June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

सरकारले पूर्णता नपाउँदा बजेट तयारी प्रभावित

भैरहवा– लुम्बिनी प्रदेश सरकारले पूर्णता नपाउँदा आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रमको तयारी हुन सकेको छैन । वर्तमान गठबन्धनमा आवद्ध दलमा सरकारमा सहभागिताका विषयलाई लिएर आन्तरिक किचलो भएपछि समस्या भएको छ । सरकारलाई पूर्णता दिने विषयमा पटकपटक छलफल भए पनि निष्कर्षमा पुग्न सकेको देखिँदैन । जसले गर्दा बजेट जस्तो महत्वपूर्ण विषय ओझेलमा परेको हो ।

Advertisement

लुम्बिनीमा नयाँ गठबन्धन अनुसार माओवादीसहित ८ दलको समर्थनमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ८ दलका ५३ प्रदेश सभा सदस्यबाट मुख्यमन्त्री चौधरीले बैशाख १९ गते नै विश्वासको मत पाइसकेका छन् । चैत १४ गते नै अन्य तीन मन्त्रीलाई विना विभागीय मन्त्रीको सपथग्रहण खुवाएका मुख्यमन्त्री चौधरीले कांग्रेस भित्रको किचलो र सरकारलाई समर्थन गर्ने दलको ठुला मन्त्रालयको आकांक्षाले सरकार विस्तारमा सकस परेको हो ।

Advertisement

नयाँ गठबन्धन बनाउने बेलामै गठबन्धनका ठुला दल कांग्रेसले मुख्यमन्त्रीसहित ४ र माओवादीले ३ मन्त्रालय लिने सहमति गरेका छन् । एमाले नेता एवं पूर्वमुख्यमन्त्री लिला गिरीले लुम्बिनीका १३ मन्त्रालयलाई घटाएर १० मा झारेका थिए । त्यसले अहिलेको सरकारमा सहभागी दललाई भागबण्डा मिलाउन अप्ठ्यारो पारेको हो । १० मन्त्रालय मध्ये कांग्रेस माओवादीले ७ मन्त्रालय लिएपछि बाँकी ५ दललाई तीन मन्त्रालयमा मिलाउनु पर्ने बाध्यतामा मुख्यमन्त्री चौधरी छ । जनमोर्चाले सरकारमा नजाने बताइरहेको छ ।

गत बैशाख १५ गते मुख्यमन्त्रीसँगै माओवादीबाट धनबहादुर मास्की, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी र लोसपाबाट सन्तोषकुमार पाण्डे मन्त्री बनेका थिए । मन्त्रालयको भागबण्डा र शक्ति बाँडफाँड नमिल्दा उनीहरुले पनि जिम्मेवारी पाएका छैनन् । प्रदेश सरकारले चैत मसान्तसम्ममा चालु वर्षको बजेट झण्डै ४० प्रतिशत मात्र खर्च गरेको छ । विभागीय मन्त्री अभावमा चालु वर्षको बजेट खर्च बढ्न सकेको छैन् । आर्थिक मामिला मन्त्रालयका उपसचिव एवं मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेले बजेट बनाउने काम आन्तरिक रूपमा भए पनि विभागीय मन्त्री अभावमा नीतिगत निर्णय गर्न अप्ठ्यारो परेको बताए ।