिल्लो तहका कर्मचारीले आर्थिक लाभ लिएको हुनसक्छ ।’

अहिले ती कर्मचारीले भनेजस्तै ठ्याक्कै अनुगमन छैन । प्रतिबन्ध लगाउँदा हाईहाई भएको नगरपालिका अनुगमन छाडेर खुलेयाम विक्री गर्न दिँदा आलोचित भएको छ । कर्मचारी, वडाध्यक्ष, वडा सदस्यदेखि स्थानीय बासिन्दा नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीले लाभ लिएर खुलेयाम गुट्खा विक्री गर्न दिएको भन्दै चिया पसलदेखि घरघरसम्म चर्चा गरिरहेका छन् । ‘आर्थिक लाभकै लागि सुरुमा प्रतिबन्धको निर्णय गरियो, पछि कतैबाट दवाव पनि आएको हुनसक्छ, तर मुख्य कुरा मोटो रकम लिएरै अघोषित रुपमा प्रतिबन्ध फुकुवा गरिएको हो’, ती कर्मचारीले भने ।

सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्डली सिटी’ बनाउने भन्दै नगर प्रमुख इश्तियाक अहमद खानले ठाउँठाउँमा भाषण गर्दै हिंड्छन् । उनले गुट्खाको कागज जहाँतही फ्याँक्दा नगरको सौन्दर्यता हराएको बताउँदै आएका छन् । तर, उनले भने जसरी आफ्नो निर्णय कार्यान्वयन गराउन सकेका छैनन् । नगर प्रमुखलाई बाइपास गरेर अन्य केही जनप्रतिनिधि र माथिल्लो तहका कर्मचारीले गुट्खा व्यवसायीसँग साँठगाँठ गरेको आरोप नगरबासीले लगाउँदै आएको छन् ।

गुट्खा विक्री खुकुलो गराउन लाखौं रुपैयाँको चलखेल भएको दावी गरिएको छ । नगर प्रमुख खानले केही दिन अघि भैरहवामा आयोजित कार्यक्रममा गुट्खा प्रतिबन्धलाई कडाई गरिएको दावी गरेका थिए । तर, उनले भनेअुसार कर्मचारी र अन्य जनप्रतिनिधिले सहयोग गरेका छैनन् । आर्थिक लाभकै कारण सबै तै चुप मै चुप छन् । जसले गर्दा नगरपालिका भ्रष्टीकरण हुँदै गएको भन्दै स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।