April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

३८ कार्यक्रम समेटेर उद्योग व्यापार संगठनले ल्यायो वार्षिक कार्ययोजना

भैरहवा– निजी क्षेत्रको छाता संस्था चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन) ले ३८ वटा महत्वपूर्ण योजना समेटेर वार्षिक कार्ययोजना ल्याएको छ । मर्कामा परेका उद्योगी–व्यवसायीलाई राहत प्रदान गर्नेदेखि भैरहवा मण्डप निर्माणका लागि पहल गर्नेसम्मका योजनाहरु संगठनले आफ्नो वार्षिक कार्ययोजनामा समेटेको छ । सोमबार संगठनले भैरहवामा पत्रकार सम्मेलन गरी वर्षभरी गर्ने कामको फेहरिस्त सार्वजनिक गरेको हो ।

Advertisement

संगठनका अध्यक्ष अनिलकुमार ज्ञवालीकाअनुसार ठूला र राष्ट्रिय गौरवका आयोजनामा प्रभाव पार्ने कार्यक्रमको आयोजना गर्ने, बजार र व्यवसाय प्रबद्र्धनका लागि सडक खाना महोत्सव गर्ने, पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम, व्यवस्थापकीय तथा लेखा तालिम, कर शिक्षासम्बन्धी अन्तरक्रिया, महिला उद्यमी तालिम, कृषिसम्बन्धी छलफल तथा अन्तरक्रिया, युवा परिचालन तथा खेलकुदसम्बन्धी कार्यक्रम गर्ने योजना बनाइएको छ ।

Advertisement

मर्चवार, सियारी र लुम्बिनी शाखाको सम्पर्क कार्यालय व्यवस्थापन र दर्ता नविकरण, बजार अनुगमन तथा सचेतना, संघ–संस्थासँग सम्बन्ध विस्तार, स्मारिका प्रकाशन, २०८० सालको क्यालेण्डर प्रकाशन, उद्योगी–व्यवसायीको समस्याहरुको बारेमा टिपोट गरी प्रतिवेदन बुझाउने, सीमामा परेको समस्याको बारेमा सहजीकरण र होलि मिलन कार्यक्रम गर्ने जस्ता योजना वार्षिक कार्ययोजनामा समेटिएको छ । ‘देख्दा साना भए पनि हामीले अघि सारेका योजनाले यहाँको व्यापार प्रबद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा लिएका छौं’, अध्यक्ष ज्ञवालीले भने । संगठनले चर्को बैंक ब्याजदरका कारण उद्योगी व्यवसायी मर्कामा परेकाले यसकाविरुद्ध आवश्यक पहल गर्ने पनि कार्ययोजनामा समावेस गरेको छ ।

संगठनले विभिन्न अवसरमा शुभकामना आदानप्रदान गर्ने र विभिन्न सामाजिक कार्यहरुलाई प्राथमिकता दिने जनाएको छ । निःशुल्क स्वास्थ्य शिविर, खुल्ला रक्तदान, वृहत नगर सरसफाई तथा सचेतना, वृक्षारोपण तथा संरक्षण, भैपरी आउने प्रकोपमा राहत संकलन र वितरणको व्यवस्था गर्ने पनि जनाएको छ । यस्तै, उद्योग व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनका लागि अवलोकन भ्रमण, सम्बन्धित संघ–संस्था, सरकार र स्थानीय तहमा जिजी क्षेत्रको तर्फदेखि सल्लाह–सुझाव लिनेदिने गर्ने आफूहरुको कार्ययोजना रहेको संगठनका पूर्व अध्यक्ष खिमबहादुर खत्रीले जानकारी दिए ।

सम्पूर्ण उपसमितिको मुल्यांकन, दर्ता नविकरण (आजीवन, एसोसियट र वस्तुगत), उद्योग–व्यापार सम्बन्धी अन्तरक्रिया, दर्ता नविकरण लगायतका काममा सबै उपसमिति परिचालन गर्ने जनाइएको छ । त्यस्तै संगठनको भवन निर्माणका साथै आजीवन सदस्यहरुको सहयोग रकम नामसहित शिलालेखमा लेख्ने, आर्थिक वृद्धि योजना ल्याउने, शिक्षासम्बन्धी छलफल, सूचना तथा सञ्चारसम्बन्धी समन्वय, नेतृत्व विकास तथा अभिमुखीकरण तालिम प्रदान गर्ने संगठनले जनाएको छ ।

संगठनको २०७८ कात्तिक १२ देखि १४ गतेसम्म बर्दियाको ठाकुरद्वारामा सम्पन्न वार्षिक कार्ययोजना बैठकले उपसमिति, क्षेत्रगत उपसमिति र शाखा कार्यालय गठन गरेकोमा त्यस उपसमितिलाई विस्तार गरिएको उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीले बताए । संगठनका अध्यक्ष ज्ञवालीले उद्योगी व्यवसायीको हकहितमा संगठन निरन्तर लागिपरेको बताए ।