June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

आर्थिक लेनदेन आरोपमा अख्तियार बुटवल प्रमुखमाथि छानवीन गर्न उजुरी

बुटवल– अख्तियारको केन्द्रीय कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, बुटवलका प्रमुख योगेन्द्रप्रसाद पाण्डेमाथि छानविन र कारवाही गर्न दुई वटा रिट निवेदन परेका छन् । पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध परेको आर्थिक अनियमितता र गौतमबुद्ध विमानस्थलले अधिग्रहण गरेको अपुताली जग्गाका सम्बन्धमा परेको मुद्दाका विपक्षीसँग आर्थिक लेनदेन गरी छानवीन नगरेको आरोपमा अख्तियार प्रमुख पाण्डेयविरुद्ध उजुरी परेका हुन् ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष पदमा निर्वाचित भएपछि हालसम्म विभिन्न शीर्षकमा आर्थिक अनियमितता गरी कालो धन र अकुत सम्पत्ति आर्जन गरेकाले भ्रष्टाचार अन्तर्गत कारवाहीका लागिप्रमाण सहित अख्तियारमा उजुरी पेश भएकोमा केन्द्रिय अनुसन्धान कार्यालयमा तामेल गरी फाइल राखिएको हुंदा आवश्यक छानविन गर्न माग गरिएको छ ।

Advertisement

गुप्ताले गाउँपालिकाको भवन निर्माणका क्रममा ७ करोड ४९ लाख रुपैयाँको ठेक्का सम्झौताविपरित कार्यपालिका वैठकको निर्णय नगरी प्रत्येक आर्थिक वर्ष भेरियन्स अर्डर गरी करिब ३ करोड बढी वजेट भुक्तानी गरेर ठेकेदारबाट लाभ लिएको रिट निवेदनमा उल्लेख छ । गुप्ता दोस्रो कार्यकालका लागि निर्वाचित भएपछिको पहिलो कार्यपालिका बैठकबाट उक्त भवन निर्माण वापत एक करोड ४० लाख बक्यौता भुक्तानी भुक्तानी गर्ने निर्णय गराई उक्त रकमबाट अध्यक्ष र कर्मचारीले रकम बांडफांड गरेकाले छानवीनको माग गरिएको छ ।

Advertisement

यस्तै, डिजिटल भिलेज प्रोफाइल ५–५ वर्षमा मात्र अध्यावधिक गर्नुपर्ने नियमविपरित ५ वर्ष नपुग्दै निर्माण गरेर लाखौं रकम भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ । २०७५ मा डिजिटल भिलेज प्रोफाइल बनाएवापत ४० लाख भुक्तानी भएकोमा २०७८–७९मा पुनः २० लाख भुक्तानी गरिएको छ । यस्तै मेड नेपाल नामक गैरसरकारी संस्थाबाट पालिकाका ६ सय ७५ विपन्न परिवारलाई ३४५० रुपैयांका दरले बांड्न प्राप्त रकममा पनि फर्जी काम गरी अनियमितता भएकाले छानवीनको माग गरिएको छ ।

यस्तै, गाउँपालिकाका विपन्न परिवारलाई बांड्न छुट्टाइएको ३० लाख रुपैयांमा पनि अध्यक्ष गुप्ताले अनियमितता गरेको निवेदनमा उल्लेख छ । उक्त रकम आफू निकट करारका कर्मचारीहरु प्रदीप तिवारी,पशुपति गुप्ता,नर्वदेश्वर गुप्ता र आफ्नो गाडी चालक प्रदीप चौधरीको नाममा साढे २ लाखदेखि ४ लाखसम्म पेश्की वापत बुझाएर आफूले लिएको उजुरीमा उल्लेख छ ।

उनीमाथि गाउँपालिकाका दर्जनौं योजनाहरुमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसंग मिलेमतो गरेर ठूलो रकम आर्थिक हिनामिना र गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा पनि उजुरी परेको छ । उजुरीमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम,लेखा अधिकृत शरद न्यौपाने र इन्जिनियर उमेश शर्मालाई अध्यक्ष गुप्ताले प्रभावमा पारेर अनियमितता र भ्रष्टाचार गरेको आरोप छ ।

अध्यक्ष गुप्ताले गाउँपालिकाका नगर प्रहरी रघुनाथ धोवीलाई प्रयोग गरी गाउँपालिकाको सरकारी गाडीमा लागु औषध कारोवार गरेका तर गुप्ता तीन महिनासम्म फरार रही केन्द्रिय नेताहरुको शक्ति प्रयोग र पैसाको आडमा ५ लाख धरौटीमा रिहा भएकाले न्यायालयप्रतिको विश्वासमा संकट उत्पन्न भएको निवेदनमा उल्लेख छ । गुप्ताले प्रयोग गर्ने सरकारी गाडीमा लागु औषध ओसारपसार गरेको कारण गाडीको भित्रको पार्टपुर्जामा असर परेको र धेरै जसो पार्टपुर्जा बदली सोको मोटो रकमको बिल पेश गर्दा प्रमुख प्रशासकीय अधिकृतसँग निकै विवाद भएकाले उक्त विषयमा छानवीनको माग गरिएको छ ।

गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय बुटवलका प्रमुख योगेन्द्र पाण्डेय समेतका कर्मचारीहरुबाट संरक्षण भइरहेको र गुप्ताले खुलेआम रुपमा बुटवल अख्तियार प्रमुख लगायतलाई पैसाको बलमा मिलाई सकेको छु भन्ने गरेकाले पाण्डे र निज मातहतका अनुसन्धान अधिकृत समेतको मिलोमतोको कारण निष्पक्ष छानविन हुन नसकेको निवेदनमा उल्लेख छ ।
यता अपुताली जग्गाको करिब ४ करोड मुआब्जा हत्याउन नक्कली नाता प्रमाणित गराएको सम्बन्धमा अख्तियार प्रमुख पाण्डेसहित ७ जनाविरुद्ध उजुरी परेको छ । जसमा रुपन्देहीको ओमसतिया गाउँपालिका १ का तुफेल पठान, नवलपरासी पाल्हीनन्दन गाउँपालिका–६ का महिला सदस्य तथा कार्यवाहक वडा अध्यक्ष अनिता साहनी, वडा नंं. ६ का अखिलेश यादव, सोही ठाउँका पारस भर, सोही ठाउँका नवलपरासी जिल्ला समन्वय समितिका उपप्रमुख राम दयाल तेली र पाल्हीनन्दन गाउँपालिका–६ का वडा अध्यक्ष कृष्ण चन्द्र यादव छन् ।

सिद्धार्थ नगरपालिका वडा नं १० का स्वर्गीय ठाकुर भरको छोरा स्वर्गीय रमासरे भरको नाममा साविक हाटी बनगाई गाविस भुजौली वडा नं ७ (क) को कि.नं १५२ को चार कट्ठा चार धुर जग्गा गौतमबुद्ध विमान स्थलले प्रतिधुर ४ लाख ५० हजारका दरले मुवाब्जा दिने निर्णय भएको थियो । स्वर्गीय रमासरे भरको मृत्युपछि हक खाने हकदार कोही नभएको निजको दुई मात्र श्रीमती जेठी मालती देवी भर पनि आफ्नै कालगतिले मृत्यु भई सकेको र निजको कान्छी श्रीमतिको मानसिक विमारी भई निजको पनि मृत्यु भई सकेकोले कोही हकदार नभएको उक्त जग्गा नेपाल सरकारको हुने अपुताली जग्गा भएकाले नक्कली नाता कायम गरी करिब ४ करोड मुआब्जा रकम लिन खोजिएकाले उनीहरुमाथि कारवाहीको माग गरिएको छ ।

निवेदनमा तुफेल पठान सहित विपक्षी अन्य ५ जनाको मिलेमतोमा स्वर्गीय रमासरे भर र हाल रामग्राम नगरपालिका वडा नं १७ बस्ने तिर्थी भरिनलाई प्रलोभन दिई नक्कली देवर भाउजुको नाता प्रमाणित गरी जग्गा नामसारीको सिफारिस कार्यवाहक वडा अध्यक्ष अनिता साहनीबाट भएको र वडाध्यक्ष कृष्णचन्द्र यादवले मुआब्जा रकम हात पार्नका लागि जिल्ला मालपोत कार्यालय रुपन्देहीमा गएर सनाखत गरी दिएको उजुरीमा उल्लेख छ । यसमा नाता प्रमाणित हुने कुनै आधार प्रमाण नभएकाले आवश्यक छानविन गर्न माग गरिएको छ । स्वर्गीय रमासरे भरको नामको जग्गाको मुआब्जा रकम निकासा हुनु भन्दा अगावै भूमाफियाहरुले र जनप्रतिनिधि समेतले तिर्थी भरिनलाई जनही १०–१० लाखको कपाली तमसुक गराएका र मुआब्जा वापत रकम निकासाको लागि तुफेल पठानको नाममा अधिकृत वारेशनामा बनाई प्रथम किस्ता निकासा भई निजले आफ्नो खातामा राखेका र तिर्थी भरिनलाई घर खर्चका लागि केही रकम दिई भुमाफियाहरुले आपसमा रकम बाँडफाँड गरेका उल्लेख छ ।

मुआब्जा रकम निकासा हुनु अगावै नाता प्रमाणित सिफारिस र जग्गा नामसारीको सिफारिस गरे वापत पठानले पचास लाख रुपैयाँ जनप्रतिनिधिलाई दिई नक्कली सिफारिस गराएको निवेदनमा उल्लेख छ । रामग्राम नगरपालिका वडा नं. १७ को कार्यालयबाट दुई मितिमा जेठु भरको मृत्यु दर्ता गराइएको र पुनः प्रतिलिपि लिइएको छ । प्रतिलिपि जस्ताको त्यस्तै कार्यालयले उपलब्ध गराउनुपर्नेमा मृत्यु दर्ता प्रमाण पत्र हुँदा हुँदै पनि नाता जोड्नका लागि मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि लिएको र जसमा बाजेको नाम थप गरी किर्ते काम भएको उजुरीमा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय काठमाडौबाट आवश्यक अनुसन्धान गरी प्रतिवेदन पठाउन भनी पत्राचार हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बुटवलका प्रमुख योगेन्द्र पाण्डे समेत अनुसन्धान अधिकृत समेतले विपक्षीसंग आर्थिक मोलमोलाई गरी सत्य तथ्यलाई लुकाई गलत विवरण उल्लेख गरी केन्द्रिय कार्यालय टंगालमा प्रतिवेदन बुझाउने कार्य भएको उजुरीमा उल्लेख छ । नक्कली नाता प्रमाणित र जग्गा नामसरीको सिफारिस सरासर गलत र अन्यायपूर्ण भएकाले सत्यतथ्य छानविन गर्न अख्तियारको केन्द्रीय कार्यालयसँग माग गरिएको छ ।