लुम्बिनी बिकास कोषलाई ‘प्राइभेट कम्पनी’ जस्तै बनाइएकै हो ?


लुमिबनी– संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले लुम्बिनी बिकास कोषका गतिविधिमाथि चरम असन्तुष्टि व्यक्त गरेका छन् । उनी कोषका अध्यक्ष समेत हुन् । उनले कोषले लुम्बिनी क्षेत्र भित्र सञ्चालन गरिरहेका गतिविधि माथि प्रश्नै प्रश्न तेस्रयाएका छन् । बिकास कोषलाई उपाध्यक्ष, सदस्य सचिव, योजना प्रवन्धकको नीजि कम्पनी बनाउन खोजिएको भन्दै मन्त्री किराँतीले प्रश्न उठाएका छन् ।
कुनै पनि संघीय मन्त्रीले लुम्बिनीका बेथितिलाई लिएर यसरी स्पष्टिकरण सोधेको पहिलो पटक हो । सामाजिक सञ्जालमा स्पष्टिकरण पत्र सार्वजनिक गर्दै कोषका पदाधिकारीलाई चित्त बुझ्दो जवाफ पठाउन निर्देशन दिएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक पत्रमा लुम्बिनी विकास कोषलाई विभिन्न १३ प्रश्न सोधेका छन् ।
‘कोषले राय प्रतिक्रियासहित १५ दिनभित्र मन्त्रालय पुग्ने गरी जवाफ पठाउन निर्देशन गर्दछु,’ उनले भनेका छन् । लुम्बिनी विकास कोषको क्षेत्राधिकारभित्र तोकिएका कतिपय काम भइसकेका र कतिपय भइरहेको सम्बन्धमा कोषको हितविपरीत र गैरकानुनी रूपमा काम भएको भन्ने गुनासो र जानकारी आएकाले मन्त्रालयले ७ जेठमा पत्राचार गरी प्रश्न सोधेको मन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत पनि स्पष्ट पारेका छन् ।
मन्त्रालयले पश्चिमी क्षेत्रको महायानी पोखरीभित्र अनधिकृत रूपमा शाक्यमुनि बुद्धको प्रतिमा बनाउन दिएको हो कि होइन भनेर पनि प्रश्न सोधेका छन् । गुरुयोजनाभित्र विहार, मन्दिर, स्तुपा बनाउन आफूखुसी बदनियतपूर्वक जग्गाको प्लट दिइएको हो भने स्पष्ट पार्न भनिएको छ । समय सीमाभित्र काम नगर्ने सोक्यो जापानको सम्झौता खारेज गर्ने तर भौतिक पूर्वाधारको काम नगर्ने कतिपय अन्य गुम्बा र विहारको समयावधि आफूखुसी बढाउँदै लगिएको यथार्थ के हो ? त्यसको विवरण पनिमन्त्री किराँतीले माग गरेका छन् ।
मायादेवी मन्दिर वरिपरि पोखरीमा उभयचर, सरिसृप र वन्यजन्तु मार्ने गरी आधुनिक पोखरी निर्माण गर्न करोडौंको टेन्डर निष्कासन गरी रकम अपचलन गरेको गुनासो आएकाले के भएको हो भनेर मन्त्री किराँतीले प्रश्न गरेका छन् । कोषभित्र के–कति संस्थाले काम गरिरहेका छन्, तिनीहरूको नवीकरणको अवस्था र नवीकरण नगरी काम गरिरहेका छन् भने के–कस्तो विधि, प्रक्रिया र पद्धतिबाट काम गर्न दिइएको हो, सोको जवाफ पनि मन्त्री किराँतीले मागेका छन् । कोषभित्र अहिले के–कस्ता निर्माण परियोजना सञ्चालन भइरहेका छन्, कुन–कुन निर्माण कम्पनीलाई कुन विधिबाट दिइएको हो भनेर पनि लुम्बिनी विकास कोषलाई प्रश्न सोधिएको छ ।
