May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

पहाडी पाखामा ‘भाइरल रोड’

दाङ– जिल्लाका पहाडी गाउँमा चिल्ला सडक छन् । सडक निर्माणसँगै गाउँघरमा मोटर गुडन थालेका छन् । हरियाली पाखाबीच चिल्ला सडकले गाउँ नै सुन्दर बनाएका छन् । आजभोलि गाउँका ग्वाला पनि कालोपत्र गरिएको सडक किनार हुँदै बस्तुभाउ चराउन लैजान्छन् ।

Advertisement

पहाडी पाखामा निर्माण गरिएका सडकमा सेल्फी खिच्नेको ओइरो लाग्न थालेको छ । त्यसैले त घोराही–हापुर सडकको नाम नै ‘भाइरल रोड’ बनेको छ । यस्ता सडकमा खिचिएका फोटो र भिडियो सामाजिक सञ्जाल मार्फत विश्वभर छरिने गरेका छन् । पहिले कच्ची हुँदा सडकमा यात्रा गर्दा धुलोमैलो भइन्थ्यो । अहिले सडक पक्की भएकाले धुलो खानु पर्दैन । ‘नेपाली पाउडर’ उत्पादन हुन छाडेपछि यात्रा गर्दा मज्जा आउने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

दाङमा घोराही र तुलसीपुर उपमहानगरपालिका अन्तर्गत सहरसित जोडिएका अधिकांश गाउँले सडक कालोपत्रे निर्माण गरिएका छन् । अहिले धेरै सडक पक्कि बन्ने क्रममा छन् । अहिले दाङका मुख्य बजारका सडक धुलाम्य छन् । खाल्डाखुल्डीले यात्रा असहज हुने गरेको छ । यसको तुलनामा गाउँका सडक सुरक्षित र सुन्दर रहेको यहाँका बासिन्दा बताउँछन् ।

स्वच्छ हावा खाँदै सुन्दर वातावरणमा यात्रा गर्न पाइन्छ । अब सडकले शहर होइन, गाउँ चिनाउँछ । सडकले गाउँको सुन्दरता मात्रै बढाएको छैन, गाउँमा चहलपहल र व्यवसायीक कारोवार पनि बढाएको छ । गाउँका सडकमा टिकटक बनाउन र फोटो खिच्न जाने मानिसहरुको भिड लाग्दा दिनहुँ कारोवार बढेको छ । घुम्ती पसलहरु राख्ने र आम्दानी गर्ने क्रम बढ्दै गएको छ ।

घोराही–हापुर भाइरल रोडमा दिनहुँ भिड लाग्छ । शनिबार र बिदाको दिन त मेला लाग्छ । कालोपत्रे सडकले गाउँको कारोवार बढाएको तुलसीपुर–४ हलवारका दलबहादुर नेपालीले बताए । अहिले दुध बेच्न बजार जाँदा, बजारका सामान किन्दा र शहरका मानिसहरु गाउँमा आउँदा आर्थिक कारोबार बढ्दै गएको उनले बताए । ‘पहिले गाउँमा धुलाम्मे बाटा थिए, बजार पुग्न धेरै समय लाग्थ्यो, गाडी चल्दैनथे,’ उनले भने, ‘अहिले जतिबेला पनि बजार पुग्न सकिन्छ, गाडी चल्छन्, अटो चल्छन् । बारीमा फलेको तरकारी एकैछिनमा बजारमा बेचेर आउन सकिन्छ ।’

सडकको बिस्तार र विकासले गाउँलाई शहरसँग जोड्न सहज भैरहेको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । जनताको माग पनि सडकको विकासमा नै हुने गरेको र उपमहानगरले पनि सडकको स्तरोन्नतीमै जोड दिइरहेको उनले बताए । ‘सडकले गाउँको विकासमा टेवा पुगेको छ । तुलसीपुर उपमहानगरपालिकाले नागरिकको मागलाई मध्यनजर गरी सडक निर्माणकै लागि पूर्वाधार विकास प्राधिकरण गठन गरेको छ । तुलसीपुरमा पाँच बर्षे र २५ बर्षे विकासको योजना समेत तयार पारिएको नगर प्रमुख टिकाराम खड्काले बताए । पाँच बर्षमा २ सय र २५ वर्षमा एक हजार किलोमिटर सडक बिस्तारको योजना रहेको उनले जानकारी दिए ।