June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

मदन भण्डारी मार्गले दुःख फेरिने आशा

प्यूठान– पूर्व–पश्चिम र मध्यपहाडीलाइ जोड्ने मदन भण्डारी मार्गले दुःख फेरिने आशा जिल्लाका बासिन्दाले गरेका छन् । गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्म ३१ किलोमिटर खण्ड कालोपत्रेका लागि ठेक्का सम्झौता भइसकेको छ । निर्माण कम्पनीले तीन महिनादेखि निर्माण गरिरहेको छ । सडकलाई पहिलो चरणमा चौडा बनाउने, साघुरो स्थानमा जालीमा ढुंगा भर्ने लगायतका काम भइरहेका छन् ।

Advertisement

मदन भण्डारी मार्गले जिल्लाको पूर्वी भेकका बासिन्दाको दुख फेरिने झिमरुक गाउँपालिका–१, सौतामारेका मेघबहादुर नेपालीले बताए । यो मार्ग गुल्मी, प्यूठान र अर्घाखाँचीको बिकासमा कोसेढुंगा बन्ने उनले विश्वास जनाए । मदन भण्डारी लोकमार्ग निर्माण पूरा भएपछि सौतामारे तीन जिल्लाको ट्रान्जिट बन्ने छ । मार्ग जिल्ला हुँदैं निर्माण गरिएकाले यहाँको विकासमा महत्वपूर्ण टेवा पुग्ने नेपालीको भनाइ छ ।

Advertisement

धार्मिक पर्यटनका हिसावले यसलाई महत्वपूर्ण मान्न सकिन्छ । यहाँका कृषिउपजको बजारीकरण, रोजगार पर्यापर्यटन र आवतजावतलाई जोड्ने काम गर्छ । मदन भण्डारी समयमै सम्पन्न भए लुम्वीनी आउने पर्यटकलाई प्यूठानको स्वर्गद्वारी हुँदै गुल्मीको रिडी रेसुंगा घुमाउन ल्याउने सकिने बताए । ‘पर्यटनका हिसावले यो निकै छोटो र फलदायी मार्ग बन्ने छ,’ उनले भने, ‘यसबाट अधिकतम लाभ लिन जान्नु पर्यो । सडक निर्माणको चरणमै रहेकाले अहिलेबाटै योजनाहरु बन्नुपर्छ ।’

गुल्मीको मदाने गाउँपालिका भनभनेका खिमबहादुर जिसी पनि आगनबाटै ७ मिटरको पक्कि सडक निर्माण हुने भएपछि दंग परेका छन् । शिक्षण पेशाबाट अबकास पाएर ब्यापार गर्न थालेका जीसीलाई मदन भण्डारी लोकमार्गले सदरमुकामबाट ५० किलोमिटर टाढा रहेको गुल्मीको मदाने गाउँपालिकालाई सुगम बनाउने आसा पलाएको छ । हिउँदमा धुलाम्मे र बर्षातमा हिलाम्मे सडकमा यात्रा गरेर जिल्ला सदरमुकाम तम्घास पुगेका जीसी अब प्रदेश राजधानी एकै दिनका पुगेर फर्कने सकिनेसम्म बताउँछन् ।

‘यो डाँडामा पनि यति चौडा सडक बन्ला लागेको थिएन्, ठेकेदारले काम चाँडै सके हुन्थ्यो’, उनले भने । सञ्चार माध्यममा ठाउँ ठाउँका बिकासे आयोजना अलपत्र परेको सुनेका जिसीलाई घर अघिकै बाटो पनि यस्तै अलपत्र हुने त होइन भन्ने पनि चिन्ता छ । प्यूठान, गुल्मी र अर्घाखाँचीको संगम स्थल सौतामारेलाई चोक बनाएर यो आयोजना सञ्चालन हुने छ । दक्षिणमा प्यूठान, पूर्व उत्तरमा गुल्मीत गथा दक्षिणमा रहेको अर्घाखाँचीले यो आयोजनाबाट सबैभन्दा धेरै लाभ लिने छ । गुल्मीको सदरमुकाम तम्घासबाट ५२ किलोमिटर, प्यूठान सदरमुकाम खलंगाबाट करिव ४० किलोमिटर र अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट ३८ किलोमिटर दुरीमा रहेको साना पोखरीले अब नयाँ स्वरुप लिने छ ।

जता जाँदा पनि उस्तै सास्ती खेप्नुपर्ने यस क्षेत्रका नागरिकले अब मदन भण्डारी लोकमार्गले बिकासको नयाँ चित्र कोरेको बताए । गाउँमा फलेको साग अब तम्घास बजारमा बिहानै पुग्छ । प्यूठान र अर्घाखाँचीका बजारमा पनि गाडी जाने भएपछि सहजै पुर्याउन सकिने झिमरुक गाउँपालिका १ सौतामारेका माधब जिसीले बताए । ‘पहिले त हामी कर्णालीका जस्तै थियौ । तीन जिल्लाको सिमानमा बस्दा कतै पनि पाएक पर्ने थिएन्, अब त सजिलै पुग्ने आसा पलाएको छ’, उनले भने । गुल्मी प्यूठान सडक कालोपत्रे हुन धमाधम काम भैरहेको छ । सालझण्डी, सन्धीखर्क–ढोरपाटन सडकले तीन जिल्लाको संगम स्थल सानापोखरीमा मदन भण्डारीसँग जोडिन्छ ।

यस मार्गको निर्माण गएको तीन महिनादेखि सुरु भएको मदन भण्डारी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । ठेक्का सम्झौता भएर निर्माणको काम सुरु भैसकेको आयोजना प्रमुख सशांक मिश्रले बताए । ‘गुल्मीको सिमलटारीदेखि प्यूठानको मच्छीसम्म ३१ किलोमिटर सडक कालोपत्रे गर्नेगरी सम्झौता गरेका छौं । ३३ महिनामा काम सक्ने सम्झौता भएको छ’, उनले भने । २०२२ अक्टोबर २२ मा १ अर्ब ४५ करोड ३२ लाख ९९ हजार नौ सय ७ रुपैयामाँ श्रेष्ठ संक्षम जेभीसँग ठेक्का सम्झौता भएको प्रमुख मिश्रले बताए । बस्ती क्षेत्र बाहेक अन्यत्र अहिले काम सुरु भैसकेको छ । बस्ती क्षेत्रको बारेमा पुनः तथ्याकं अपडेट गर्ने काम पनि कार्यालयबाट भैरहेको छ । ‘सडक आसपासमा नयाँ घर बनेकाले कति घर फाल्ने भनेर अपडेट गरिरहेका छौं, एक डेढ महिनामै सबै बिवरण प्राप्त हुन्छ’, उनले भने ।