बेलहिया सडक शनिबारदेखि निर्माण सुरु गर्ने ठेकेदारको प्रतिबद्धता
भैरहवा– लामो समय अलपत्र बेलहिया–बुटवल व्यापारिक मार्ग अन्तर्गत रुपन्देहीको बेलहिया नाका क्षेत्रको सडक शनिबारदेखि निर्माण सुरु गर्ने ठेकेदारले प्रतिबद्धता जनाएको छ ।
बेलहिया–बुटवल व्यापारिक मार्ग आयोजना अन्तर्गत निर्माणधिन सडक अलपत्र पारिएपछि सोमबार ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सन सहित सरोकारवालाहरुको बैठकले बुटवल र सिद्धार्थनगर क्षेत्रमा अलपत्र रहेको सडक छिट्टै सम्पन्न गर्नुपर्ने सहित प्रमुख प्रशासकिय अधिकृतहरुको संयोजकत्वमा विशेष अनुगमन सहजीकरण समिती निर्माण गरिएको थियो ।
सोही निर्णय अनुसार मंगलबार सिद्धार्थनगर नगरपालिकामा सडक निर्माणका लागि बसेको बैठकमा ठेकेदार कम्पनीका प्रतिनिधि सुमित श्रेष्ठले आफूले साउन २८ गते (शनिवार) देखि निर्माणकार्य सुरु गर्ने प्रतिवद्घता जनाए ।
उनले साईट क्लियर भएको स्थलमा आफूले निर्माण सुरु गर्ने र दशैँसम्म सम्पन्न हुने गरि काम गर्ने बताए । सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खानले मुलुक तथा नगरको सौन्दर्यकरणका लागि निर्माण व्यवसायीको पनि भूमिका रहने भएकाले भूमिका खेल्न आग्रह गरे ।
उनले फूलमाला लगाएर पठाउन सक्ने गरी गुणस्तरीय काम गरी छिटो सम्पन्न गर्न आग्रह गरे । विशेष अनुगमन सहजीकरण समितीका संयोजक सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यलले शनिवारदेखि सुरु हुने सडक निर्माणको आफूहरुले अनुगमन गर्ने र नागरिकलाई सास्ती नहुने गरी निर्माण सम्पन्न गर्न आग्रह गरे ।
बैठकले साइट क्लियर भएको स्थानमा साउन २८ गतेदेखि सब–बेसको कार्य गर्ने, साईट क्लियर नभएको स्थानमा नगरपालिका लगायत सरोकारवाला निकायहरुबाट आवश्कता अनुसार यथोचित सहयोग तथा समन्वय गर्ने निर्णय भएको समिति संयोजक एंव प्रमुख प्रशासकीय अधिकृत पैड्यालले बताए ।
त्यस्तै निर्माण व्यवसायीले पेश गरेको कार्य योजनाअनुसार समयमै कार्य पूरा गर्ने र आयोजना कार्यालयले प्रभावकारी अनुगमन गर्ने, समितीको बैठक कम्ती १५ दिनमा बस्ने निर्णय भएको उनले बताए ।
प्रतिकृया दिनुहोस्