तयार हुँदै सुन्दर दरखसवा पार्क (फोटो फिचर)


भैरहवा– यहाँस्थित सिद्धार्थनगर नगरपालिकाले वडा नम्बर ३ मा सुन्दर र आकर्षक पार्क बनाइरहेको छ । डण्डा नदी किनारको खाडललाई पुरेर पालिकाले आकर्षक दरखसवा पार्क बनाइरहेको हो ।
निर्माण सम्पन्न भएपछि यो भैरहवाकै पहिलो र आकर्षक पार्क हुने छ । भैरहवामा खुल्ला ठाउँ भए पनि सार्वजनिक जमिन नहुँदा स्थानीय, प्रदेश र संघ सरकारले लगानी गर्न चाहेर पनि मनोरञ्जनस्थल बनाउन सकेका छैनन् । नगरपालिकाले भने डण्डा नदीको छेउमा रहेको खाल्डोलाई पुरेर पार्क बनाइरहेको हो ।
‘अब, थोरै काम बाँकी छ, यही आर्थिक वर्षभित्रै पार्क पूर्णरुपमा तयार हुन्छ’, सिद्धार्थनगरका योजना प्रमुख जीवन अर्यालले भने, ‘त्यसपछि नगरबासीलाई वनभोज जाँदा वा मनोरञ्जन गर्नका लागि टाढा जानु पर्दैन ।’ नगरपालिकाले यो दरखसवा पार्क
करिब ५ करोड लागतमा बनाइरहेको छ ।
विभिन्न चरणमा गरेर फरक फरक ५ जना ठेकेदारले निर्माणको कार्य गरेका छन् । सिद्धार्थनगरका यसअघिका नगर प्रमुख हरिप्रसाद अधिकारी र उपप्रमुख उमा काफ्लेको पालामा पार्क निर्माण कार्य सुरु गरिएको थियो । यसमा वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष थानेश्वर पौडेलले पनि मिहनत गरेका छन् । उनले पार्कका लागि जग्गा खोज्ने र बजेट छुट्याउन पहल गरेका थिए ।

पार्क निर्माण सुरु गर्दा डण्डा छेउमा गहिरो खाडल थियो । ‘पहिला १४ फिट खाल्डो पुरेर हामीले काम थालनी गरेका हौं’, अर्यालले भने, ‘यस्तो खाडलमा पनि पार्क बन्छ र भनेर धेरै आलोचना गरेका थिए, अहिले सुन्दर पार्क तयार हुँदैछ ।’ पार्कको पूर्वपट्टीको तयार भइसकेको छ । उत्तरपट्टी केही निर्माणको कार्य छ ।
पार्क अहिले हरियाली बनेको छ । वनभोजका लागि ५ वटा सेड बनाइएको छ । यसमा २ वटा सेड सहरी विकासले बनाएको हो भने बाँकी नगरपालिकाले लगानी गरेको हो । पार्कमा हरिण, गैँडा, चिम्पाञ्जी, याक, चिप्लेटी, गार्डेन, मर्निङवाक एरिया, ट्वाइलेट–बाथरुम, सेल्फीजोन बनाइसकिएको छ । हरियालीले पार्कलाई थप सुन्दर बनाएको छ । पार्क निर्माण सम्पन्न नहुँदै उद्घाटन भने भइसकेको छ ।







प्रतिकृया दिनुहोस्