लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सुरु, लुम्बिनीको प्रचार–प्रसारमा कोशेढुंगा सावित हुने विश्वास


लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा नेपाल–भारत र तेस्रो मुलुकका गरी करिब एक दर्जन मुलुकका पर्यटन व्यवसायी तथा विज्ञहरुको सहभागितामा तीन दिनको अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सुरु भएको छ । बुद्धस्थलसहित नेपालका धार्मिक तथा अन्य पर्यटकीय गन्तव्यहरुको अन्तर्राष्ट्रियस्तरमा प्रसारप्रसार गर्ने र मुलुकमा पर्यटक भित्र्याउन टेवा पुर्याउने उद्देश्यले ट्राभल मार्ट आयोजना गरिएको हो ।
नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले बिहीबार लुम्बिनीस्थित पवन प्यालेसमा आयोजना गरेको ट्राभल मार्टको उद्घाटन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले नेपाल पर्यटनको प्रचूर सम्भावना भएको मुलुक भएको बताए । उनले बुद्ध लुम्बिनीमा जन्मिनु र लुम्बिनी नेपालमा हुनु सबैका लागि गौरवको विषय भएको जनाए । ‘लुम्बिनीको धार्मिक, अध्यात्मिक, पुरातात्विक र ऐतिहासिक महत्व छ, हामीले यहाँको जति प्रचारप्रसार र प्रबद्र्धन गर्न सक्छौं, त्यसबाट फाइदा पनि लिनसक्छौं’, उनले भने, ‘यसका लागि यस्ता अन्तर्राष्ट्रियस्तरका ट्राभल मार्ट अपरिहार्य छ ।’
संसारका कयौं बौद्धमार्गी भिक्षु–भिक्षुणी, आध्यात्मिक गुरु, शान्तिप्रेमिहरु लुम्बिनी आउन चाहने स्थल भएको बताए । ‘लुम्बिनी जो कोही मासिन आउन चाहन्छ, यसका लागि प्रचारसँगै हामीले अन्य वातावरण बनाउनुपर्छ’, उनले भने, ‘गौतमबुद्ध विमानस्थललाई राम्रोसँग संचालन गर्ने हो भने लुम्बिनीमा लाखौं पर्यटक ओइरिन्छन् ।’ शान्ति, अहिंसा र आध्यात्मको स्थल भएको उनले जनाए । लुम्बिनीको जति प्रचार र प्रबद्र्धन गर्नसक्यो, त्यसबाट यहाँका व्यवसायी, स्थानीयसँगै मुलुकले फाइदा लिने उनको भनाई छ । लुम्बिनी आउने हरेक मानिस आनन्दित भएर फर्कने जनाउँदै उपाध्यक्ष त्रिपाठीले लुम्बिनीको विकासमा सरकार कोष लागि परेको जनाए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवसुरेश अधिकारीले अन्तर्राष्ट्रिय जगतमा लुम्बिनी र यस आसपासका क्षेत्रसँगै मुलुकका धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थलको प्रचारप्रसार र प्रबद्र्धन गर्ने उद्देश्यले मार्ट आयोजना भएको जनाए । ‘मुलुकका हरेक पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचारप्रसार, प्रबद्र्धन गरी अधिक पर्यटक भित्र्याउन मन्त्रालय लागिपरेको छ’, उनले भने, ‘यसैको शिलशिलामा यो कार्यक्रम आयोजना गरिएको हो, यसले लुम्बिनीमा पर्यटकको थप आकर्षण ल्याउने छ ।’ उनले पर्यटन मन्त्रालयले यहाँको प्रचारमा थप टेवा पुर्याउने उद्देश्यले सन् २०२३ को डिसेम्बरमा पनि लुम्बिनीमा फेरि ट्राभल मार्ट गर्ने जनाए । ‘त्यसका लागि हामीले दुई करोड रुपैयाँ बजेट आगामी आर्थिक वर्षमा विनियोजन गर्नेछौं’, उनले भने, ‘स्थानीय व्यवसायीको आयोजनामा उक्त बजेटबाट कार्यक्रम हुनेछ, यसले लुम्बिनीसहित मुलुकका अन्य गन्तव्यको प्रबद्र्धनमा सहयोग पुग्ने छ ।’
बुद्ध जन्मस्थल लुम्बिनीमा यो दोस्रो संस्करणको ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ अर्थात ‘बीआईटीएम’ हो । अधिक सम्भावना भएर पनि अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार अभावमा मुलुकका धेरै पर्यटकीय गन्तव्य अझै ओझेलमा छन् । बीआईटीएम मार्फत् ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको प्रबद्र्धन गर्ने कार्यक्रमको लक्ष्य हो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले मार्टले लुम्बिनी लगायत बुद्धिष्ट सर्किटको विश्वव्यापी प्रचार–प्रसार मार्फत् नेपाललाई पर्यटकीय हव बनाउने सन्दर्भमा गहन छलफल र निचोड निकाल्ने जनाए ।
उनले बोर्डले पर्यटन विकासमा ध्यान केन्द्रित गरेको जनाउँदै उनले यसबाट नै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सकिने बताए । ‘हामीले नयाँ गन्तव्यको विकास गर्दै नेपाललाई विश्वसामु परिचत गराउने काम गरिरहेका छौं’, उनले भने, ‘सोही अनुसार आधुनिक र नवीनतम प्रविधिको सहयोगमा अनुसन्धान गरी नयाँ गन्तव्य र प्रोडक्ट खोजी भइरहेको छ । अहिले आयोजना गरिएका जस्ता ट्राभल मार्टले पक्कै पनि पर्यटकीय विकासमा टेवा पुग्छ ।’ रेग्मीले नेपाल पर्यटनको खानी भएको बताए । लुम्बिनीसँगै अरु गन्तव्यको पनि प्रबद्र्धन गर्दै विकास गरेमा मुलुक समृद्धिको बाटमो हिंड्ने उनको भनाई छ । उनले बोर्डले कर्मचारीको क्षमता वृद्धि, आर्थिक पारदर्शिता र डिजिटल मार्केटिङमा पनि ध्यान दिँदै पर्यटन विकासमा लागेको जनाए ।

