June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

नेपालगन्जमा आईसीपी निर्माण अन्तिम चरणमा

बाँके – बाँकेको नेपालगन्जस्थित सीमा नाकामा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण अन्तिम चरणमा पुगेको छ । भारतीय पक्षले आगामी एक महिनाभित्र निर्माण पूरा हुने नेपाली पक्षलाई जानकारी दिएको छ ।

Advertisement

नेपालगन्ज चौलिकादेखि आईसीपीसम्म २ हजार ७ सय मिटर पहुँच मार्ग नेपाल सरकारले निर्माण गरेको हो । त्यस बाहेकका भौतिक संरचना निर्माणको काम भारतीय सरकारले गरिरहेको छ । नेपालगन्जस्थित संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालयका निमित्त प्रमुख विजयकेशर खनालले आइसीपीको अहिलेसम्म करिब ९१ प्रतिशत निर्माण सकिएको जानकारी दिए ।

Advertisement

२०७७ फागुनमा निर्माण कार्य सुरु भएको थियो । २०७९ जेठमा सम्पन्न गर्ने लक्ष्य हो । एकीकृत भन्सार जाँच चौकीभित्र वेयर हाउस, प्रशासनिक भवन, ब्यारेक भवन, पोर्टर रेस्ट हाउस, प्रवेशद्वारलगायतका विभिन्न संरचनाको निर्माण कार्य धमाधम भइरहेको भारतीय पक्षले जनाएको छ । जमुनाह नाकाभन्दा पश्चिमतर्फ नेपालगन्ज उपमहानगरपालिका–१६, जयसपुरस्थित दशगजाको (भारत र नेपाल) दुवैतर्फ एकीकृत भन्सार जाँच चौकी निर्माण भइरहेको छ ।

बन्दरगाह निर्माणसँगै यहाँ एकीकृत सुरक्षा पोस्ट स्थापना गरिने छ । निर्माणपछि आधुनिक भन्सारको काम सुरु हुनेछ । बन्दरगाहसम्म रेलवे सेवा विस्तार हुनेछ । एकीकृत सुरक्षा पोस्टमा नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्त जाँच गर्नेछन् । यसले सुरक्षा व्यवस्था चुस्त बनाउनुका साथै सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ ।

व्यापारी व्यवसायीहरूले पनि बिना झन्झट भारतबाट विभिन्न समान निर्वाध रूपमा आयात गर्न सक्ने छन् । उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष अब्दुल वाहिद अन्सारीले बन्दरगाह निर्माणमा भारतीय पक्षले सोचेअनुरूप कामलाई तीव्रता नदिएको गुनासो गरे । तर, निर्माण कम्पनीले भने तोकिएकै समयमा काम सक्ने दावी गरेको छ ।

आईसीपी निर्माणका लागि नेपाल सरकारले स्थानीयलाई मुआब्जा दिएर जयसपुर क्षेत्रमा ९० बिघा जग्गा अधिग्रहण गरी निर्माणको काम सुरु गरेको हो । त्यस्तै भारत सरकारले पनि आफ्नो क्षेत्रमा जग्गा अधिग्रहण भौतिक संरचना निर्माण गरिसकेको छ । नेपालतर्फको ९० बिघा जग्गामध्ये २७ बिघामा सडक निर्माण गरिएको छ ।