September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

आयमूलक कार्यमा जोड्न तेस्रो लिंगी समुदायको माग

भैरहवा– यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायले आफूसँग भएको कला र सिपको उपयोग हुन सक्ने गरि व्यवसायिक पेशा अँगाल्ने वातावरण स्थानीय तहले मिलाइदिनु पर्ने माग गरेका छन् । यो समुदायलाई पनि आयमुलक कार्यमा जोडेर सरकारले समाजका अन्य समूह सरहसँगै लैजानु पर्ने भनाइ उनीहरुको छ ।

Advertisement

यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको पक्षमा कार्यरत संस्था ‘एक्लोलाई सहारा दिने बृक्ष समूह’ द्वारा भैरहवामा आयोजित सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनीधिसँग सिमान्तकृत यौन अभिमुखिकरण, लैंगिक पहिचान, तथा यौन विशेषताका व्यक्तिहरु–समुदाय सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस खालको माग राखेका हुन् ।

‘हाम्रो समुदायले आफूसँग भएको ज्ञान, सिप तथा कलाको उपयोग गर्नेगरि व्यवसायिक पेशा अँगाल्ने बातावरण अभैm बनेको छैन’, यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायकी आशिका थापाले भनिन्, ‘यो समुदायले आफूसँग भएको ज्ञान र कलाको उपयोग गर्नबाट बञ्चित भएकै कारण कतिपय तेस्रो लिंगीले परिवारको गुजारा चलाउन यौन पेशा अँगाल्न बाध्य हुनु परेको छ । कसैले पनि चाहेर यौन पेशा अँगाल्न चाहँदैन ।’

राज्यले समाजका आदिबासी, जनजाती, मधेशी, दलित, महिला, मुस्लिम, पिछडाबर्ग लगायतलाई आयस्तर बृद्धि गर्नका लागि दिएको सुविधा तथा अबसर आफूहरुको समुदायलाई नदिएको गुनासो उनले गरिन् । ‘खोइ हामीलाई पनि जागिर, अध्ययन लगायतका क्षेत्रमा आरक्षणको व्यवस्था ?’ प्रश्न गर्दै उनले भनिन्, ‘हामी पनि अन्य व्यक्ति सरह विपरित लिंगी आमा वावुकै सन्तान हौं । तेस्रो लिंगी भएर जन्मिनुमा र जन्मेपछि तेस्रो लिंगी हुनुमा हाम्रो दोष होइन ।’

तेस्रो लिंगी समुदायलाई पनि सरकारले उचित लगानीसहित माछा पालन, पशुपालन, कृषि लागायतका आयमुलक क्षेत्रमा संलग्न गराउने योजना ल्याउन उनीहरुले आग्रह गरे ।

यो समुदायलाई रोजगारीमा कोटा निर्धारण गरि समान अवसर दिइनु पर्ने, सिपमुलक तालिमको व्यवस्था राज्यपक्षबाट गरिनु पर्ने, संविधानमा समलिंगी तथा तेस्रो लिंगीको हक अधिकार भए बमोजिम कानुन बनाइ व्यवहारमा लागु गरिनु पर्ने, स्थानीय स्तरमा समलिंगी तथा तेस्रो लिंगीलाई पनि प्रतिनिधित्व गराइनु पर्ने, स्थानीय तहमा लैंगिकमैत्री बजेट बनाउँदा यो समुदायलाई पनि छुट्याउन नहुने, यथासिघ्र समलिंगी विवाहको कानुन बनाउनु पर्ने, स्वास्थ्य संस्थाहरुले विभेदरहित नीतिको अवलम्बन गर्नु पर्ने र स्वास्थ्य मन्त्रालयबाट यौन अंग परिवर्तनका लागि व्यवस्था गरिदिनु पर्ने माग यो समुदायले राखेको छ ।

एक्लोलाई सहारा दिने बृक्ष समूह कार्यालय प्रमुख मनिला न्यौपानेले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पक्षमा संविधानमा उल्लेख गरिएको व्यवस्था पनि कानुन र व्यवहारमा स्विकार नगरिएको बताइन् । ‘सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिइसक्दा पनि एघार बर्षसम्म समलिंगी विवाहको कानुन बन्न सकेको छैन’, उनले भनिन्, ‘मतदाता नामावलीमा उल्लेख गरिए पनि यस समुदायलाई राजनीतिमा भोटरको रुपमा मात्र प्रयोग गरिएको छ ।’

सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खानले नगरपालिकाले कुनै जात, धर्म, लिंग र समुदया विशेषलाई भन्दा आवश्यकताका आधारमा आयमूलक क्षेत्रमा जोड्ने बताए । उनले यो समुदायको बृद्धि, विकास र योजनाहरु समावेस गर्न प्राथमिकता दिने जनाए । उपप्रमुख उमा अधिकारी, वडा नम्बर–१३ वडाध्यक्ष सोमबहादुर गुरुङले नगर र वडाहरुमा हुने तालिममा तेस्रो लिंगी समुदायलाई पनि सहभागी गराउने प्रतिबद्धता व्यक्त गरे । उनीहरुले हरेक काममा आफूहरुले यो समुदायलाई समेट्ने जनाए ।