December 10, 2024, Tuesday
२०८१ मंसिर २५

चोरी–निकासी रोक्न नाकामा कडाइ गरिने

भैरहवा– राजश्ज चुहावट नियन्त्रण समितिको बिहीवार बसेको बैठकले रुपन्देहीका विभिन्न सीमानाकाबाट हुनसक्ने चोरी निकासी तथा पैठारी नियन्त्रणलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।

चाडपर्व नजिकिँदै गइरहेको अवस्थामा नेपाल–भारत बीचको खुल्ला मानाको फाइदा उठाउँदै चोरी–निकासी तथा पैठारी हुने जोखिम भएकाले नियन्त्रणका लागि बिभिन्न योजना र रणनीति तयार गर्न समितिको बैठक बसेको हो ।

Advertisement

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको समिति बैठकले चोरी–पैठारी हुन सक्ने शंकास्पद स्थान पहिचान गरेर ती स्थानमा कडाइ गर्ने निर्णग गरेको छ ।

चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि भन्सार गस्तीलाई थप प्रभावकारी तुल्याउने, आन्तरिक राजश्व कार्यालयले बजार अनुगमनलाई चुस्त तथा तीब्र बनाउने, जिल्लास्थित सुरक्षा निकायहरुले भारतीय सीमा नाकाबाट हुन सक्ने चोरी–पैठारीको उच्च जोखिम रहेका स्थानहरुमा प्रभावकारी रुपमा नियमित तथा आकस्मिक गस्ती परिचालन गर्ने रणनीति तयार गरिएको छ ।

‘राजश्व अनुन्धान कार्यालयले सुराकी समेत परिचालन गरी अनुुसन्धान कार्यलाई थप बिस्तार गर्ने छ’, समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पाण्डेले भने ।

सिद्धार्थनगरको पक्लिहवास्थित दशगजासँगै जोडिएर लाग्ने गरेको फरेनिया बजारमा नेपालतर्फबाट मानिस आउजाउ गर्दा चोरी पैठारी तथा राजश्व चुहावटको उच्च जोखिम रहेकाले उक्त स्थानबाट भारततर्फ आउजाउमा लगाइएको रोकलाई निरन्तरता दिने जनाइएको छ । उक्त क्षेत्रबाट हुन सक्ने चोरीपैठारी नियन्त्रण गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ ।