पाँच दिने भिडियो पत्रकारिता तालिम सुरु


भैरहवा– पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि भैरहवामा पाँच दिवसीय भिडियो पत्रकारिता तालिम सुरु भएको छ । कोटहीमाई गाउँपालिकाको आयोजना तथा लुम्बिनी प्रेस क्लब, रुपन्देहीको समन्वयमा सोमबारदेखि तालिम सुरु भएको क्लबका कोषाध्यक्ष राधेश्याम विश्वकर्माले जानकारी दिए ।
मायादेवी गाउँपालिका–८ स्थित लुम्बिनीरोडमा रहेको क्लबको भवनमा सुरु तालिममा भैरहवाका क्षेत्रका पत्रकारहरुको सहभागिता छ । तालिम उद्घाटन गर्दै कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्नेमा जोड दिए । ‘पत्रकारले कसैको पक्ष वा विपक्षमा लागेर पत्रकारिता गर्न हुँदैन’, उनले भने, ‘निष्पक्ष ढंगबाट सबैका कमीकमजोरीको आलोचना गर्नुपर्छ । बाहेस गरेर होइन् ।’
गाउँपालिकाले सञ्चार क्षेत्रको विकासका लागि सक्दो सहयोग गरिरहेको र आगामी दिनमा पनि निरन्तरता दिने उनले जनाए । उनले काम गर्ने क्रममा कमीकमजोरी हुने र सबै काम एकैपटक गर्न नसकिने बताए । प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले पत्रकारिता बलियो र प्रभावकारी हुनुपर्ने बताए । अहिलेको युगमा संचारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले सत्यतथ्य पत्रकारिता आजको आवश्यकता भएको सुनाए । श्रीवास्तवले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे ।
लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले स्थानीय तहको सकारात्मक सहयोगले प्रेस क्लबमा आवद्ध पत्रकारको क्षमता अभिबृद्धिमा महत्वपूर्ण सहयोग पुगेको जनाइन् । उनले आउँदा दिनमा निरन्तर सहयोगका लागि आग्रह गरिन् । क्लबका निवर्तमान अध्यक्ष नरेश केसीले तालिम फलदायी हुने अपेक्षा व्यक्त गरे । तालिममा कान्तिपुर टेलिभिजनका उपसम्पादक भुवन पाण्डे र नेपाल टेलिभिजनका पूर्व संवाददाता शम्भु पन्तले सहजीकरण गर्ने छन् ।








प्रतिकृया दिनुहोस्