बुटवल–पाल्पा सडकखण्ड अब रातिमा मात्रै बन्द हुने


बुटवल– बुटवल–तानसेन सडकखण्ड अब रातिमा मात्र बन्द हुने भएको छ । दिउँसो र राति बन्द हुँदै आएको सडकखण्ड राजमार्ग सुरक्षा समितिको बैठकको निर्णय अनुसार रातमा मात्रै बन्द हुने भएको हो । सिद्धबाबामा सुरुङमार्ग निर्माणको पूर्व तयारीका काम गर्न भन्दै तीन हप्तायता यो खण्ड दिउँसो र राति गरी दैनिक ९ घण्टा बन्द हुँदै आएको थियो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार गत चैत २१ गतेबाट दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म दिनहुँ सडकखण्ड बन्द हुँदै आएको थियो । उनका अनुसार अब भने सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्र बन्द गर्ने निर्णय गरिएको छ ।
अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म सडकखण्ड बन्द हुने छ । ‘रातदिन सडक बन्द हुँदा आवतजावत गर्ने यात्रुलाई समस्या भयो’, उनले भने, ‘निर्माण व्यवसायीले पनि तदारुकताका साथ काम नगरेपछि सर्वसाधारणले दिउँसोमा सडक बन्द नगर्न आवाज उठाएका थिए । सोहीअनुसार रातिको ६ घन्टा मात्र बन्द गर्ने निर्णय गरिएको हो ।’
यो खण्डमा पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सादेखि बुटवलसम्म खानेपानीको पाइप गाड्ने र नाली बनाउने कामका कारणसमेत यात्रुले सास्ती पाउने गरेका थिए । यात्रुले विकल्पको माध्यमबाट सडक प्रयोग गरेर बुटवल–पाल्पा आउजाउसमेत गरेका थिए ।
सिद्धबाबामा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन सुरुङमार्ग निर्माणको जिम्मा लिएको छ । यसअघि गत फागुन १३ देखि २७ गतेसम्म दैनिक आठ घण्टा सडक बन्द गरेर सुरुङमार्गको पूर्वतयारीका काम शुरु गरिएको थियो । तिनाउ गाउँपालिका–३, रामापिथेकसपार्कदेखि पाल्पाको सिद्धबाबा मन्दिरसम्म १ हजार १२६ मिटर सुरुङ निर्माण हुँदैछ ।
सुरुङमार्ग सहित उक्त क्षेत्रको सडक सुरक्षित बनाउन रकनेट, रकसेड लगायत सडक स्तरोन्नतिका लागि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सुरुङ मार्गको विस्तृत परियोजना प्रस्तावको अन्तिम डिजाइन स्वीकृत हुने क्रममा रहेको छ । सडकदेखि माथिल्लो भागमा रहेका खुकुला ढुंगाहरु खस्दा दुर्घटनाको जोखिम हुने भएकाले राजमार्गको दोभानदेखि तल्लो सिद्धबाबासम्म सवारी साधन आवागमन बन्द गरेर काम भइरहेको हो ।








प्रतिकृया दिनुहोस्