सूर्तिजन्य पदार्थ धमाधम बरामद गर्दै सिद्धार्थनगर
भैरहवा– ३५ दिने सूचना जारी गरेर नगर क्षेत्रभित्र सूर्तिजन्य पदार्थ विक्रीवितरणमा रोक लगाएको रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाले यसको कार्यान्वयन सुरु गरेको छ । नगरपालिकाले अहिले अटेरी गर्ने व्यवसायिक प्रतिष्ठानबाट धमाधम सूर्तिजन्य पदार्थ बरामद गर्न सुरु गरेको छ ।
ठाउँ–ठाउँमा नगरपालिकाका कर्मचारी खटाएर निर्णय कार्यान्वयन भइरहेको नगर प्रमुख इश्तियाक अहमद खानले बताए । ‘हामीले गुट्खा लगायतका सूर्तिजन्य पदार्थ विक्री गर्न रोक लगाउने गरी पहिल्यै सूचना जारी गरेका थियौं तर अटेर गरेर अझै विक्रीवितरण गरेको पाइएपछि अहिले बरामद गर्न सुरु गरेका हौं’, उनले भने, ‘कुनै पनि व्यवसायीले नगर क्षेत्रमा सूर्तिजन्य वस्तु विक्री गर्नुहुनेछैन भन्ने मेरो विश्वास छ ।’ उनले नगरको निर्णय पूर्णरुपमा कार्यान्वयन हुने हुँदा यसको पालना गर्न नगरबासीलाई अनुरोध गरे ।
नगर कार्यपालिकाको बैठकले गुट्खा प्रकृतिका सूर्तिजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत प्रतिकुल असर परिरहेको निष्कर्ष निकाल्दै गुट्खा प्रकृतिका सूर्तिजन्य प्रदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो पश्चात् कार्यालयले पुस ४ गते गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्रीवितरण नगर्नका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।
सार्वजनिक सूचनाको समयावधि सकिए पश्चात् पनि नगर क्षेत्रमा गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थ विक्रीवितरण नरोकिएपछि निर्णय कार्यान्वयनतर्फ लागिएको खानले बताए । ‘सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्डली सिटी’ बनाउनु हाम्रो उद्देश्य हो’, उनले भने, ‘त्यसै अनरुप गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको हो ।’
निर्णय कार्यान्वयनको क्रममा नगरमा विक्री वितरण भइरहेको गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थ जफत गरी सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय, जनप्रतिनिधि समेत रोहवरमा नष्ट गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए । अहिले नगरपालिकाले निर्णय कार्यान्वयनका लागि अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा सूर्तिजन्य पदार्थ विक्री गरेको पाइए जफत गरिएको छ । जफत गरिएका त्यस्ता वस्तु नष्ट गर्ने गरिएको छ ।
नगरपालिकाको निर्णय कार्यान्वयन भए यसले नगरको सान्दर्यता थप राम्रो बनाउने विश्वास छ । सूर्तिजन्य पदार्थ प्रयोग गरेर जथाभावी फोहोर फ्याँक्दा नगर दुर्गन्धित भइरहेको छ । नगरपालिकाले सूर्तिजन्य पदार्थ विक्रीमा रोक लगाएपछि कतिपय साना व्यवसायीले भने विस्थापित हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस्