June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

परीक्षण तीनपटक, नियमित उडान अनिश्चित

गुल्मी– जिल्लास्थित रेसुंगा विमानस्थलमा नियमित उडानको अझैं टुंगो लागेको छैन । तीन पटक परीक्षण गरिए पनि कहिलेबाट नियमित उडान सुरु हुने हो तय भएको छैन । विमानस्थल प्रशासनका अनुसार यसअघि २५ जेठ २०७५ मा तारा एयरले नै कच्ची धावनमार्गमा सफलतापूर्वक परीक्षण उडान गरेको रेसुंगा विमानस्थलमा गत पुस २४ मा तारा एयरले ‘प्रुभिङ फ्लाइट’ गरेको थियो ।

तारा एयरको ‘प्रुभिङ फ्लाइट’ र पछिल्लो टेस्ट फ्लाइट रेसुंगा नगरपालिकाको समन्वयमा भएको हो । पछिल्लो पटक शुक्रबार नेपाल वायुसेवा निगमको नाइटएन–एबीटी जहाजले परीक्षण उडान भरेको थियो । निगम स्रोतका अनुसार रेसुंगा विमानस्थलमा उडान भर्न सक्ने खालको जहाज निगमसँग एउटा मात्र रहेको छ । जसले गर्दा नियमित उडानबारे मिति तोक्न समभव भएको छैन ।

२०६३ सालमा शिलान्यास भएर २०७१ देखि निर्माण सुरु भएको उक्त विमानस्थल १६ वर्षपछि गत पुसमा मात्र निर्माण सम्पन्न भएको थियो । कुल ३३ करोड लागतमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाई ५ सय २० मिटर र चौडाइ २० मिटर छ । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुंगा विमानस्थल समुद्र सतहदेखि १ हजार ५ सय २६ मिटरको उचाइमा छ । पटकपटक परीक्षण उडान भए पनि नियमित उडान नहुँदा आलोचना भइरहेको छ ।

Advertisement