March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

एक अर्बमा च्याउ खेती, भारतीय च्याउ प्रतिस्थापन गर्ने लक्ष्य तर चुनौती

भैरहवा– रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मा रहेको अष्ट्रिच नेपाल प्रालिले व्यवसायिक च्याउ खेती गरिरहेको छ । एक अर्ब लगानीमा च्याउ खेती सुरु गरिएको संचालकले बताएका छन् । प्रालिले ४५ वटा कक्षमा वातानुकुलित प्रणाली जडान गरेर च्याउ फार्म संचालनमा ल्याएको हो । फार्मको दैनिक १० टन च्याउ उत्पादन गर्ने क्षमता छ । फार्मले दैनिक आयात भइरहेको भारतीय च्याउ प्रतिस्थापन गरी स्वदेशी उत्पादन नै उपभोक्ताको भान्सासम्म पुर्याउने लक्ष्य लिएको छ ।

Advertisement

१५ वर्ष अघि नेपालमै पहिलोपटक अष्ट्रिच पालन सुरु गरेका रुपन्देहीका किसान सीपी शर्माले व्यवसायिक डल्ले च्याउ खेती पनि सुरु गरेका हुन् । भूकम्प, नाकाबन्दी, तराई–मधेश आन्दोलन र कोरोना महामारी जस्ता कारणले अष्ट्रिचको मासु विक्री न्युन भयो । त्यसपछि अष्ट्रिच पालनको विकल्पमा शर्माले अष्ट्रिचको गोबरबाट डल्ले च्याउ खेती सुरु गरेको बताए ।

Advertisement

‘अष्ट्रिच हुर्काउन र व्यवसाय टिकाइराख्न समस्या भयो’, उनले भने, ‘त्यसपछि च्याउ खेती सुरु गरेँ । च्याउ विक्री गरिरहेको छु भने यसको जरा अष्ट्रिचलाई खुवान प्रयोग भएको छ ।’ अत्याधुनिक प्रविधिबाट च्याउ खेती गरेका शर्माको फार्मबाट दैनिक उत्पादन क्षमता नेपालकै सबैभन्दा धेरै छ ।

फार्मबाट उत्पादित च्याउको गुणस्तरीयतासँगै स्वाद पनि राम्रो भएको उनको दावी छ । यहाँबाट उत्पादित च्याउ नेपालमा मुख्य बजारमा पठाउने गरिएको छ । ‘हाम्रो बजार नेपालभर हो, खासगरी काठमाडौंमा बढी मात्रामा पठाउने गरेका छौं’, उनले भने ।

नेपालमा शर्मा जस्ता धेरै किसानले च्याउ उत्पादन गर्दै आएका छन् । तर, बीउलगायत कच्चा पदार्थ आयात गरेर आयातित च्याउसँग प्रतिस्पर्धा गर्न भने किसानलाई कठिन भइरहेको छ । उत्पादन लागत नै ३० देखि ४० प्रतिशत महंगो पर्ने भएकाले भारतीय च्याउसँग प्रतिष्पर्धा गर्न कठिन भएको शर्माले जनाए । ‘जसले गर्दा फार्मको दैनिक १० टन उत्पादन क्षमता भए पनि अहिले ४ टन मात्रै उत्पादन गरिरहेको छौं’, उनले भने ।

भन्सार विभागको तथ्यांक अनुसार भारतबाट दैनिक आठदेखि दश टन च्याउ आयात हुन्छ । फार्मबाट उत्पादित च्याउको प्रतिकिलो मूल्य ३ सय रुपैयाँ पर्छ भने भारतीय च्याउ बजारमा १ सयदेखि २ सय रुपैयाँमै छ्यापछ्याप्ती पाइन्छ । स्वाद लिएका र गुणस्तरीयता बुझेकाले नेपाली च्याउ प्रयोग गरे पनि जानकारी नभएकाले भने भारतीय च्याउ नै प्रयोग गर्छन् । ‘यसले म जस्ता च्याउ उत्पादक किसान धेरै नै मर्कामा छौं’, उनले भने, ‘सरकारले यसमा विशेष ध्यान दिए हुन्थ्यो ।’

सामान्यतः प्याकिङ गरिएको च्याउको प्रयोग गर्न योग्य समय २४ घण्टा हुन्छ । तर, भारतीय च्याउ आयात गरेर नेपालीको भान्सासम्म पुग्दा नै तीन दिन लाग्छ । यसैले पनि सस्तो पर्न जान्छ । भारतीय च्याउको भन्सार विन्दुमा पनि प्रभावकारी विषादी जाँच छैन । जसले गर्दा विभिन्न रासायनिक पदार्थ मिसावट गरिएको भारतीय च्याउले हाम्रो स्वास्थ्यमा असर पुर्याइरहेको छ ।

‘नेपाली किसानलाई प्रोत्साहन गर्न पनि सरकारले भारतीय च्याउ आयात कडाई गर्नुपर्छ’, उनले भने, ‘अर्कातर्फ उपभोक्ताले सस्तो पाउने लोभमा विषादी प्रयोग गरिएको भारतीय च्याउ खान छाडेर थोरै महंगो तिरेर भए पनि नेपाली गुणस्तरीय च्याउ प्रयोग गर्ने बानी बसाल्नुपर्छ ।’ उनका अनुसार क्वारेन्टाइन र विषादी जाँचविनै भारतीय च्याउ नेपाल भित्रिने गरेको छ । एन्टी डम्पिङ्ग र काउन्टरवेलिङ्ग कानून कार्यान्वयनमा नल्याउँदा भारतबाट कम गुणस्तरयुक्त च्याउ भित्रिरहेको किसानहरुको दावी छ ।