सामुदायिक वनका दुई हजार ४९६ रुख काटिँदै


नेपालगन्ज– बाँकेमा वैज्ञानिक वन व्यवस्थापनका लागि २ हजार ४ सय ९६ रुख काटिन लागिएको छ । बाँकेका विभिन्न १२ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन सुरु भएको हो । तीमध्ये ११ सामुदायिक वनमा पुराना र बुढा रुखको कटान र नयाँ रुखको संरक्षण हुने गरी काम सुरु गरिएको छ ।
जिल्ला डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार स्थानीय रूपमा रोजगारी सिर्जना गर्ने, वनको उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य छ । वैज्ञानिक वन व्यवस्थापन सुरु भएको वनमा स्थानीय उपभोक्ताले पुराना रुख कटानको काम गर्नेछन् ।
वन व्यवस्थापनबाट दाउरा सहज उपलब्ध हुने, स्थानीय वन पैदावरको संरक्षण हुने र वन स्वच्छ र हराभरा हुने विश्वास लिइएको सहायक वन अधिकृत खड्का बताए । वि.सं. २०७३ मा बाँकेका १७ सामुदायिक वनमा लागू भएको वैज्ञानिक वन व्यवस्थापन अहिले १२ सामुदायिक वनमा मात्र लागू भएको छ ।
वन व्यवस्थापनमा कुन सामुदायिक वनमा कति रुख कटान गर्ने भन्ने निश्चित गरेर कटानको काम सुरु भएको जनाइएको छ । पूराना र बुढा रुख कटान र नयाँ विरुवा रोपेपछि वन व्यवस्थापनमा सहजता हुने विश्वास छ । आम्दानी पनि बढ्ने र पूराना रुख काट्दा नयाँ छिटो हुर्किने हुन्छ । यसले मुलुकको राजश्व बृद्धिमा पनि टेवा पुग्ने उनले बताए ।








प्रतिकृया दिनुहोस्