June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

बुटवलमा लागूऔषध प्रयाेगकर्ता खाेज्न गएकाे प्रहरीले जब नक्कली मह बनाउने गिराेह भेट्टायाे…

बुटवल- लागूऔषध प्रयोगकर्तालाई पहिचान गर्ने र पक्राउ गर्ने भन्दै वडा सदस्य, बुटवलस्थित प्रहरी चौकी देवीनरका प्रमुख सई लक्ष्मण न्यौपानेसहितकाे टोली लागूऔषधप्रयोगकर्ता सर्च अभियानमा हिँड्यो। त्यही क्रममा बुटवलकाे सिर्जनानगर पुगेको उक्त टोलीलाई त्यहाँका स्थानीयले नक्कली मह बन्ने गरेको पनि सूचना दिए। त्यसपछि भने लागूऔषध प्रयोगकर्ता समाउन गएको टोली नक्कली मह बनाउने गिरोहको खोजी र पहिचानमा लाग्यो। याे शनिबार रातिकाे कुरा हाे ।

Advertisement

प्राप्त सूचनाअनुसार प्रहरी एक घरमा पुग्यो। त्यहाँ एक क्विन्टलभन्दा बढी नक्कली मह प्रहरीले भेट्टायो। त्यहाँ समातिएका व्यक्तिहरूबाटै प्रहरीथप ३ जना नक्कली मह बनाउने गिरोहसम्म पुग्न सफल भयो। बुटवफ उपमहानगरपालिकाको वडा नं. ११ बुद्धनगर, सिर्जनानगर क्षेत्रमा लागूऔषध प्रयोगकर्ताले स्थानीयलाई दुःख दिएको गुनासो आएपछि प्रहरीले  वडा नं. ११ का वडा सदस्य नहकुल शाही ठकुरीलाई साथमा लिएर सर्च अभियानमा गएकाे थियाे ।

Advertisement

गाँजा खाने, टोलमा होहल्ला गर्ने युवाको हर्कतले आजित भएका स्थानीयले दुःख पाेखेपछि सर्च अभियान सुरु गरिएको सई न्याैपानेले बताए। ‘सुरुमा भेटिएका व्यक्तिले नै अन्य ३ जनाको पोल खुलेपछि हामी राति नै त्यहाँ पुग्यौँ, हामीले ४ घरबाट शनिबार राति मात्र ४ क्विन्टल  बढी नक्कली महसहित ७ जनालाई पक्राउ गरेका हौँ’, प्रहरी चौकी देवीनगरका नायव प्रहरी निरीक्षक (सई) न्यौपानेले पब्लिक कुरासँग भने। 

शनिबार राति नक्कली मह बनाउने व्यक्ति पक्राउ परेपछि आइतबार बिहान सिर्जनानगरमै नक्कली मह बनाउने गिरोहको भागभाग नै भएको उनले बताए। प्रहरी र जनप्रतिनिधिको टोलीले आइतबार बिहान पनि ३ वटा घरबाट नक्कली मह बरामद गरी नष्ट गरेको छ। प्रहरीले दुई दिनमा ७ घरबाट ६ क्विन्टलभन्दा बढी मह बरामद गरी नष्ट गरेको छ भने ७ जनालाई पक्राउ परेको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

घर अगाडि खाडल खनेर गाडेर राखेको अवस्थामा नक्कली मह फेला पारिएको वडा सदस्य ठकुरीले बताए। शनिबार राति नै केही व्यक्ति पक्राउ परेको जानकारी पाएपछि घरमा ताल्चा लगाएर गिरोह भागेका स्थानीयले बताए। नक्कली मह बनाउने सबै भारतीय रहेको बुझिएको छ। उनीहरूले सिर्जनानगरमा घर भाडामा लिएर नक्कली मह बनाउने र गाउँगाउँमा लगेर खुला रूपमा बिक्री वितरण गर्ने गरेको पाइएको छ। 

महजस्तै बनाउन नक्कली महको चाकासमेत भारतबाटै ल्याउने र चिनीमा उक्त चाका पकाएपछि नक्कली मह बन्ने गरेको शाहीले बताए। नक्कली मह बनाउने गिरोहको घरबाट प्रहरीले ५० केजीभन्दा बढी भारतीय चिनी पनि बरामद गरेको छ। ‘मौरीको मह भन्ने गराउन दुई-चार वटा मौरीको घार त्यहीँ राख्ने अनि भारतबाटै मौरीको चाकाजस्तै देखिने बस्तुलाई चिनीपानी बनाएर पगालेपछि महजस्तै दुरुस्तै बनाएर गाउँमा लगेर उनीहरूले बेच्ने गरेको पाइयो’, न्याैपानेले भने। पक्राउ परेका सातैजनामाथि प्रहरीले अनुसन्धान सुरु गरेकाे छ ।