भैरहवा–मलेशिया २९ जेठदेखि नेपाल वायुसेवाले उडान भर्ने


भैरहवा– नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने भएको छ । निगमले ‘काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान गर्ने भएको हो ।
नेपाल वायुसेवा निगम (नेवानि)ले यही २९ जेठ (१२ जुन २०२३) बाट नियमित उडान गर्ने गरी तालिका समेत सार्वजनिक गरेको छ । विमानस्थल संचालनमा आएको एक वर्षसम्म पनि राष्ट्रिय ध्वजाबाहकले भैरहवाबाट उडान नगरेको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो ।
आलोचनाका बीच अन्ततः नेवानिले भैरहवामा उडान भर्ने निश्चित गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलले पहिलो चरणमा साताको एक उडान गर्ने गरी तय भएको बताए । विमानस्थललाई लक्षित गरी निजी क्षेत्रमा भैरहवा, लुम्बिनी लगायत रुपन्देहीमा अर्बौ लगानी भएको छ । तर, विमानस्थलमा नियमित उडान नहुँदा र पूर्ण क्षमतामा नचल्दा निजी क्षेत्रको लगानी जोखिममा परेको छ । अहिले निजी क्षेत्र निकै निरास छ ।
यस्तो बेला व्यवसायीले निरन्तर सरकारलाई दवाव दिँदै विमानस्थललाई पूर्ण क्षमतामा चलाउन माग गरिरहेका थिए । बुद्ध जयन्तीका दिन पनि निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सिद्धार्थ उद्योग बाणिज्य संघले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएर विमानस्थल पूर्ण क्षमतामा संचालन गर्न माग गरेको थियो । यसबाहेक निजी क्षेत्रमाले धर्ना दिने, विरोध प्रदर्शन गर्ने पटकपटक ज्ञापन पत्र बुझाउँदै विमानस्थल पूर्ण क्षमतामा चलाउन माग गर्दै आएका छन् ।
निरन्तरको माग र दवाव पछि अन्नतः सरकारले हप्तामा एउटा भए पनि जहाज भैरहवाबाट संचालन गर्ने निर्णय गरेको हो । निगमले बजारको माग र निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तब्यमा समेत उडान अनुमति लिई उडान संख्या बढाउने बताएको छ । निगमले यस रुटमा टिकट बुकिङ खुला गरेको छ ।
निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा उडान थाल्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र वाणिज्य विभागका निर्देशकले हालै गरेको मलेसिया भ्रमणका सिलसिलामा तयारीको काम गरेका थिए ।
निगमले क्वालालाम्पुर–भैरहवाको प्रमोशनल भाडादर १२ हजार ७ सय तोकेको छ । क्लावालाम्पुर–भैरहवा–काठमाडौं रुटको प्रमोशनल भाडादर १४ हजार ७२० रुपैयाँ तोकिएको छ । निगमले मलेसियाको जोहोरबारुबाट क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न सटल बस चलाउने भएको छ । यसपछि निगमको जहाजबाट काठमाडौंदेखि क्वालालाम्पुर र जोहोरबारुसम्म र जोहोरबारुबाट काठमाडौं र भैरहवासम्मको टिकट लिई सेवा लिन सक्ने समेत निगमको भनाइ छ ।
विमानस्थल उद्घाटनकै दिन गत जेठ २ बाट कुवेतको जजिरा एयरलाइन्सले भैरहवाबाट सातामा तीन उडान सुरु गरेको थियो । बीच केही समय दैनिक उडान पनि गर्यो । केही समय भैरहवा उडान बन्द गरेको जजिराले बीचमा पुनः सुरु गरेको थियो । अहिले फेरि उडान रोकेको छ । केही समय हिमालय एयरलाइन्सले पनि चार्टर्ड उडान गरेको थियो । उसले पनि भैरहवाबाट हुने उडान रोकेको छ ।








प्रतिकृया दिनुहोस्