December 10, 2024, Tuesday
२०८१ मंसिर २५

संचालनमा आयो चिकित्सकीय सेवासहितको पशु हाटबजार

भैरहवा– रुपन्देहीको सियारी गाउँपालिका–२, च्याङ्गठामा चिकित्सकीय सेवासहितको पशु हाटबजार सञ्चालनमा आएको छ । विश्व बैँकको पाँच करोड ऋण अनुदानमा हाटबजार तयार भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले हाटबजारको उद्घाटन गरेसँगै सञ्चालनमा आएको छ ।

किसानलाई गाईभैँसीको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यका साथ नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले हाटबजार निर्माण गरेको आयोजना प्रमुख गान्धीराज उपाध्यायले बताए ।

Advertisement

हाटबजारमा पशु चिकित्सकको व्यवस्था गरिएको छ । जहाँ किसानले ल्याएका पशु चौपायाको निःशुल्क उपचार हुने गाउँपालिकाका पशु शाखा प्रमुख गणेश खनालले जानकारी दिए । अत्याधुनिक पशु हाटबजारमा निःशुल्क विशेषज्ञ चिकित्सकीय सेवा लिन पाइने भएपछि किसानहरु खुसी भएका छन् ।

हाटबजारमा पशु चौपाया बिक्री गर्दा उचित मूल्य पाइने र सहजरुपमा बिक्री गर्ने वातावरण तयार भएकोे किसानहरुको अनुभव छ । धेरै व्यपारीसँग मोलतोल गर्न सकिने भएकाले पनि किसानहरुले आफ्नो उचित मूल्य पाउने विश्वास गरेका हुन् । सियारीका किसान सचिनचन्द यादव भन्छन्, ‘अब हामीले सहज र सही मूल्य पाउँछौं भन्ने विश्वास बढेको छ ।’

हाटबजार सञ्चालनका लागि समिति गठन गरिएको छ । सियारी च्याङ्गठा पशु हाटबजार सञ्चालक समितिले साप्ताहिक हाटबजार अन्तर्गत हरेक आइतबार बजार सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बताए । हाटबजारमा पशुको स्वास्थ्य जाँच, तिनीहरुको खरिद बिक्री, दाना पानी खुवाउने व्यवस्था गरिएको छ ।

गाई–भैँसी बिक्री नभए केही दिनलाई होल्डिङ सेन्टरमा राख्न सकिन्छ । किसान तथा व्यापारीलाई खाजा, खाना र आराम गर्ने स्थल बनेको छ । पशु हाटबजारमा प्राविधिक र व्यवस्थापकीय सेवा गाउँपालिकाले गर्ने छ । उत्पादनशील गाईभैँसी र मासुका लागि पाडा, राँगा र भैँसी राख्ने व्यवस्था छ । हाटबजार सञ्चालनको व्यवस्थापनका लागि खरिदकर्ताबाट भने तीन सय रुपैयाँ लिने गाउँपालिकाले जनाएको छ ।

पशु हाटबजार दुई विघा क्षेत्रफलमा फैलिएको छ । यहाँबाट एक हजार पशु चौपाया खरिद बिक्री गर्न सकिन्छ । रुपन्देहीबाट मासुका लागि पाडा, राँगा र भैँसी काठमाडौँ, पोखरा र चितवनमा जान्छ भने उत्पादनशील गाईभैँसी विशेष गरि छिमेकी जिल्लामा लैजाने गरिएको छ ।