September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

१० करोड लागतमा मर्चवारमा विद्यालय भवन बनाइँदै

भैरहवा– रुपन्देहीको मर्चवारस्थित कोटहीमाई गाउँपालिका–५ मझगाँवामा अत्याधुनिक विद्यालय भवन बनाइने भएको छ । मर्चवार आदर्श माध्यमिक विद्यालयमा लुम्बिनी प्रदेश सरकारले विद्यालय भवन बनाउन लागेको हो । बहुवर्षीय आयोजनामा राखेर विद्यालय भवन बनाउन लागिएको हो ।

Advertisement

विद्यालय भवनको शुक्रवार लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँले शिलयान्स गरेका छन् । आर्थिक वर्ष ०८१–८२ मा सम्पन्न हुने गरी ९ करोड ९९ लाख ९० हजारको लागतमा भवन बनाउन लागिएको मन्त्री खाँका स्वकीय सचिव अफजल खाँनले जानकारी दिए । विद्यालय भवन निर्माणका लागि चालु आर्थिक वर्ष ०७९–०८० एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै, दोस्रो वर्षमा पाँच करोड र तेस्रो वर्षमा तीन करोड ४९ लाख ९० हजार रुपैयाँ छुट्याइने योजनामा उल्लेख छ ।

विद्यालयमा छात्राबाससहितको भवन बन्ने छ । यहाँ मावि तहको पठनपाठनका साथै मन्टेश्वरी पनि संचालन गर्ने तयारी छ । भवन तीन तल्लाको बन्ने विद्यालयले जनाएको छ । भवन शिलान्यास गर्दै मन्त्री खाँले मर्चवारको समग्र विकासमा आफू र प्रदेश सरकार लागि परेको बताए । उनले रुपन्देही जिल्ला मुलुकमै सुगम जिल्लाको सूचीमा आउने गरे पनि जिल्ला भित्रकै मर्चवार वर्षौदेखि दुर्गम क्षेत्रको सूचीमा रहनु दुःखद् भएको बताए । ‘मर्चवारलाई अब दुर्गमबाट सुगम बनाउने गरी मैले काम गरिरहेको छु’, उनले भने, ‘म यस क्षेत्रको विकास र नागरिकको जीवनस्तर उकास्न लागि परेको छु ।’

उनले आफूले आफ्नो क्षेत्रमा थुप्रै योजनाहरु संचालन गर्न लागेको भन्दै अगामी दिनमा पनि सबै क्षेत्रमा समान्नतर रुपमा विकास गरिने बताए । ‘मर्चवार चक्रपथ निर्माणको योजना, प्राविधिक शिक्षालय, कन्या विद्यालय लगायत योजनाहरु पाइपलाइनमा रहेका छन्’, उनले भने, ‘यी योजना छिट्टै संचालन हुनेछन् ।’ मर्चवार क्षेत्रमा प्राविधिक शिक्षालय निर्माणका लागि मन्त्रालय अग्रसर रहे पनि जग्गाको अभावका कारण योजना संचालनमा ढिलाई भइरहेको उनले जनाए ।

‘मर्चवार विकासका लागि वर्षौ देखि लागेको छु र सरकारमा रहेकोले क्रमशः जनताको इच्छा तथा आकांक्षा अनुसार काम गरिरहेको छु’, उनले भने, ‘मर्चवारलाई अझै विकासको खाँचो छ, जुन अगामी दिनहरुमा पुरा गर्दै जाने छु ।’ उनले विद्यालयको भवन निर्माण विकास नभएको भन्दै शैक्षिक गुणस्तर सुधार्नका लागि शिक्षक र विद्यालय व्यवस्थापन समितिले अ–आफ्नो दायित्व निर्वाह गर्न निर्देशन दिए । उनले यसअघि एमाले नेतृत्वको सरकार हुँदा मर्चवारको विकास हुन नसकेको आरोप लागाउँदै गठबन्धन सरकार बनेसँगै मर्चवारमा विकासको लहर आएको दावी गरे ।

लुम्बिनी प्रदेशका योजना आयोग उपाध्यक्ष बामदेव क्षेत्रीले मर्चवार ऐतिहासिक महत्व बोकेको क्षेत्र भएको जनाउँदै यहाँको विकासमा विशेष ध्यान दिइने बताए । ‘१० करोडको लागतमा भवन निर्माण भए पनि शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक र विद्यालय व्यवस्थापन समिति नै लाग्नुपर्छ’, उनले भने । उनले मर्चवारलाई कृषि सहरको रुपमा विकास गर्न योजना बनाइरहेको जनाए । क्षेत्रीले मर्चवार ऐतिहासिक महत्व बोकेको ठाउँ भएको जनाउँदै यहाँको विकासमा आयोगले विशेष ध्यान दिएर योजनाहरु समावेश गरिरहेको बताए ।

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार श्रीवास्तवले विगतमा कयौं पटक विद्यालयको भवन निर्माणका लागि कागजमा शिलायन्स गरेर जनता भ्रमित पार्दै आए पनि यसपटक मन्त्री खाँको पहलमा जग्गामै शिलायन्स गरिएकोमा आभार प्रकट गरे । ०७४ निर्वाचनमा मर्चवारका जनताले सही निर्णय लिएकाले वर्तमान समयमा मर्चवारमा विकास देख्न सकिएको भन्दै सरकार र मन्त्रीको प्रशंसा गरे ।

मर्चवार रुपन्देहीको विकट क्षेत्र मानिन्छ । मन्त्री वसिउद्दीनले मातहत र प्रदेशका अन्य मन्त्रालय मार्फत मर्चवारमा विकासका थुप्रै योजना ल्याएका छन् । लुम्बिनी प्रदेशको शिक्षा तथा खेलुकद मन्त्रालयका शिक्षा महाशाखाका प्रमुख मनोज गैरेले मर्चवार शिक्षासँग अन्य थुप्रै क्षेत्रमा पिछडिएकाले मर्चवारलाई लक्षित गरी मन्त्रालयले धेरै काम गरेको बताए । उनले शिक्षाको कुल बजेटको १०–१५ प्रतिशत बजेट मर्चवारका विभिन्न कार्यक्रम तथा योजना संचालनका लागि छुट्याइएको बताए ।

मन्त्री खाँले शुक्रवार कोटहीमाई गाउँपालिका–७ भंगहियास्थित मदरसा मदिनतुल इस्लाम अल सल्फियामा भवनको उद्घाटन तथा शिलान्यास समेत गरेका छन् । करिब दुई हजार आठ सय विद्यार्थी अध्ययन गर्ने उक्त मदरसामा २५ लाख लागतमा भवन निर्माण सुरु गरिएको हो । त्यस्तै, विद्यार्थीहरु विज्ञान संग्रालयको अभावमा अध्यापनमा समस्या भएपछि मन्त्री खाँले सियारी गाउँपालिका–४ छपिया स्थित पब्लिक माविमा दश करोड रुपैयाँको लागतमा विज्ञान संग्रालय र भवनको शिलायान्स गरेका छन् ।