April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

विद्युतीय स्कुटर तथा मोटरसाइकलको बिक्री सुरु

भैरहवा– पेट्रोलियम पदार्थको मूल्य बढेर सर्वसाधारणले उपभोग गर्न मुस्किल भैरहेको अहिलेको अवस्थामा भैरहवास्थित ओहम इलेक्ट्रिक टेडिङ्ग प्रालिले बिद्युतबाट चार्ज गरि संचालन गर्न सकिने स्कुटर तथा मोटरसाइकल बिक्रीका लागि नेपाली बजारमा ल्याएको छ ।

Advertisement

भारतको हैदराबादस्थित ओहम अटोमोटिभ प्रालिद्वारा उत्पादित बिद्युतीय स्कुटर तथा मोटरसाइकलको नेपालमैं पहिलो पटक उक्त कम्पनीले सोमवारदेखि बिक्री बितरण तथा प्रबद्र्धन सुरु गरेको हो । हैदराबादको ओहम अटोमोटिभ प्रालिले सन् २०१८ देखि नै बिद्युतीय स्कुटी तथा मोटरसाइकलको उत्पादन गर्दै आएको हो ।

Advertisement

ओहम इलेक्ट्रिक टेडिङ्ग प्रालि भैरहवाका प्रबन्ध निर्देशक रामु पन्थीले भारतीय उक्त कम्पनीद्वारा उत्पादित ९ प्रकारका बिद्युतीय स्कुटी तथा मोटरसाइकलमध्ये नेपालका लागि हाल चार प्रकारका उपलब्ध रहेको र क्रमशः अन्य मोडल पनि उपलब्ध गराइने बताए ।

उनका अनुसार, उक्त कम्पनीका हक, रेसर, इटुगो ब्राण्डका स्कुटी र इभोइस ब्राण्डको मोटरसाइकल उपलब्ध छ । स्कुटी साढे ३ देखि ४ घण्टा समयमा चार्ज पुरा भइ ७० देखि १ सय ७० किमी दुरीसम्म संचालन गर्न सकिने छ । इभोइस ब्राण्डको मोटरसाइकल ६ घण्टामा चार्ज पुरा भइ १ सय ५० किमी दुरीसम्म सचालन हुन सक्छ ।

‘बिद्युतीय सवारी साधनको संचालन गरेर पेट्रोलियम पदार्थका लागि बिदेशिने स्वदेशी पुंजी रोकी अर्थतन्त्र जोगाउने र बातारण स्वच्छ राख्ने उद्देश्यले विद्युतीय सवारी साधनको बिक्री बितरण तथा प्रबद्र्धनमा लागेको हो’, पन्थीले भने । उक्त कम्पनीद्वारा उत्पादित चार पांग्रे सवारी साधन पनि एक बर्ष भित्रै उपलब्ध गराइने उनले बताए ।

इभोइस ब्राण्डको मोटरसाइकल भैरहवादेखि मुस्ताङ (मुक्तिनाथसम्म) को यात्रा सफल रुपमा परीक्षण गरिएको पन्थीले बताए । यो बिभिन्न पाँच रंगमा उपलब्ध छ । ८० किमि प्रतिघण्टासम्म गति रहेको यो मोटरसाइकलको मूल्य ४ लाख ६५ हजार रहेकोमा अहिले बिक्री सुरुवात कार्यक्रमका लागि केही समयसम्म ३० हजार छुट दिइएको पन्थीले बताए ।

स्कुटरहरु पनि बिभिन्न ५ रंगमा उपलब्ध छ । यसको मूल्य ३ लाख ३५ हजार रहेकोमा अहिले छुट ३० हजार दिइएको पन्थीले बताए । त्यसैगरी रेशर स्कुटर पनि बिभिन्न ५ रंगमा उपलब्ध रहेको तथा साढे तीन घण्टामा पूर्ण चार्ज हुने यो स्कुटर एकपटक चार्ज पछि ७५ किलोमिटर भन्दा बढी जान सक्ने र यसको मूल्य २ लाख ४५ हजार रहेकोमा अहिले २ लाख १५ हजारमा उपलब्ध छ ।

त्यसैगरी इ टु गो स्कुटर पनि ५ रंगमा उपलब्ध रहेका छन् । छुटसहित १ लाख ९५ हजार रुपैयाँ मूल्य रहेको यो स्कुटर ४ घण्टामा पूर्ण चार्ज हुने र एकपटकमा ७० किमिसम्म जान सक्छ । सबै स्कुटर तथा मोटरसाइकलहरुमा ३ वर्षको वारेन्टी र १ वर्षको ग्यारेन्टी रहेको र तथा बिक्री र बिक्री पछिका सबै सेवा उपलब्ध हुने जनाइएको छ ।

मोटरसाइकल एवम् स्कुटर चार्ज गर्दा एक पटकमा बढीमा ४ युनिटसम्म विद्युत खर्च हुने बताइएको छ । निकट समयमैं नेपालका विभिन्न ५० स्थानमा डिलर स्थापना गरि भारतीय उक्त कम्पनीका बिद्युतीय ति सवारी साधनको बिक्री बितरण सुरु गरिने जनाइएको छ ।