दुई करोडको बुद्धिष्ट मार्ट सहभागीबिहीन


लुम्बिनी– भैरहवामा रहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनको आवश्यकता औल्याउन र बुद्ध जन्मस्थलको अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवद्र्धनका लागि यहाँ आयोजित दोस्रो बुद्धिष्ट मार्ट सहभागी बिहीन देखिएको छ । चारवर्ष अघि रुपन्देहीमै पहिलो बुद्धिष्ट मार्ट आयोजना गरिएको थियो । कोरोना महामारी लगायत कारणले दोस्रो आयोजनामा ढिलाई भएको आयोजकले जनाएका छन् । लामो समयपछि र पहिलो मार्टका गुण र दोष अवगत भइसकेको अवस्थामा समेत दोस्रो आयोजना फितलो देखिएको छ । बिहीबार सुरु भएको उद्घाटन बाहेक त्यसपछिका दुईवटा महत्वपूर्ण सत्र सहभागी बिहीन देखिए ।
उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी गर्ने भनिएको थियो । तर, उनी उद्घाटन गर्न आएनन् । उद्घाटनपछि सञ्चालन भएका दुईवटा सत्रमा बुद्धिष्ट क्षेत्रका अनुभवी र बिज्ञ वक्ता थिए । तर, होटल पवन प्यालेसको हलमा सुन्ने मानिस थिएनन् । पर्यटन मन्त्रालय र पर्यटन बोर्डको लगानीमा नेपाल एशोसिएशन अफ ट्राभल एण्ड टुर्स (नाट्टा)ले मार्ट आयोजना गरिरहेको छ । तीन दिने मार्टको सुरुवातमै केही विबाद सार्वजनिक भएका थिए । स्थानीय पर्यटन सरोकारवालालाई बेवास्ता गरिएको जनाउँदैं एक दर्जन स्थानीय व्यवसायिक संघसंस्थाले ‘मार्ट बहिस्कार’को कार्यक्रम ल्याए ।
उनीहरुले लुम्बिनीको पर्सा चोकमा ब्यानर प्रदर्शन गरे । एक दिन अघि आयोजकप्रति असहमति जनाएको पर्यटक सरोकार सञ्जालले उक्त प्रदर्शन गरेको थियो । त्यसपछि पर्यटन सचिवको अगुवाईमा स्थानीय व्यवसायीसित मिलापत्रको काम भयो । लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीका अनुसार पर्यटन मन्त्रालयले आगामी डिसेम्बरमा पर्यटन मेला आयोजनाका लागि दुई करोड रुपैयाँ विनियोजन गर्ने सहमती भएको छ । उक्त सहमति मार्टको उद्घाटन सत्रमा सहभागी भएका स्थानीय सरोकारवाला बिहीबार साँझ रात्रीभोजमा मात्र उपस्थित भए । उनीहरु दिउँसोका सत्रमा सहभागी थिएनन् । त्यसको अर्को कारण आयोजकले स्थानीयलाई गरेको बेवास्ता नै हो ।
आयोजकले सहभागीमा स्थानीयको नामै समेटेका थिएनन् । संघीय राजधानीबाट ल्याइएको सहभागीको सूचीमा स्थानीय पर्यटन सरोकारवाला र पत्रकारको नामै थिएन । संघीय राजधानीबाट आएका सहभागीले घाँटीमा ठूला ठूला परिचय उल्लेख गरिएका कार्ड झुण्डयाएका थिए । सहभागी नहुने देखिएपछि स्थानीयलाई बीआईटीएम लेखिएको ब्याच छातीमा टाँस्न लगाएर प्रवेश दिइएको थियो । स्थानीय सञ्चारकर्मी मात्र कार्यक्रममा बसेका थिए । आयोजकले काठमाडौंकै पत्रकारको कार्ड बनाएर ल्याएका थिए । तर, कार्यक्रममा संघीय राजधानीबाट पत्रकार आएनन् ।
