June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

बर्दियाकाे जब्दीघाट पुल निर्माण माग गर्दै सांसद गाैतम अनसनमा

बर्दिया- सांसद सञ्जयकुमार गौतमले सदन र सडकबाट माग उठाए पनि पूरा नभएकाे भन्दै आमरण अनसनमा बसेका छन् । बर्दिया-१ का प्रतिनिधि सभा सदस्य गाैतमले शनिबार अपराह्नबाट अनसन सुरु गरेका हुन् । उनी आज पनि अनसनमै छन् ।

Advertisement

गौतमले विभिन्न १५ बुँदे माग अघि सारेका छन्। त्यसको एक नम्बर बुँदामा जब्दीघाट पुल निर्माण छ । जहाँ उनी अनसन बसिरहेका छन्। भत्किएको पुल नजिक उनी अनसन बसेका हुन् ।

Advertisement

बारबर्दिया नगरपालिकालाई सदरमुकाम गुलरिया जोड्ने बबई नदीको जब्दीघाट पुल सम्पन्न नहुँदै भत्किएकाे थियाे । पप्पु कन्ट्रक्सनले बनाएको यो पुल २०७४ सालमै भत्किएपछि बारबर्दियाका जनताले सदरमुकाम पुग्न सास्ती खेपिरहेका छन्।

अहिले जब्दीघाटमा डुंगा सञ्चालन गर्न अनुमति पाएका ठेकेदारले काठको पुल हालेका छन्, जहाँ एक जना मान्छे तरेको दश रुपैयाँ लाग्छ। साइकल र मान्छे तर्दा २० रुपैयाँ लाग्छ। मोटरसाइकलमा एक जनाको  २५ रुपैयाँ र दुई जनाको ३५ रुपैयाँ लाग्छ। अटोरिक्सा तारेको ५० रुपैयाँ लिने गरिन्छ।

बारबर्दियाको मुख्य बजार जयनगरबाट जिल्लाको सदरमुकाम गुलरिया जानका लागि गाडीको बाटो छैन। जयनगर-गुलरियाको १३ किलोमिटर दूरीलाई पार गर्न गाडी चालकलाई बाँसगढी नगरपालिका वा मधुवन भएर जानुपर्छ।

जब्दीघाटको पुल भाँसिएपछि यसले देशभर चर्चा पाएको थियो। यही जब्दीघाट पुलमुनि नेपाली कांग्रेसका सांसद गौतमले शनिबार बेलुकादेखि आमरण अनसन थालेका हुन्। बर्दिया क्षेत्र नं. १ बाट बामदेव गौतमलाई हराएर चर्चामा आएका सञ्जय गएको चुनावमा यही क्षेत्रबाट निर्वाचित भए।

चुनावको बेलामा गौतमले एक महिनाभित्र जब्दीघाटमा वैकल्पिक बाटोको व्यवस्था गर्ने प्रतिबद्धता गरेका थिए। उनले बेलिब्रिजको कुरा गरेका थिए। अहिलेसम्म यो पूरा भएन। गौतमले सदनमा जब्दीघाट पुलको कुरा उठाएका पनि हुन्, जसकाे सुनुवाइ भएन ।

गौतमले तटबन्ध, सिँचाइ, विगतका बाढीपीडितलाई राहत, मूर्तिहा नाका सञ्चालन, बेमौसमी बाढीले क्षति व्यहोरेका किसानलाई राहत, मल-बीउ, भ्रष्टाचारीलाई कारबाहीलगायतका माग अघि सारेका छन्। एकथरीले भने चुनावका बेलामा आफैंले गरेको वाचा पूरा नभएपछि गौतमले अनसनको नाटक गरेको आरोप लगाएका छन्। गाैतमले सरकारले नसुनेपछि बाध्य भएर अनसन बसेकाे जनाए ।