September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

कटानले नदी किनारका बस्ती असुरक्षित

बर्दिया– प्रत्येक वर्ष कर्णालीले किनारका बसोबास र खेतीयोग्य जमिन कटान गर्न थालेपछि बर्दियाको राजापुर क्षेत्रका तटीय बासिन्दा घरबारबिहीन हुन थालेका छन् । जग्गा कटान हुँदै बग्न थालेपछि घरवासविहीन हुँदै गएका छन् । १६ वर्ष यता करिब ५ सय परिवार कटानका कारण विस्थापित भइसकेका छन् ।

Advertisement

नदी कटान रोकिएन भने सयौं परिवार विस्थापित र जग्गाबिहीन बन्दै जाने राजापुर–१ टिहुनीका सत्तु चौधरीले बताए । उनका अनुसार दुई वर्ष यता उनको तीन बिघा बढी जग्गा कर्णाली नदीले कटान गरि बगायो । आम्दानीको मुख्यस्रोत खेती भएका चौधरीका परिवारको जग्गा बगाएपछि सरकारबाट कुनै क्षतीपुर्ती नपाएको उनी बताउँछन् ।

यस वर्ष पनि कर्णालीले यहाँ कटान शुरु गर्न थालेको छ । सत्तु जस्तै सोही गाउँका तुलाराम थारुको तीन वर्ष यता दुई बिघा बढी जग्गा कणाली नदीले बगाई सकेको छ । उनि संग घरवास बाहेक थोरै जग्गा भए पनि आम्दानीको स्रोत नभएपछि मजदुरी गर्न बाध्य छन् । कर्णाली नदी कटानले जिल्लाको राजापुरमा हरेक वर्ष किसानका खेती योग्य जग्गा बगाउन थालेको छ ।

चौधरी र थारु पात्र मात्रै हुन्, उनीहरु जस्तै सयौ किसान नदी कटानले वर्षेनी खेती योग्य जमिन बगाउन थालेपछि कामको खोजीमा अन्यत्र पलायन हुन थालेको स्थानीयले बताए । राजापुर नगरपालिकामा मात्रै ०६४ सालपछि १ हजार १ सय बढी खेती योग्य जमिन बगाएको नगर प्रमुख दिपेश थारुले बताए ।

‘कर्णाली नदी कटानले विस्थापित पनि धरै छन्’, उनले भने, ‘कर्णाली नदी व्यवस्थापन कार्यालयमा सरकारले पर्याप्त बजेट निकासा नगर्दा तटबन्ध नगर्दा कटान र बाढी पस्ने गरेको छ । गेरुवा गाउपालिकामा सोही अवधीमा करिब हजार बिघा जग्गा बगाएको छ ।’

भारतले राप्ती नदीमा नेपाली भूमिसंगै जोडेर कलकलवा मार्जिनल तटबन्ध निमार्ण गरेपछि तटीय क्षेत्रका सयौं विगहा जग्गा कटान र पटानमा पर्नुका साथै दर्जन बढी नेपालका दर्जन बढी गाउँ बिस्थापित भए । जसका कारण भारतीय पक्षको बिरोध नेपालमा सुरु भयो । बिरोध मत्थर पार्न भारतीय पक्षले राप्ती नदीको कटान नियन्त्रण गर्न दायाँबायाँ २८ किलो मिटर पक्की तटबन्ध निमार्ण गर्ने भन्दै प्राविधिक टोली पठायो ।

तर, भारतले प्रतिबद्धता जनाए अनुसार करिव दुई दशक बितिसक्दा पनि राप्ती नदीमा पक्की तटबन्ध निमार्ण गरेन नै उल्टो थप डुबान हुने गरी सीमा तटबन्धजस्तो पक्की सडक निमार्ण गरेको छ । भारतले सन् १९९९ देखि २००० मा नेपाली भूमिसंगै जोडेर निमार्ण गरेको साढे २२ किलो मिटर लम्बाई, ५ मिटर चौडाई र ५ मिटर उचाई भएको कलकलवा मार्जिनल तटबन्धलाई हाल सीमा सडकसंग जोडिएको छ ।

‘राप्ती नदीमा तटबन्ध निमार्णको माग गर्दै आएको स्व.प्रधानमन्त्री गिरीजाप्रसाद कोईराला सरकारको पालादेखि हो । तर, नदीमा तटबन्ध भएन, उल्टो कलकलवा मार्जिनल तटबन्धलाई भारतले सीमा सडकसंग जोडिसकेको छ,’ राप्ती नदी पीडित संघर्ष समितिका अध्यक्ष जगदिशबहादुर सिंह भन्छन्, ‘कलकलवा बाँधका कारण पीडित थियौ नै सीमा सडक बनेपछि डुबान, कटान र पटानको समस्या झन बल्झिएको छ ।’