पर्यटकीय विकासका लागि महोत्सव


पाल्पा– उद्योग व्यवसाय चलायमान गराउन र पाल्पाको पर्यटकीय विकास गर्न भन्दै बिहीबारदेखि तानसेनको टुँडिखेलमा पाल्पा महोत्सव सुरु भएको छ । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले उद्घाटन गरे ।
महोत्सव उद्घाटन अघि तानसेन नगरपालिका भित्रका टोल विकास संस्था, संघसंस्था, धार्मिक संघसंस्था, व्यापारिक प्रतिष्ठानको सहभागितामा जनचेतनामूलक र्याली निकालिएको थियो । र्यालीले महोत्सवको प्रचारप्रसार गरेको प्रचार प्रसार संयोजक विदुर घिमिरेले बताए । पाल्पामा साहसिक खेलको सुरुवात गर्ने रुपम कक्षपतिले दुईवटा प्याराग्लाइडिङबाट कार्यक्रमस्थलमा फूलको वर्षा गरेका थिए ।
महोत्सवमा ३ सय स्टल छन् । कुटिर उद्योग, पाल्पाली ढाका उद्योग, बेकरिज र तन्दुरी आइटम, होटल, तथा विभिन्न गार्मेन्ट, कस्मेटिक, खाद्यान्न, अटोमोबाइल लगायतका स्टल व्यवस्थापन गरिएको छ । महोत्सवमा ज्येष्ठ नागरिक एवं फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजना, नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भएको महोत्सवमा जिल्ला समन्वय समिति पाल्पा, तानसेन नगरपालिका, कृषि ज्ञान केन्द्र, पाल्पा र घरेलु तथा साना उद्योग कार्यालय पाल्पा सह–आयोजक छन् ।







प्रतिकृया दिनुहोस्