March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सीमा नाकामा कडाई गर्न उद्योग व्यापार संगठनको माग

भैरहवा– सीमा क्षेत्रबाट हुने अवैधानिक आयात निरुत्साहित गर्न यहाँका उद्योगी–व्यवसायीले माग गरेका छन् । उद्योगी–व्यवसायीहरुको छाता संगठन उद्योग व्यापार संगठन, रुपन्देहीले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

Advertisement

संगठनले विशेष गरी चाडपर्वलाई मध्यनजर गर्दै सीमा नाका बेलहिया लगायत अन्य सीमा नाकालाई व्यवस्थित र कडाइ गर्नुपर्ने माग गरेको छ । संगठनले भारतीय बजारबाट दैनिक उपभोग्य सामान खरिद गर्न जाने उपभोक्ताहरुलाई संक्षिप्त प्रज्ञापन भर्ने बानीको विकास गराउन पनि प्रशासनलाई आग्रह गरेको छ ।

Advertisement

त्यस्तै, न्यूनतम रु. १ हजार भन्दा माथिको सामान ल्याउँदा अनिवार्य भन्सार गराउनुपर्ने, खुला सीमा लगायत भन्सार नाकामा सीसीटिभी क्यामेरा चौबीसै घण्टा चालु अवस्थामा राख्नुपर्ने तथा सीमा नाकामा एकतर्फबाट जाने र एकातर्फबाट आउने व्यवस्था गर्नुपर्ने माग संगठनले गरेको छ ।

विवाह, व्रतबन्ध, चाडपर्व लगायत अनेक बहानामा सीमा पारी भारतीय बजार गएर सामान ल्याउनेको लर्को नै लाग्ने गरेको उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । ‘नेपालमा व्यवसायीलाई दिनभरी पसल कुरेर मात्रै बस्छन्, सीमा पारी सुनौली बजारमा सामान किन्नेको जात्रा जस्तै छ, त्यसैले गर्दा यहाँको व्यापार व्यवसाय पनि चलायमान गराउने वातावरण सिर्जना गर्न आवश्यक छ, नत्र उद्योगी व्यवसायीहरुले सम्पूर्ण कारोबार बन्द गर्ने अवस्था सिर्जना हुन्छ ।’

संगठनको घरायसी सामानको एकद्वार प्रणालीमार्फत छिटो र सहज तरिकाले भन्सार प्रज्ञापनपत्र भरी ल्याउने व्यवस्था मिलाउनुपर्ने, भारतीय बजारबाट प्रवेश गर्दा ल्याइएको सामानको अनिवार्य रुपमा चेकजाँच गराउनुपर्ने र भारतबाट ल्याइएका सबै सामानहरुको (भन्सार गरेका र नगरेका) अभिलेख राख्नुपर्ने माग छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले संगठनको मागलाई सकारात्मक रुपमा लिएको संगठनका महासचिव सचिन रोक्काले बताए । प्रजिअ पाण्डेले उपभोक्तालाई सीमा पारी जान नदिन व्यवसायीले स्वदेशी बजारमा सस्तो मूल्यमा सामान पाइन्छ भन्ने सन्देश दिनुपर्ने बताए । चाडपर्वका नाममा कालोबजारी गर्न नहुने प्रजिअ पाण्डेको भनाइ थियो ।

ज्ञापनपत्र बुझाउन संगठनका अध्यक्ष ज्ञवालीसहित वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र रेग्मी, कृष्णबहादुर गुरुङ, महासचिव रोक्का र कोषाध्यक्ष राममिलन यादव जिल्ला प्रशासन कार्यालय रुपन्देही पुगेका थिए । खुल्ला सीमाको फाइदा उठाउँदै भारतीय बजारबाट दैनिक उपभोग्य सामानको निहुँमा विना भन्सार करोडौंको सामान नेपाल भित्रिरहेको छ । यसबाट स्वदेशी व्यापारी धरासायी भएका छन् भने राज्य करोडौं राजस्व गुमाइरहेको छ ।