रोपाइँ सकिने बेला पानीको आस, खेतमा धाँजा
भैरहवा– पहिले–पहिले जेठ, असारमा तराईका खेतबारी हरिया भइसक्थे । ढिलो भए असारभित्र रोपाइँ सकिन्थ्यो । सुक्खा र पहाडी क्षेत्रमा ढिलो रोपाइँ हुन्थ्यो । अहिले अन्न भण्डारका रुपमा रहेका तराईका जिल्लामा असार अन्तिमसम्म रोपाइँ आधा पनि भएको छैन ।
यहाँका खेतमा सिंचाईको व्यवस्था छैन । अधिकांश किसानले आकासे पानीको भरमा रोपाइँ गर्दै आएका छन् । असारभरि वर्षा नभएपछि यहाँका खेतबारी बाँझैं छन् । केही गरी रोपेका खेतमा धाँजा फाटेका छन् । रोपो पहेलिएको छ । यसले किसान निरास बनेका छन् । केही कहिले रोपाइँ पूरा गर्ने भनेर चिन्तामा छन् । कोही रोपेको धान हुर्किन्छ कि सुक्छ द्विविधामा देखिन्छन् ।
असार दोस्रो साता दुईदिन पानी परेपछि हर्षित बनेका किसान अहिले दुखित छन् । पानी परेपछि रोपाइँको सुरसार गरेका उनीहरुका खेत अहिले सुक्का बनेका छन् । ठूलो फाँट रहेको मर्चवार मरुभूमि जस्तो देखिन्छ । जिल्लाका अन्य भागमा अहिले बाँझो खेत मात्र देखिन्छन् । पम्पसेट र चापाकलको भरमा रोपाइँ गरेकाहरु उब्जनी नहुने चिन्तामा छन् । रुपन्देहीमा अन्य जिल्लाको तुलनामा धेरै रोपाइँ भएको छ । तर, आवश्यक परेका बेला पानी नपरेपछि रोपो सुक्ने खतरा छ ।
लुम्बिनी प्रदेशको रुपन्देहीमा मात्र यस्तो समस्या छैन । पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा यस्तै समस्या छ । शुक्रबार राति हल्का वर्षा भएको थियो । त्यसले निरन्तरता पाउन सकेन । खेत भिजे मात्रै । रोपाइँका लागि पानी पर्याप्त भएन ।
रूपन्देहीमा कुल ६४ हजार ८ सय १९ हेक्टर जमिनमा धान खेती हुन्छ । शुक्रबारसम्म जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको कृषि विकास निर्देशनालय लुम्बिनीकी अधिकृत सुनैना बरालीले बताइन् । जिल्लामा पहिलो लटको पानी पर्दा केही किसानले धान रोपेको र बाँकीले पछिल्लो पटक रोपेकाले त्यति धेरै रोप्न बाँकी नरहेको बताइन् ।
‘अहिले बरु खेतमा रोपो सुक्न थालेको छ,’ उनले भनिन्, रोपाइँ छिटो भयो, पानी परेन । यसले समस्या देखायो ।’ यहाँको दक्षिणी र उत्तरी भेगमा सिंचाइ सुविधा नहुँदा बिघौंबिघा जमिनमा रोपिएको धान घामले पंहेलिंदै गएको उनले बताइन् ।
लुम्बिनी प्रदेशमा हालसम्म ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय लुम्बिनीकी अधिकृत बराइलीले बताइन् । जसमध्ये रूपन्देही र नवलपरासीमा ९० प्रतिशत रोपाइँ भएको छ भने पहाडी जिल्लामा ७० देखि ८५ प्रतिशतसम्म रोपाइँ सम्पन्न भएको छ ।
प्रतिकृया दिनुहोस्