उद्योगीको लापरबाहीले उखु किसान अनुदानबाट बञ्चित
भैरहवा– उद्योग सञ्चालकको लापरबाहीले पश्चिम नवलपरासीका उखु किसान अनुदानबाट बञ्चित भएका छन् । किसानले बिक्री गरेको उखुको विवरण सम्बन्धित निकायमा नबुझाउँदा उनीहरुले प्राप्त गर्ने अनुदान फिर्ता भएको छ । सरकारले प्रत्येक वर्ष उखु किसानका लागि प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराउँदै आएको छ ।
आर्थिक वर्ष ०७८–७९ का लागि कृषि मन्त्रालयले जिल्लाका लागि ६ करोड रुपैयाँ निकासा गरेको थियो । असार मसान्तसम्ममा उद्योगले खरिद गरेको उखुको परिणाम र किसानको विवरण कोष तथा लेखा नियन्त्रण कार्यालयमा पेस गरेनन् । जसले गर्दा अनुदान फिर्ता भएको हो ।
आफ्ना लागि आएको रकम फिर्ता भएपछि किसान निरास छन् । प्रत्येक वर्ष जिल्लामा उखु खेती घट्दैं छ । किसानलाई उखु खेतीमा आकर्षित गर्न सरकारले अनुदान व्यवस्था गरेको थियो । पश्चिम नवलपरासीमा इन्दिरा सुगर मिल, लुम्बिनी चिनी उद्योग र वाग्मती खाडसारी सुगर मिल छन् । जसमध्ये इन्दिरा सुगर मिल यस वर्ष सञ्चालन भएन । लुम्बिनी र वाग्मती चिनी उद्योगले उखु क्रसिङ गरे पनि किसानको विवरण बुझाएन् ।
जिल्लाको दक्षिणी भेग प्रतापपुर, सुस्ता, पाल्हीनन्दन र सरावल क्षेत्रका किसानले व्यावसायिक रुपमा उखु खेती गर्दै आएका छन् । किसानले आफूले अनुदान रकम नपाएको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालयमार्फत उद्योगीलाई विवरण पठाउन निर्देशन दिइएको र विवरण आएपछि सोही अनुसार कृषि मन्त्रालयमार्फत किसानलाई अनुदान रकम उपलब्ध गराउने प्रक्रिया सुरु हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । पश्चिम नवलपरासीका उखु किसानले चार वर्षदेखिको बक्यौता रकम पाएका छैनन् । जिल्लाको इन्दिरा सुगर मिल प्रतापपुरले ०७४ सालको १ करोडभन्दा बढी रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
प्रतिकृया दिनुहोस्