अटेर जनप्रतिनिधिः बुझाएनन् खर्च विवरण


भैरहवा– स्थानीय तह निर्वाचनको अन्तिम नतिजा प्रकाशन भएको एक महिनाभित्र उम्मेदवारी दिनेले खर्च विवरण बुझाउनुपर्छ । उम्मेदवारी दिनेले निर्वाचन कार्यालयमार्फत निर्वाचन आयोगमा खर्च विवरण पठाउनु पर्ने प्रावधान छ । तर, पश्चिम नवलपरासीका धेरै निर्वाचित जनप्रतिनिधि र उम्मेदवार बनेहकाहरुले अझै खर्च विवरण बुझाएका छैनन् ।
पालिकाका जनप्रतिनिधिले निर्वाचन खर्च विवरण बुझाउन अटेर गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार चार पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले अझै खर्च विवरण बुझाएका छैनन् ।
कार्यालयका अनुसार तीन पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षले तोकिएको समयभन्दा ढिला गरी खर्च विवरण बुझाएका छन् । यसले जनप्रतिनिधिमा जवाफदेहीता नभएको प्रष्टिन्छ । जनप्रतिनिधि सामान्य आफ्नो उत्तरदायित्वप्रति पनि गम्भीर नभएको भन्दै आलोचना सुरु भएको छ ।
निर्वाचन खर्च विवरण बुझाउन अटेर गर्नेमा रामग्राम नगरपालिका प्रमुख धनपद यादव, उपप्रमुख सम्झना चौधरी, सुनवल नगरपालिकाका प्रमुख विमला अर्याल, उपप्रमुख सूर्यप्रसाद दुबे, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता, उपाध्यक्ष फातिमा अन्सारी खातुन छन् ।
यसैगरी सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरी र उपाध्यक्ष वासमती हरिजनले पनि खर्च विवरण नबुझाएको निर्वाचन कार्यालयले बताएको छ । सुस्ता र बर्दघाट नगरपालिकाका जनप्रतिनिधिले समयावधि सकिएपछि मात्र विवरण बुझाएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले ढिलो गरी खर्च विवरण बुझाएका जनप्रतिनिधिको विवरणको अर्थ नरहने जनाए । जनप्रतिनिधि नै जिम्मेवार नबन्दा सन्देश राम्रो नजाने उनको भनाई छ ।
जिल्लामा सबै स्थानीय तहको निर्वाचनको अन्तिम नतिजा जेठ ६ मा नै आएको थियो । जसअनुसार निर्वाचित जनप्रतिनिधिले असार ६ भित्र विवरण बुझाउनु पर्ने भए पनि १२ जनाबाहेक कसैले पनि समयमा खर्च विवरण नबुझाएको मोक्तानले जानकारी दिए । निर्वाचनमा २ हजार १ सय ९ जनाले उम्मेदवारी दिएका थिए ।








प्रतिकृया दिनुहोस्