कार्यक्रमका छलफल सत्रमा बिदेशी प्रोफेसर मुख्य वक्ताका रुपमा निम्त्याइएका थिए । ती वक्ताले मञ्चबाट आफ्ना कुरा राख्दा हलका ९० प्रतिशतभन्दा बढि कुर्सी खाली थिए । बुद्धिष्ट पर्यटन बजारीको विषयमा आधा दर्जन वक्ताले आफ्नो बिचार राखे । हलमा सुन्ने सहभागी पनि त्यही हाराहारीमा देखिन्थे । पर्यटन बोर्डले विभिन्न मुलुकबाट २८ टुर्स एण्ड ट्राभल कम्पनी सहभागी हुने जनाएको थियो । कार्यक्रममा राखिएका स्टलमा बिदेशीको उपस्थित न्यून थियो । नेपाली, होटल र एयरलाइन्सका स्टलमा व्यापारिक चासो शून्य देखिएको थियो ।
‘प्लेन चढेर आएका सहभागी समेत कार्यक्रममा देखिएनन्,’ छलफल हेरेपछि निराश एक स्थानीयले भने, ‘यो कार्यक्रम कसका लागि आयोजना गरिएको होला ? अंग्रेजी बोलेर मात्रै अन्तर्राष्ट्रिय बनाइयो ।’
फितलो व्यवस्थापन
आयोजकले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रमका लागि दुई करोड बजेट रहेको जानकारी दिएका थिए । पत्रकारसित ‘फेस’ नै नगर्ने योजनासाथ आएका उनीहरुको तयारी उक्त सम्मेलनमै कमजोर थियो । पत्रकारलाई दुई घण्टा कुराएपछि उपस्थित भएका उनीहरुकाले सुरुमै आफ्नो भनाई थोपर्ने कोशिस गरेका थिए । उनीहरुले बयान गरे जस्तो बिहीबार कार्यक्रम स्थलमा तयारी देखिएन । पाँचतारे होटलमा धेरै लगानीको मार्टको कुनै झल्को थिएन । सहभागी ओसार्न लुम्बिनी बिकास कोषका बिजुली बस तैनाथ थिए ।
होटल प्रवेश गरेपछि कार्यक्रममा सहभागीका लागि खाना र खाजा समेत लुम्बिनी बिकास कोषको लगानीमा व्यवस्थापन गरिएको थियो । दिनभरि कार्यक्रममा सहभागीले पानी समेत पिउन नपाएको गुनासो गरे । कार्यक्रममा हलमा पानीको व्यवस्थापन थिए । ‘पानीका लागि निकै भौतारिनु पर्यो,’ लुम्बिनी बिकास कोषबाट सहभागी एक अधिकृतले भने, ‘यत्रो कार्यक्रम लुम्बिनीमा आयोजना हुनु सकारात्मक हो, तर, व्यवस्थापन फितलो देखियो ।’ सहभागीलाई चियाको समेत व्यवस्था थिएन । एक सत्रपछि अर्को सञ्चालन गरिएको थियो । बीचमा चिया र कुकिज समेत व्यवस्था नगरिएको भन्दैं सहभागीले आक्रोश पोखेका थिए ।
‘होटलमा चिया किनेर खान धेरै महंगो, पहिले पैशा नतिरेसम्म दिँदैन,’ अर्का एक सहभागीले भने, ‘दुई करोड बजेट कता खर्च गरे, पाहुनालाई चियासम्म नखुवाउने ।’ पर्यटन बोर्ड र मन्त्रालयका कर्मचारी यस्ता कार्यक्रमका लागि विभिन्न मुलुक धाइरहेका हुन्छन् । बिदेशमा आयोजना हुने पर्यटन मेलामा सहभागी भइरहेका हुन्छन् । तर, बोर्ड र मन्त्रालयले आयोजना गरेको कार्यक्रमको व्यवस्थापन देखेर रुपन्देहीका व्यवसायीले ‘खिसी’ नै गरे ।








प्रतिकृया दिनुहोस्