December 12, 2024, Thursday
२०८१ मंसिर २७

भैरहवामा मारबाडी साकाहारी भोजनालय सुरु

भैरहवा– शुद्ध र सफा साकाहारी खाना खुवाउने उद्देश्यले रुपन्देहीको भैरहवामा मारबाडी भोजनालय सुरु भएको छ । उक्त भोजनालयको आइतबार संघका पूर्व अध्यक्ष तथा बरिष्ठ उद्योगी नारायणप्रसाद अग्रवालले उद्घाटन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय नजिकै मारबाडी सेवा संघको भवनमा भोजनालय सुरु गरिएको हो । मारबाडी सेवा संघको भवनमा बास बस्नेदेखि बिबाह लगायत पारिवारिक कार्यक्रममा सहयोग पुर्याउने उद्दे्रश्यले सुरु गरिएको सञ्चालकले जनाएका छन् । यसको व्यवस्थापन मारबाडी सेवा संघले गरिरहेको संघका अध्यक्ष हेमन्त अग्रवालले जानकारी दिए ।

Advertisement

संघको नयाँ निर्मित भवनको भुँइ तलामा भोजनालय सञ्चालन गरिएको छ । संघका अध्यक्ष अग्रवालका अनुसार भोजनालयमा बिहान १० बजेसम्म खाजा, त्यसपछि ११ देखि तीन बजेसम्म खान र बेलुका ७ देखि ९ बजेसम्म साँझको खानाको व्यवस्था गरिएको छ । परोपकारको उद्देश्य समेत रहेकाले भोजनालयमा मुलुकको जुनसुकै स्थानबाट आएका व्यक्तिले सेवा लिन सक्ने अध्यक्ष अग्रवालले बताए ।

‘यस बाहेक समूह र व्यक्तिगत रुपमा खाना अर्डर गरेर अनुकुल समयमा आएर पनि खान सक्नुहुन्छ,’ उनले भने, ‘सेवाको उद्देश्य हो । त्यसैले सुपथ मूल्यमा खाना र खाजा उपलब्ध गराइरहेका छौं ।’ अध्यक्ष अग्रवालका अनुसार नयाँ निर्माण भएको भवनमा २० कोठा छन् । पूरानो भवनमा पनि २० कोठा छन् । दुईवटा भवनमा गरी ४० वटा कोठा तयार भएका छन् ।

कसैले पारिवारिक कार्यक्रमका लागि सबै कोठा बुक गर्न चाहेमा उपलब्ध गराउन थालिएको उनले बताए । अहिले सामान्य रहेका कोठालाई एक महिनाभित्रै वाताअनुकुलित (एसीयुक्त) बनाउन लागिएको उनले जानकारी दिएका छन् । ‘यसरी सबै कोठा र भवन परिसर बुक गर्दा पनि हामीले भोजनालय भने आफै व्यवस्थापन गर्नेछौं,’ उनले भने, ‘भोजनालयसँगै अर्को एउटा सामूहिक भान्छाघर पनि तयार गरेका छौं । त्यसले सर्वसाधरणलाई सहयोग पुग्ने विश्वास लिएका छौं ।’

संघका महासचिव अरुणकुमार अग्रवालले भोजनालयमा साकहारी खानासँगै नमकिन, भुजिया र शुद्ध घीउमा बनाइएका विभिन्न मिठाईका परिकार समेत उपलब्ध रहेको बताए । ‘हाम्रो खानामा कुनै किसिमको मिसावट हुँदैन,’ उनले भने, ‘सेवामा तलमाथि नहोस् भनेर मारबाडी सेवा संघले नै यसको व्यवस्थापन हेरिरहेको छ । हामी आफै आएर निगरानी गछौं ।’

मारबाडी सेवा संघले पहिलेबाटै अतिथि गृह सञ्चालन गर्दै आएको छ । उक्त गृहमा आउने पाहुनाले अव खानाका लागि बजारमा भौतारिनु पर्ने बाध्यताको अन्त्य भएको महासचिव अग्रवालले बताए । उनले विशुद्ध सेवाभावले भोजनालय संचलन गरिएकाले न्यूनतम दररेटमा खाना खुवाइने जनाए । मुलुकका सबैजसो सहरमा मारबाडी भोजनालय रहेको बताउँदै उनले भैरहवामा सेवा दिने उद्देश्यले खोलिएको बताए ।

संघका पूर्वअध्यक्ष नारायण अग्रवालले २०४८ सालमा केही मारबाडी समुदायका व्यक्ति मिलेर संघको भवन निर्माणका लागि जग्गा खरिद गरेको स्मरण गरे । ‘त्यो बेला हामीले गरेको परोपकारको कल्पना अहिले साकार हुन लागे जस्तो छ,’ उनले भने, ‘बीचमा आएका विभिन्न समस्याका वापजुद संघले अहिले आएर भोजनालय संचालन गरेको छ ।’ उनले संघ स्थापनादेखिबाटै भोजनालय संचालन गर्ने योजना रहेको बताए । गुणस्तरीय खानाका लागि मारबाडी भोजनालय धेरै राम्रो भएको र भविष्यमा पनि भइरहने विश्वास व्यक्त गरे ।

संघका अनुसार नयाँ भवन निर्माणमा अहिलेसम्म २ करोड ८० लाख रुपैयाँ खर्च भइसकेको छ । संघका अनुसार भवन निर्माणमा मारबाडी समुदाय बाहेक अरुको सहयोग लिइएको छैन । संघको बिधानमै भवन निर्माणमा आफ्नो समुदायबाट मात्र सहयोग लिने व्यवस्था भएकाले धेरै मनकारीले सघाउन चाहे पनि स्वीकार्न नसकिएको बरिष्ठ उद्योगी अग्रवालले बताए ।