June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

लुम्बिनी घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित तीन दिवसीय अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सम्पन्न भएको छ । सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट –२०२३ तथा बिमस्टेकको रजत जयन्ती समारोह सम्पन्न भएको हो ।

Advertisement

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल (नाट्टा) को संयोजन तथा लुम्बिनी विकास कोष, नेपाल वायुसेवा निगमको सहकार्य एवं अन्य संघसंस्थाहरुको सहयोगमा लुम्बिनीमा मार्टको दोस्रो संस्करण आयोजना गरिएको थियो ।

Advertisement

सन् २०२४ को मार्च २४ मा तेस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट आयोजना गर्ने लुम्बिनी घोषणा पत्र सार्वजनिक गर्दै मार्ट सम्पन्न भएको हो । सात बुँदे घोषणापत्रमा लुम्बिनी, भगवान बुद्ध (शाक्यमुनि) को जन्मस्थल र शान्तिको मुहानलाई बौद्ध परिक्रमाको सुरुवात बिन्दु र शान्ति गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने, लुम्बिनी र अन्य बौद्ध स्थलहरूमा पर्यटकको बसाइँ विस्तार गर्न विभिन्न गतिविधिहरू सहितको साझा प्याकेज विकास गर्ने, पर्यटकहरूलाई अन्तर्राष्ट्रिय नेटवर्किङ र संलग्न गतिविधिहरूलाई प्राथमिकता दिने उल्लेख छ ।

यस्तै, बुद्धसँग सम्बन्धित क्षेत्रका चार प्रमुख पवित्र स्थलहरु लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरको बौद्ध सर्किटलाई अन्य बौद्ध स्थलहरूमा विस्तार गर्ने, प्रवद्र्धनका लागि साझा कथाहरू विकास गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा कनेक्टिभिटीको प्रवद्र्धन र विस्तार गर्ने लगायतका विषयहरु समेटिएका छन् ।

मार्टले अन्तर्राष्ट्रिय क्षेत्रमा बौद्ध पर्यटन, उत्पादन र गतिविधिहरूको विकास, ब्रान्ड र प्रदर्शन गर्ने वार्षिक कार्यक्रमको रूपमा स्थापित हुने विश्वास गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जनाए । उनले मार्टमा सहभागी विभिन्न देश तथा क्रेता र बिक्रेताहरुको उपस्थितिले लुम्बिनीको पर्यटनलाई थप चलायमान बनाउने समेत बताए । ‘लुम्बिनी आफैमा बुद्ध पर्यटनको केन्द्र हो । मार्टले कोभिड पछि सिथिल भएको पर्यटनलाई पुनर्जागृत गर्न र लुम्बिनीको महत्वलाई थप गजागर गर्न सहयोग पुग्ने हाम्रो अपेक्षा छ’, उनले भने ।

लुिम्बनी विश्वविद्यालयका डीन डा.मानिकरत्न शाक्यले लुम्बिनीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय मार्टले यस बुद्ध दर्शन तथा यस क्षेत्रको प्रचारमा थप सहयोग पुग्ने बताए । कार्यक्रम समापनका अवसरमा पर्यटन विज्ञ प्रा.डा. हिमलाल घिमिरे, नाट्टाका अध्यक्ष रमेश थापा, वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल लगायतले मार्ट नेपालको बुद्ध पर्यटनका लागि एउटा महत्वपूर्ण प्रोडक्टका रुपमा विकास हँदै गइरहेको र यसले नेपालको समग्र पर्यटन चलायमान बनाउने विश्वास व्यक्त गरे । मार्टका अवसरका विभिन्न क्षेत्रका बौद्ध स्कलरहरुले बुद्ध दर्शन, बुद्ध पर्यटन, बुद्धमार्गी देशहरुसँगको सहकार्य लगायका विभिन्न विषयमा सेशनहरु सञ्चालन भएका थिए ।

मार्टको बिहीबार लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेश कुमार त्रिपाठी)ले उद्घाटन गरेका थिए । मार्टमा नेपालसहित भारत, मलेसिया, चीन, कोरिया, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायत देशहरूबाट २८ वटा ट्राभल तथा टूर कम्पनीहरु सहभागी रहेको नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टीपी भुसालले जानकारी दिए । मार्टमा विदेशी ट्राभल–टूर कम्पनीका प्रतिनिधिहरु, नेपाल सरकारका प्रतिनिधिहरु, नेपाल पर्यटन वोर्डका अधिकारीहरु, नाट्टा सदस्य कम्पनी पर्यटन सम्बद्ध संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको र सो अवसरमा स्वदेशी तथा विदेशी विज्ञहरुद्वारा बुद्ध धर्म, बुद्धिष्ट पर्यटन लगायतका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको भुसालले जानकारी दिए ।