मार्टमा विदेशी क्रेता र स्वदेशी–विदेशी विक्रेता गरी एक सयको सहभागिता छ । विदेशी व्यवसायी, एजेन्ट र विज्ञ मात्रै दर्जन देशका ३५ बढी सहभागी छन् । व्यवसायिक स्टल राखेर व्यवसायीले मुलुकका पर्यटकीय गन्तव्यको प्रबद्र्धन गरिरहेका छन् । यस्तै, विज्ञहरुले लुम्बिनीसहित अन्य पुरातात्विक तथा ऐतिहासिक स्थलहरुका बारेमा बहस गर्दैछन् । नाट्टाका केन्द्रिय अध्यक्ष रमेश थापाले कार्यक्रमको उद्देश्य लुम्बिनी र यस आसपासको क्षेत्रको प्रचारप्रसार र प्रबद्र्धन गर्ने रहेको बताए । ‘भारतलगायत विश्वका अन्य मुलुकका यस्ता ट्राभल मार्ट वर्षैपिच्छे हुन्छन् । यसले ती देशको पर्यटकीय विकासमा टेवा दिँदै आएका छन् । लुम्बिनी आयोजित मार्टले पनि समग्र प्रदेशसँगै मुलुकको पर्यटकीय विकास र विस्तारमा योगदान दिनेछ’, उनले भने ।
लुम्बिनीमा पहिलोपटक सन् २०१९ मा ट्राभल मार्ट भएको थियो । यसपटकको ट्राभल मार्टले बौद्ध सर्किटलाई विशेष महत्व दिँदै लुम्बिनीको थप प्रबद्र्धन गर्ने थापाले जनाए । भारतको बोधगयाका पर्यटन व्यवसायी डा.कौलेश कुमारले लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरलाई जोडेर प्रचारप्रसार र विकास गर्नुपर्नेमा जोड दिए । ‘यी गन्तव्यलाई जोडेर बौद्ध पर्यटक मात्रै भित्र्याए पनि दुबै देशले कयौं गुणा फाइदा लिनसक्छन्’, उनले भने, ‘यसका लागि हामी लागि परेका छौं ।’ बैशाख ३० गतेसम्म चल्ने मार्टमा नेपालसहित भारत, चीन, कम्बोडिया, थाइल्याण्ड, श्रीलंका, म्यानमार, मलेशिया लगायतका मुलुकका व्यवसायी, ट्राभल एजेन्ट, विज्ञ सहभागी छन् ।
कार्यक्रममा लुम्बिनीका बारे बहस पैरबी हुनुका साथै विदेशी पर्यटन व्यवसायी मार्फत् पर्यटकलाई लुम्बिनी घुम्न आग्रह गरिने छ । ट्राभल मार्टले बौद्ध पर्यटकीय स्थल र सेवाहरुको अन्तर्राष्ट्रिय क्रेता तथा राष्ट्रिय विक्रेताहरुबीच सेवा तथा व्यापार विनिमयको अवसर समेत प्रदान गर्ने छ । विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीहरुलाई एकै थलोमा जमघट गराउँदा अत्यधिक रुपमा व्यापार विनिमयको अवसर सिर्जना हुने र नेपाललाई बौद्ध पर्यटन केन्द्रको रुपमा स्थापित गर्न पनि टेवा पुग्ने विश्वास आयोजकको छ । यस्तै, विज्ञहरुको सहभागितामा भएको बहसले अन्तर्राष्ट्रिय जगतमा लुम्बिनीसहित मुलुकका अन्य गन्तव्यको महत्व र जानकारी हुनुका साथै प्रचारप्रसारमा टेवा पुगेको अपेक्षा गरिएको छ ।








प्रतिकृया दिनुहोस्