लुम्बिनीमा विदेशी पर्यटक आगमन उत्साहजनक


लुम्बिनी– लामो समय सुनसान रहेको लुम्बिनी पछिल्ला दिनमा गुल्जार बन्दै गएको छ । पर्यटक आगमन राम्रो भएपछि लुम्बिनी गुल्जार बन्दै गएको हो । लुम्बिनीमा पछिल्लो समय ठूला कार्यक्रम पनि आयोजना भएका छन् । जसले धार्मिक, विदेशी र आन्तरिक पर्यटनको चहलपहल बढेको छ ।
अघिल्लो महिना लुम्बिनीमा रामकथा वाचन भएको थियो । भारतका प्रख्यात आत्यात्मिक गुरु मोरारी वापू लुम्बिनी आएर कथा वाचन गरेका थिए । उक्त कार्यक्रममा विदेशीमात्रै सयौं सहभागी भएका थिए । लगत्तै लुम्बिनीमा पाँच सय बढी भिक्षु बनेका थिए । त्यसपछि चैते मेला पनि लुम्बिनीमा लागेको छ ।
अघिल्लो हप्ता मात्रै लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरका दुई ठूला म्याराथन भए । यसले पनि लुम्बिनीलाई चहलपहल बनाएको छ । लुम्बिनीमा एमालेको भातृ संगठन मदन भण्डारी स्पोर्टस् एकेडेमीले युवा भेला गरेको थियो । पछिल्लो पटक लुम्बिनीमा भइरहेका धार्थिक तथा अन्य कार्यक्रमले पर्यटक ह्वात्तै बढेको लुम्बिनी विकास कोषले जनाएको छ ।
‘लुम्बिनीमा निरन्तर कुनै न कुनै गतिविधि भइरहेका छन्, यसले पर्यटक आगमनमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ । हामी उत्साहित भएका छौं’, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले भने, ‘लुम्बिनीमा निरन्तर कार्यक्रम भइरहँदा विदेशी धार्मिक र घुमन्ते पर्यटक आउने क्रम बढ्छ । यसले मुलुकका लागि राम्रो सन्देश दिन्छ ।’
लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा ९० हजार विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका जनाएको छन् । सन् २०२३ लागेयता ६१ हजार १२२ भारतीय पर्यटकले लुम्बिनी भ्रमण गर्दा तेस्रो मुलुकबाट २८ हजार ८०६ जना लुम्बिनी घुम्न आएको कोषाध्यक्ष भट्टराईले जानकारी दिए । ‘लुम्बिनीमा आउने भारतीयहरु पछिल्ला दिनमा अत्यधिक छन्’, उनले भने, ‘तेस्रो मुलुकका पर्यटक पनि बढ्दो क्रममा छन् ।

यो संख्या अघिल्लो वर्षभरका कुल विदेशी पर्यटकभन्दा ५ हजारले बढी रहेको विकास कोषले जनाएको छ । सन् २०२२ मा २३ हजार ९४२ तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए । यो वर्ष जनवरी महिनामा तेस्रो मुलुकबाट ३ हजार ९८७ पर्यटक लुम्बिनी आएका थिए । फेब्रुअरीमा १२ हजार ५२२ र मार्चमा १२ हजार २९७ विदेशी पर्यटक लुम्बिनी आएको विकास कोषका सूचना अधिकृत हरिध्वज राईले बताए ।
सन् २०१९ को फेब्रुअरीमा २५ हजार र मार्चमा २९ हजार राहदानी वाहक विदेशी पर्यटक लुम्बिनी आएका थिए । २०२० को फेब्रुअरीमा २१ हजार विदेशी पर्यटक लुम्बिनी आएकोका थिए । २०२१ को वर्षभर विदेशी पर्यटक आगमन ११ सय मात्र थियो । तर अहिले पर्यटकहरूको संख्ययामा बिस्तारै सुधार हुँदै आएको राईले बताए ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यले नेपाली र भारतीयका साथै तेस्रो मुलुकका पर्यटकहरू धेरै आउँदा यहाँको लागि लाभदायक हुने बताउँछन् । तर अझै पनि उनीहरू लामो समय नबस्ने, खुलेर खर्च नगर्ने जस्ता कारणले गर्दा स्थानीयहरूले लाभ लिन नसकेको उनले बताए । लुम्बिनीमा फेब्रुअरी, मार्च, अक्टोबर र नोभेम्बर महिना पर्यटक आगमनको राम्रो सिजन मानिन्छ ।
होटेल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले भारतीयसँगै तेस्रो मुलुकका पर्यटकको लुम्बिनीमा चलायमान भएको तर ‘स्टे’ निकै कम रहेको गुनासो गरे । उनले यहाँ आएका पर्यटकहरू अलि लामो समय बसेर कोरोबार पनि वृद्धि भए मात्र उत्साह हुने नत्र संख्या मात्रै वृद्धि भएर आफूहरूलाई लाभ नहुने बताए । उनले कोरोनाकालमा बन्द रहेका होटलहरु पर्यटकहरूको सामान्य वृद्धिले होटल चल्ने अवस्थामा रहको तर लाभ लिन पुरानै लयमा लुम्बिनीमा पर्यटकहरू आउनुपर्ने बताए ।

कोरोना र विश्व अर्थतन्त्रमा परेको असरले लामो समय लुम्बिनी सुनसान जस्तै बनेको थियो । पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । कोरोनाभन्दा पहिलोको जस्तै चहलपहल अझै नभए पनि पछिल्लो समय पर्यटकहरूको संख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायीहरूले थोरै भए पनि राहत महसुस गरेको जनाएका छन् । कोरोनापछि लुम्बिनीमा विश्वभरका बौद्ध धर्मावलम्बीहरू आउने अपेक्षा गरिए पनि विश्वभर देखिएको आर्थिक मन्दी, रुस–युक्रेन युद्धले पनि तेस्रो मुलुकका पर्यटकहरू पहिलेकै संख्यामा आउन सकेका छैनन् ।

प्रतिकृया दिनुहोस्