June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

अधिकांश उद्योग छैनन् पालिकामा दर्ता

भैरहवा– यहाँको ओमसतिया गाउँपालिकामा अधिकांश उद्योगहरु दर्ता नभएको पाइएको छ । स्थानीय सरकार संचालन ऐनले पालिकाभित्र रहेका उद्योगहरुलाई दर्ताको व्यवस्था गरेको छ । तर, गाउँपालिका क्षेत्र अन्तगर्त रहेका उद्योगहरु दर्ता नभएको पाइएको हो ।

Advertisement

पालिका गरेको अनुगमनमा अधिकांश उद्योगहरु पालिकामा दर्ता नभएको पाइएको थियो । वडा नम्बर १ बाट सुरु गरेको अनुगमनलाई निरन्तरता दिँदै गाउँपालिकाले वडा नम्बर ३ मा रहेका बिभिन्न उद्योग एवम् ब्यवसायिक प्रतिष्ठानहरुमा अनुगमन गरेको थियो । पालिकामा रहेको मनकामना ईट्टा उद्योग, आर्यन ईट्टा उद्योग, बुटवल ग्यास प्रालि, एलिको रसायन ट्रेडर्स, मेगा केमिकल इण्डष्ट्रिज, मेगा केभिको प्याकेजिङ्ग ईण्डष्ट्रिज लगायतको गाउँपालिकाको टोलीले अनुगमन गरेको थियो ।

Advertisement

अनुगमनको क्रममा एलिको रसायन ट्रेडर्स, मेगा केमिकल ईण्डष्ट्रिज, मेगा केभिको प्याकेजिङ्ग ईण्डष्ट्रिज बाहेक अन्य उद्योगहरु गाउँपालिकामा दर्ता नरहेको अनुगमन समिति संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बताइन् । ‘अन्य निकायहरुमा दर्ता रहेको देखिन्छ, तर जहाँ उद्योग सञ्चालनमा छ, त्यही गाउँपालिकामा नै दर्ता नहुनु कानुन विपरीत हो’, उनले भनिन्, ‘पहिलो पटकलाई दर्ता गर्न निर्देशन दिएर छाडेका छौं, यदि दर्ता प्रक्रियामा नआए कारबाही गर्छौं ।’

ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जितकुमार यादवले गाउँपालिकामा सञ्चालित ब्यवसायहरुले मापदण्ड पुरा गरे–नगरेको, दर्ता भए–नभएको, गुणस्तर, मूल्यसूचि लगायतको बिषयमा अनुगमन गरिएको बताए । यादवका अनुसार यसलाई अब निरन्तर रुपमा कडाईका साथ अगाडि बढाइने छ । उनले गाउँपालिका अन्तर्गतका सबै उद्योग, ब्यवसायिक संस्थान लगायत अन्य पसललाई पनि पालिकामा दर्ता हुन आग्रह गरे ।

‘ठूलासाना जुनसुकै उद्योग भए पनि पालिकामा दर्ता हुन अनिवार्य छ’, यादवले भने, ‘यो करको लागि नभई उद्योगहरुको सामाजिक उत्तरदायित्व पनि हो ।’ स्थानीयबासी, वातावरण लगायतमा प्रभाव पार्ने उद्योगहरुले स्थानीय सरकारलाई प्राथमिकता दिन उनले आग्रह गरे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले पालिकामा सबै ब्यवसाय र उद्योग दर्ता गर्न अनिवार्य रहेको बताए । पालिका स्तरमा अनुगमनको जिम्मा उपाध्यक्षलाई छ ।

संयोजकको नेतृत्वमा सरोकारवालालाई साथ लिई अनुगमन सुरु गरिएकाले सबैलाई सहयोग गर्न उनले आग्रह गरे । अधिकार खोज्ने नागरिकलाई करको दायित्व पनि निर्वाह गर्नु पर्ने क्षेत्रीको भनाई थियो । अनुगमन समिति संयोजक समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष चौधरीको नेतृत्वमा गाउँपालिका अध्यक्ष यादव, प्रमुख प्रशासकीय अधिकृत क्षेत्री, वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश सिंह, संघसंस्था तथा राजस्व शाखाकी अमृता पाण्डे लगायत सुरक्षाकर्मी एवम् पत्रकारहरुको संयुक्त टोलीले अनुगमन गरेको थियो ।