त्यहाँ कुन–कुन संरचना गुरुयोजना विपरीत बनेका छन् ? पछिसम्म फरक नपर्ने गरी विवरण पेस गर्ने र अहिले त्यहाँ अघि बढाइएको ३ अर्बको ठेक्का गुरुयोजनाअनुरूप छ कि छैन ? इस्टिमेट गर्दा गुरुयोजनाविपरीत धेरै विषयमा काम भइरहेकाले के कति कारणले उक्त काम गरिएको हो, विवरण पेस गर्न भनिएको छ । कोषको केन्द्रीय नहरमा मोटरबोट सञ्चालन गर्न कुन कानुन, विधि र प्रक्रियाबाट दिइएको हो ? त्यसले वायु र ध्यनि प्रदूषण गरेको गुनासो आएकाले यथार्थ लेखी पठाउन पनि मन्त्री किराँतीले निर्देशन दिएका छन् ।
गुरुयोजनाको उत्तरी क्षेत्रमा रहेको सारस क्रेन स्याङचुरी मनपरि ढंगले उपयोग भइरहेको गुनासो आएकाले के भएको हो, सो लेखी पठाउन पनि भनिएको छ । यो क्रेन स्याङचुरीका सञ्चालक कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी हुन् । कोषलाई ५ वर्षयता विभिन्न दाताले दिएको रकमको यथार्थ विवरण र सोको परिचालनको अवस्थाबारे पनि मन्त्री किराँतीले प्रश्न गरेका छन् ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष त्रिपाठीले पदको दुरूपयोग गरी विभिन्न संस्थाबाट मासिक तलब बुझ्ने गरेको विषयमा के भएको हो, सोको जानकारी दिन पनि मन्त्री किराँतीले लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन् । हालै निर्माण सम्पन्न अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्र उद्घाटन भएको एक वर्ष नपुग्दै चुहिन थालेकाले के भएको हो ? हस्तान्तरण भएको छ कि छैन ? यसको दायित्व कसमा अन्तरनिहीत छ ? सो खुलाई पठाउन पनि उनले भनेका छन् ।
मन्त्रालयद्वारा प्रश्न सोध्दैमा अत्तिहाल्लु नपर्ने लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । ‘धेरै प्रश्न कोष उपाध्यक्ष र सदस्य–सचिवसँग सम्बन्धित छन्,’ उनले भने, ‘उहाँहरूले तिनको उत्तर दिनुपर्छ ।’ बुद्धजन्मस्थलबाट शान्तिको सन्देश र अध्यात्मिकता फैलाउन जापानका वास्तुकलाविद् प्रो. केन्जो टाँगेले सन् १९७८ मा बनाएको गुरुयोजना ४५ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । उनले ६ वर्ष लगाएर तयार गरेर दिएको गुरुयोजना तत्कालीन लुम्बिनी विकास समितिले १९७८ मा स्वीकृत गरी कार्यान्वयन थालेको थियो ।
अहिले लुम्बिनीभित्र ३ अर्बको विकास निर्माणका काम भइरहेका छन् । विशाल पुल, साँघुरा बाटो बढाउने, गार्डेन, पोखरी र फाउन्टेन पार्क निर्माण भइरहेका छन् । अहिलेको विकास निर्माणले गुरुयोजनाको धज्जी उडाएको छ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र उद्घाटन भएको एक वर्ष नपुग्दै चुहिन थाल्नु दुर्भाग्य भएको स्थानीय प्रहलाद यादवले बताए । स्थानीयले कोषका बारे मन्त्रीले सोधेको प्रश्न सही भएको बताउँछन् । केही पदाधिकारी र कर्मचारी मिलेर कोषमा मनमौजी गरिरहेका छन् । आफूखुशी निर्णय गरेर लाभ लिइरहेका छन् ।

प्रतिकृया दिनुहोस्